एमाले महाधिवेशनले नारायणी किनारका व्यवसायीमा उत्साह (फोटो/ भिडियो )
एमालेको १० औं महाधिवेशनले चितवनको नारायणी किनारका साना तथा मझौला व्यवसायीमा उत्साह छाएको छ । एमाले महाधिवेशनका कारण नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति र चहलपहल बढेसँगै व्यापार व्यवसाय समेत फस्टाएकाले उनीहरु उत्साहित बनेका हुन् ।
एमालेले मंसिर १० गते मध्याह्न १२ बजे नारायणी नदी किनारमा पार्टीको १० औं महाधिवेशन उद्घाटन गर्दैछ । नदी किनारमा महाधिवेशनका लागि बनाइएको मुख्य मञ्च नजिकै दर्जनौं साना तथा मझौला व्यवसायीहरु वर्षौंदेखि व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका छन् ।यसरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले अन्य समयमा दैनिक १५ सयदेखि तीन हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका भए पनि महाधिवेशनको रौनक बढेसँगै व्यापार व्यवसाय बढेको बताएका छन् ।
‘व्यापार राम्रो भएको छ । चहलपहल बढेको छ । खुशी लागेको छ,’ नारायणी किनारमा साढे २ वर्षदेखि चटपटे, पानीपुरी लगायतका खानेकुराको व्यापार गर्दै आएकी संगिता गुरुङ भन्छिन् ।तर नारायणी किनारमा व्यवसाय गर्नेहरुले मंसिर १० गते भने व्यापार बन्द गर्नुपर्नेछ । एक दिन व्यापार बन्द गर्नुपर्दा उनीहरुलाई कुनै चित्त दुखाई छैन ।
‘एकदिन बन्द गर्नु भनिएको छ, त्यसमा हामीलाई कुनै गुनासो छैन । एकदिन बन्द गर भनेपछि गर्नै प¥यो, फेरि पर्सिबाट यहीँ व्यापार गर्छौं,’ व्यवसायी गुरुङले भनिन् । सोही ठाउँमा व्यापार गरेर दैनिक २/३ हजार रुपैयाँ आम्दानी गर्दै आएकी उनी एमाले महाधिवेशनको चहलपहलका कारण अहिले दैनिक ४÷५ हजार रुपैयाँसम्म व्यापार हुन थालेको बताउँछिन् ।
त्यस्तै, भारत घर भएका अर्का व्यवसायी अखिलेश कुमारले पनि नारायणी किनारमा व्यवसाय गरेको ३ वर्ष भएको छ । एमाले महाधिवेशनले नारायणी नदी किनारमा चहलपहल बढेपछि उनी पनि खुशी छन् । रातोपाटीसँग अखिलेशले भने, ‘मानिसको उपस्थिति राम्रो छ । पहिलेको भन्दा बढी मानिस आएका छन् । व्यापारमा पनि वृद्धि भएको छ ।’
पहिले दैनिक १५ सयदेखि २ हजार रुपैयाँसम्मको व्यापार हुने गरेको र हाल एमाले महाधिवेशनका कारण ३५ सय रुपैयाँसम्म व्यापार हुने गरेको अखिलेशको भनाइ छ ।
‘मानिसहरुको चहलपहल राम्रो छ । व्यापार पनि बढेको छ । मासिक ४० देखि ५० हजारसम्म आम्दानी हुन्छ । एमाले महाधिवेशनका कारण एकदिन व्यापार बन्द गर्नुपर्ने भए पनि कुनै दुःख छैन । एकदिन हामीले पनि घुम्न र रमाइलो हेर्न पाउछौं,’ अखिलेशको भनाइ छ ।
विगत ६ वर्षदेखि नारायणी नदी किनारमा मःम, चाउमिन बेच्दै आएका सुक बहादुरले अहिले महाधिवेशनका कारण चहलपहल बढेको र व्यापार पनि फस्टाएको बताए । सो ठाउँमा व्यापार गरेबापत उनीहरुले स्थानीय समिति मार्फत् भरतपुर महानगरपालिकालाई मासिक ३ हजार रुपैयाँ बुझाउने गरेको बताउँछन् ।
नारायणी नदी किनारमा घुमफिर गर्न आएकाहरु पनि त्यस क्षेत्रमा उपलब्ध हुने खानाका परिकार खाएर सन्तुष्ट देखिन्थे । उनीहरुले भने, ‘यहाँको खाना, खाजा राम्रो, मिठो र सफा पनि छ ।’ उनीहरुले चितवनमा एमालेको महाधिवेशन हुँदै गर्दा आफूहरु पनि उत्साहित भएको बताए । एमाले महाधिवेशनले चितवनको प्रचार प्रसार बढ्नुको साथै पर्यटन प्रवर्द्धनमासमेत सहयोग पुग्ने उनीहरुको भनाइ छ ।
‘देशले शान्ति र विकास चाहेको छ । एमालेले आफ्नो विधान अनुसार महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेर देशलाई निकास दिनुपर्छ,’ नारायणी नदी किनारमा भेटिएका भरतपुर, मिलन चोक निवासी एक दम्पतीको सुझाव छ । तस्बिर/ भिडियो : सुवास श्रेष्ठ/रातोपाटी
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण