बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

'बजेट नदिने' विवादास्पद भाषण : मुख्यमन्त्री पाण्डे भन्छन् – गलत अर्थ लगाइयो !

बुधबार, २४ कात्तिक २०७८, २२ : ०५
बुधबार, २४ कात्तिक २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे कात्तिक १३ गते गृह जिल्ला धादिङ पुगे । कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेलाई पार्टी, संगठन तथा विभिन्न संघ संस्थाले गृह जिल्लामा सम्मान गर्ने कार्यक्रम थियो ।

चितवनमा आयोजित नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रदेशस्तरीय सम्मेलनमा सहभागी भएर धादिङ पुगेका मुख्यमन्त्री पाण्डे आफ्नै दल नेकपा एकीकृत समाजवादी पार्टीको कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो । सोही अनुसार मुख्यमन्त्री धादिङको निलकण्ठ नगरपालिका पुगे ।

निलकण्ठ नगरपालिका–३ धादिङ बेसीमा मुख्यमन्त्री पाण्डेलाई स्वागत गर्न कार्यकर्ताहरूको भिड थियो । नेकपा एकीकृत समाजवादी पार्टी धादिङको आयोजनामा होटल जिविकाको हलमा मुख्यमन्त्री पाण्डेलाई स्वागत एवम् सम्मान, अगुवा कार्यकर्ता भेलाका साथै जिल्ला कमिटीको बैठकसमेत राखिएको पार्टीका जिल्ला कमिटी सचिव सुवास खतिवडाले बताए ।

अपराह्न ४ बजे सो कार्यक्रममा पुगेका मुख्यमन्त्री पाण्डेलाई कार्यकर्ताहरूले फूलमाला र अबिर दलेर स्वागत गरे । सम्मान ग्रहण पश्चात मुख्यमन्त्री पाण्डेले कार्यक्रमलाई सम्बोधन गरे । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पार्टी संगठन निर्माणमा केन्द्रित हुन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

सोही क्रममा उनले पार्टीका हरेक तहका कमिटीले गरेका कामको जाँच हुने बताए । मुख्यमन्त्री पाण्डेले भने, ‘जुन वडामा वडा पार्टी कमिटी गठन हुँदैन, त्यो वडामा एक पैसा पनि बजेट आउँदैन मबाट । भन्देको छु ।’ उनले अगाडि भने, ‘कहीँकहीँ त मैले झाेंकमा पनि भन्ने गरेको छु, यो कुरा बाहिर लानु त हुँदैन, आम रुपमा भन्ने कुरा पनि हैन, झोंकमा भनेको है– पार्टीको वडा कमिटी गठन भएन भने काम छैन है !’

प्रदेशका विभिन्न मन्त्रालय आफ्नो हातमा रहेको भन्दै उनले अरुले दिँदा आफूहरुले पनि बजेट दिन सकिने भएकाले त्यसतर्फ सक्रिय रुपमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

जिल्ला कमिटी सचिव खतिवडाका अनुसार विकास निर्माणको काममा सरकारलाई सघाउने काम पार्टीको पनि हो, सोही अर्थमा मुख्यमन्त्री पाण्डेले कार्यकर्ताहरूलाई पार्टी संगठन बनाउन र विकास निर्माणका काममा सहभागी भएर निगरानी बढाउन निर्देशन दिने तवरले सो कुरा बताएका थिए ।

हरेक वडामा भएका विकास निर्माणका कामहरुको अनुगमन गर्ने, गुणस्तरको विषयमा रिपोर्टिङ्ग गर्ने, विकास आयोजनाको अवस्थाबारे जानकारी गराउने र जनप्रतिनिधिहरुको कार्यसम्पादनको अवस्थाबारे सरकारलाई जानकारी गराउनको लागि सक्रिय भूमिका खेल्न वडा कमिटीलाई निर्देशनात्मक रुपमा मुख्यमन्त्री पाण्डेले सो अभिव्यक्ति दिएको खतिवडाको भनाइ छ ।

सो कार्यक्रममा मुख्यमन्त्री पाण्डेले दिएको अभिव्यक्तिलाई टुक्रा पारेर सुन्दा गलत अर्थ लाग्ने भन्दै कार्यक्रमको पूरा अंश सुन्न पनि उनले सबैलाई आग्रह गरे ।

यता मुख्यमन्त्री पाण्डेको सो अभिव्यक्तिप्रति बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ । एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले सोमबार बसेको प्रदेशसभामा बोल्दै मुख्यमन्त्रीको सो भनाइले आम नागरिकको मौलिक हकको समेत हनन् भएको आरोप लगाए ।

उनले प्रश्न गरे, ‘कुनै अमुक पार्टीको वडा कमिटी गठन नभएकोमा जनता विकासबाट बञ्चित हुनुपर्ने ? मौलिक हकबाट बञ्चित हुनुपर्ने ?’

विकास निर्माणको काम समयमै नसके योजना दिन्नँ भनेको हो : मुख्यमन्त्री पाण्डे 

मुख्यमन्त्री पाण्डेले पार्टीको कमिटी नभएको ठाउँमा बजेट नै दिन्न भन्नुको गलत अर्थ लगाइएको बताए । उनले सरकारले पठाएका योजनाहरुमा स्थानीय सहभागिता बढाउन र छिटो सक्न सहयोग गर्न कार्यकर्तालाई आफूले आह्वान गरेको बताए ।

सबै स्थानीय तहका वडामा आफ्नो कार्यकालमा ठुला अपूरा हुने योजनाहरु नपठाउने भन्दै साना योजना पनि समयमा सम्पन्न गर्न नसक्नेलाई किन योजना चाहियो भनेर आफूले भन्न खोजेको तर आफ्नो कुरालाई बङ्ग्याएर प्रस्तुत गरिएको उनको भनाइ छ ।

आफ्नै सरकारले पठाएको बजेटको सदुपयोग गर्न नसक्ने वडा कमिटीहरु काम नलाग्ने भन्दै सक्रिय रुपमा वडा कमिटीले विकास निर्माणको काममा सहभागी हुनुपर्ने र सोही अनुसार सरकारले बजेट दिने भन्न खोजिएको उनले प्रष्ट पारे । आफ्नो सरकारको सफलताका लागि आफ्नो पार्टी र संगठन परिचालन गर्न खोजेको कुराको केही भागमात्र बाहिर ल्याएर विवाद सुरु गर्न खोजेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप