आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको अध्यक्षमा जित्न समस्या छैन : राजेन्द्र लिङदेन

‘जित्नकै लागि उम्मेदवारी दिएको हुँ, जित्छु’
बिहीबार, ०९ मङ्सिर २०७८, ११ : ०८
बिहीबार, ०९ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।

उम्मेदवारी घोषणाका लागि पत्रकार सम्मेलनमा उपस्थित भएका नेता लिङ्देनले आफू जित्नकै लागि अध्यक्षको उम्मेदवार बनेको बताए । तपाईले अध्यक्षमा कमल थापालाई जित्नुहोला त ? भन्ने रातोपाटीको प्रश्नमा लिङ्देनले ढुक्क हुँदै भने, ‘जितिन्छ जितिन्छ । जित्नलाई समस्या छैन । खासगरी कुन मोडलबाट जाने भन्ने मात्रै हो । भैगो नि त भनेर शीर्ष नेताहरुले नै भन्ने अवस्था आउँछ कि ? राप्रपाका कार्यकर्ताहरु त उहाँ (कमल थापा) बाट थाकिसके नि । जित्नमा मलाई कुनै समस्या छैन ।’

राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको लिङ्देनले बताए । ‘मलाई लाग्छ, यो हाम्रो अभियानले नेपालको राजनीतिलाई नै एउटा दिशा दिन्छ । सबै राजनीतिक पार्टीहरुले पुस्तान्तरणको कुरा चाहिँ गर्ने, नेतृत्व असफल भयो चाहिँ भन्ने तर त्यहाँ रहेका नयाँ पुस्ता, युवा हुँ भन्नेहरुले कसैले आँट नगर्ने र नेताहरुको चाकडीमै चित्त बुझाउने गरिरहेका छन्,’ लिङ्देनले भने, ‘ नयाँ पुस्ता भनिएकाहरुबाट पुरानो फेलियर नेतृत्वलाई नै निरन्तरता दिने जुन काम भइरहेको छ, त्यसलाई भत्काउने एउटा सिलसिलाको प्रारम्भ हो यो ।’

नेपालगञ्जमा मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर जबराको साथ पाएर लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि जबरा पनि अध्यक्षमा लड्ने चर्चा थियो । तर, उनले लिङदेनलाई साथ दिने भएपछि अब कमल थापालाई राप्रपाको अध्यक्षमा निरन्तरता भारी पर्ने देखिएको छ ।

तीनजना अध्यक्ष रहेको राप्रपामा अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई साथ दिन्छन् या लिङदेनलाई भन्ने खुलिसकेको छैन । तर, अधिकांश युवा कार्यकर्ताको साथ झापाका सांसदसमेत रहेका लिङदेनलाई रहने दाबी युवा नेता रविन चाम्लिङको छ ।  राप्रपाको केन्द्रीय सदस्य रहेकी नायिका रेखा थापाले पनि लिङदेनलाई नै साथ दिने भएकी छिन् ।  राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाडौंमा हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप