आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा ‘ओमिक्रोन’बाट एक व्यक्तिको मृत्यु

सोमबार, २७ मङ्सिर २०७८, २० : ५८
सोमबार, २७ मङ्सिर २०७८

लन्डन । बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले वेस्ट लन्डनस्थित एक खोप केन्द्र निरीक्षणका क्रममा उक्त कुराको पुष्टि गरेका हुन् । अस्पताल भर्ना हुनेको सङ्ख्या पनि वृद्धि हुने भएको र दुई डोज खोप पर्याप्त नहुने भएकाले समयमा नै बुस्टर डोज लगाउनुको विकल्प नभएको उनले बताए । नयाँ भेरिएन्टविरुद्ध आपत्कालीन युद्ध लड्नुपर्ने र यसबारेमा सबैलाई समयमा नै सजग हुन उनले आग्रह गरेका छन् ।

ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपछि बेलायतमा बुस्टर डोजलाई युद्ध स्तरमा अघि बढाइने भएको  छ । यसै हप्ताबाट १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिन सुरु गरिनेछ । आइतबार एकैदिन एक हजार ८९८ नयाँ सङ्क्रमित थपिएसँगै बेलायतमा ओमिक्रोन सङ्क्रमित सङ्ख्या तीन हजार १३७ पुगेको छ ।

सोमबार मात्र ओमिक्रोनका दश जना सङ्क्रमित अस्पताल भर्ना भएको स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका थिए । ओमिक्रोन सङ्क्रमण बढेपछि बुस्टर डोजलाई प्राथमिकता दिन लागिएको हुँदा अस्पतालमा गरिएका थुप्रै एपोइन्टमेन्टहरु प्रभावित हुने भएका छन् । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको मापन दर पनि चौथो स्तरमा निर्धारण गरिएको छ । यसको अर्थ उच्च सङ्क्रमण अर्थात् बढ्दो स्तर हो । गत वर्षको मे महिनामा पनि चौथी स्तर घोषणा गरिएको थियो ।

पछिल्लो समय फैलिएको उक्त नयाँ भेरिएन्ट अहिले विश्वका विभिन्न मुलुकमा फैलिएको छ । आउँदो जनवरीमा बेलायतमा अर्को वेभ आउने  भन्दै सन् २०२२ को अप्रिलसम्म २५ हजार देखि ७५ हजार सम्मको ज्यान जान सक्ने वैज्ञानिकहरूले चेतावनी दिइसकेका छन् ।

सङ्क्रमण दर नियन्त्रण गर्ने क्रममा सरकारले कोभिड सम्बन्धी नयाँ नियम लागू गरेको छ । सार्वजनिक यातायातलगायत विभिन्न इन्डोर सार्वजनिक स्थानमा मास्कको प्रयोग गर्नुपर्ने नियम यसअघि नै लागू गरिएको छ भने आजबाट सम्भव भएसम्म घरबाटै काम गर्न भनिएको छ । तर, सरकारले यसअघिको जस्तो ‘फर्लो’ स्किम भने कार्यान्वयन नहुने स्पष्ट पारेको छ । प्रतिबन्धसम्बन्धी विभिन्न खालका नियम लागू भए पनि व्यापार व्यवसाय बन्द नगरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप