'ए ठेकेदार साप, पुल बनाउनु पर्दैन ?'

स्याङ्जाको आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल सात वर्षदेखि अलपत्र परेको छ । आँधीखोला गाउँपालिका सेतीदोभानस्थित खोलामा निर्माण थालिएको मोटरेबल पुल अहिलेसम्म सम्पन्न हुन सकेको छैन ।
२ करोड ८९ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण व्यवसायी कान्छाराम–आशेष जेभी कास्कीले पुल निर्माणको ठेक्का लिएको थियो । आँधीखोला गाउँपालिकाको ५ र ६ नम्बर वडा जोड्ने पुल निर्माणका लागि ठेक्का पारेका मुल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) ले अर्को ठेकेदार ऋषिराम गौतमलाई निर्माणको जिम्मा लगाएका थिए ।
आँधीखोलामा २०७३ साल असोजभित्र पुल निर्माण सम्पन्न गर्न २०७१ असोजमा ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुल ४० मिटर लम्बाई र सात मिटर चौडाई बनाउने गरी ठेक्का सम्झौता भएको थियो । पुल निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गत १४ असारमा सकिएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि ठेकेदार अहिले फेरि चैतसम्म म्याद थप्ने योजनामा छन् ।
दुई वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल राजनीतिक आडमा ठेकेदारहरुले अलपत्र पारेका हुन् । पुल निर्माणको जिम्मा पाएका दुवै ठेकेदार दुई ठुला पार्टी काँग्रेस र एमालेका नेता हुन् ।
ठेकेदार पूर्णबहादुर लामा (कान्छाराम) काँग्रेस र ऋषिराम एमाले निकट हुन् । कान्छाराम गत प्रतिनिधिसभा निर्वाचिनमा रामेछाप क्षेत्र नम्बर २ बाट पराजित भएका थिए । उनी नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा रामेछापको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । ऋषिराम भने एमालेको कास्की जिल्ला कमिटी सदस्य हुन् ।
उनीहरुले राजनीतिक आडमा लामो समयसम्म पुल निर्माणको काम अलपत्र पारेको स्थानीयवासीको आरोप छ । सडक डिभिजन कार्यालय र ठेकेदारलाई निर्माणको काम अगाडि बढाउन पटकपटक आग्रह गर्दासमेत बेवास्ता गरेको स्थानीयवासीको भनाइ छ ।
आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले मोटरेबल पुल निर्माणको काम अगाडि बढेपछि डिजाइन परिवर्तन गर्ने बहानामा लामो समयदेखि अलपत्र पारिएको बताए । उनले सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीचको असमझदारीले केही समय काम रोकिए पनि दुई पक्षको सहमतिपछि पनि पुल निर्माणको काम अगाडि नबढेको बताए ।
‘पुलको डिजाइन परिवर्तन भएको बहनामा लामो समय ठेकेदार कम्पनीले काम रोक्यो, निर्माणको काम रोकिँदासमेत सडक डिभिजनले चासो दिएन,’ उनले भने, ‘धेरै दबाबपछि दुवै पक्षबीच समझदारी बन्यो, तर पछि ठेकेदार कम्पनीले बदमासी ग¥यो, वर्षौंसम्म निर्माणको काम रोकेर बेपत्ता भयो ।’
अध्यक्ष पौडेलले पुल निर्माणका लागि पटकपटक सडक डिभिजन कार्यालय पुगेर आग्रह गर्दासमेत बेवास्ता गरेको बताए । उनले पुल निर्माणमा ढिलाइ हुनुमा सडक डिभिजन कार्यालय नै मुख्य जिम्मेवार रहेको बताए । पौडेलले भने, ‘ठेक्कापट्टा गरेर डिजाइन परिवर्तनका नाममा काम अल्झाउने र ठेकेदार कम्पनीलाई काम गराउन नसक्नु सडक डिभिजन कार्यालयकै कमजोरी हो ।’
मुल ठेकेदार लामा र सहायक ठेकेदार गौतमले पुल अलपत्र पारेर हराइरहेको भन्दै अहिले स्थानीयले ब्यानरमा फोटोसहित सूचना जारी गरेपछि ठेकेदार सम्पर्कमा आएको अध्यक्ष पौडेलको भनाइ छ ।
‘स्थानीयवासी आन्दोलित भएपछि ठेकेदार सम्पर्कमा आएको भन्ने सुनेको छु,’ उनले भने, ‘ठेकेदार सम्पर्कमा आएकाले अब काम अगाडि बढ्ला, तर मसँग भने ठेकेदारको सम्पर्क भएको छैन ।’
सामाजिक सञ्चालमार्फत ठेकेदारको खोजी
सात वर्षदेखि पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि ठेकेदारद्वयको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर स्थानीयवासीले विरोध गरेका छन् । युथ अफ आँधीखोलाका युवाले ठेकेदार हराएको सूचना भन्दै खोजीका लागि सबैसँग अपिल जारी गरेका छन् ।
मूल ठेकेदार पूर्णबहादुर तामाङ (कान्छाराम) र सहायक ठेकेदार ऋषिराम गौतमको फोटोसहित ‘ठेकेदार हराएको सूचना’ भन्दै उनीहरुले सूचना जारी गरेका हुन् ।
पटकपटक ध्यानाकर्षण गराउँदा समेत पुल निर्माणमा चासो नदेखाएकाले बाध्य भएर सामाजिक सञ्जालको प्रयोग गर्नुपरेको युथ अफ आँधीखोलाका अध्यक्ष हरि ढकाल बताउँछन् ।
उनीहरुले ‘ए ठेकेदार सा’प, पुल बनाउनुपर्दैन ?’ भन्दै कतै देखिए वा भेटिए ‘युथ अफ आँधीखोला’मा सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
पुल अलपत्र पारेर जनताको विकास निर्माणलाई अलपत्र पार्ने ठेकेदारलाई कारबाही हुनुपर्ने र जनतालाई क्षतिपूर्ति दिनुपर्ने अध्यक्ष ढाकालले बताए ।
स्थानीयले २०७६ सालमा सडक डिभिजन कार्यालय पोखरामा धर्ना पनि दिएका थिए ।
पुल बनाउन मुख्यमन्त्री गुहार्दै
नेपाली काँग्रेस आँधीखोला गाउँपालिका कार्यसमितिले आँधीखोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र पारिएको बारे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई जानकारी गराएको छ ।
गाउँपालिकाका सभापति नरेन्द्र पौडेल सहितको टोलीले मुख्यमन्त्री पोखरेललाई भेटेर ७ वर्ष पहिले पुल निर्माणको थालेर ठेकेदार बेपत्ता भएको भन्दै तत्कालै पुल निर्माणको काम अगाडि बढाउन ध्यानाकर्षण गराएको हो ।
दुई वर्षभित्र निर्माण गर्ने योजनासहित थालिएको मोटरेबल पुल सात वर्ष बितिसक्दा समेत निर्माणमा चासो नदेखाएकाले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको सभापति पौडेलले बताए ।
लामो समयसम्म पुल निर्माण नहुँदा आँधीखोला ५ र ६ का बासिन्दाका साथै छिमेकी गाउँका बासिन्दालाई समेत कठिनाई भएको उनले बताए । दुई वर्षमा निर्माण सम्पन्न गर्ने योजना सहित अगाडि बढाइएको पुलको ५० प्रतिशतमात्र काम पूरा भएको अध्यक्ष पौडेलको भनाइ छ ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन संविधानसभा सदस्य एवं स्याङ्जा काँग्रेसका नवनिर्वाचित सभापति राजु थापा, महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेलसहित सरोकारवालाहरुको टोली गएको थियो ।
टोलीसँगको भेटमा मुख्यमन्त्रीले सम्बन्धित ठेकेदारबाट तत्काल काम अगाडि नबढाइए कानुन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्ने आश्वासन दिएका छन् ।
दुई महिनामा काम सक्ने ठेकेदारको दाबी
मोटरेबल पुल निर्माणको काम सुरु भएको ठेकेदार ऋषिराज गौतमले बताए । उनले गत वर्ष लामो समयसम्म निषेधाज्ञाले कामदार नपाएको र बिचमा बर्खा समयका कारण काममा ढिलाई भएको दाबी गरे ।
उनले भने, ‘अब बर्खायाम सकिएकाले कामदारको ब्यवस्था मिलाएर आइबतार (हिजो) देखि काम सुरु भएको छ ।’
ठकेदार गौतमले सोमबार रातोपाटीसँग कुरा गर्दै अब दुई महिनाभित्र सेतीदोभानमा पुल निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए ।
उनले भने, ‘हिजोदेखि काम गर्ने कामदारहरु पाएको छु, कामलाई तीव्ररुपमा अगाडि बढाउन आज मेसिन जाँदैछ । पुलको दायाँबायाँ स्ल्याप हाल्ने, माटो भर्ने काम सुरु भएको छ ।’
गौतमका अनुसार सडक डिभिजनले पहिले डिजाइन परिवर्तन भएको भन्दै काम रोकेपछि तीन वर्ष काम रोकिएको बताए । ‘सुरुमा सडक डिभिजनले डिजाइन परिवर्तन भएको बताएपछि तीन वर्ष काम रोकियो,’ उनले भने, ‘तीन वर्षपछि फेरि पुरानै डिजाइनमा काम गर्न लगायो ।’
उनले चार वर्षदेखि कामको भुक्तानी नभएकाले निर्माणको काम रोकिएको बताए । ‘काम गरेपछि पैसा दिन्छौँ भन्छन् । तर, काम गरिसकेर बिल बुझाउँदा पनि भुक्तानी गर्दैनन्,’ उनले भने, ‘अब, जे जसो भए पनि फटाफट २ महिनामा काम सकेर बुझाउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा
-
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्याइरहेका छन् : मुख्यमन्त्री सिंह
-
बकर इदको अवसरमा मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी (तस्बिरहरू)
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड