आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिन झन्डै ९० हजार सङ्क्रमित

शुक्रबार, ०२ पुस २०७८, ०६ : ४७
शुक्रबार, ०२ पुस २०७८

लन्डन । बेलायतमा पछिल्लो दुई दिनयता दैनिक कोरोना सङ्क्रमितको सङ्ख्याले नयाँ रेकर्ड कायम गर्दै ९० हजारको हाराहरिमा पुगेको छ । एक साताभित्र सङ्क्रमण दर ७४ प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् । बुधबार दैनिक सङ्क्रमण  ७८ हजार भन्दा बढी रहेकोमा आज बिहीबार सङ्क्रमित सङ्ख्या बढेर ८८ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ८८ हजार ३७६ सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या महामारीयताकै  उच्च हो । यसअघि गत जनवरीमा लकडाउन जारी रहँदा सबैभन्दा उच्च सङ्क्रमित सङ्ख्या ६८ हजार पुगेको थियो । योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दश लाख ९७ हजार ८५१ पुगेको छ। बेलायतमा एक सातामा चार लाख ४२ हजार भन्दा बढी सङ्क्रमित थापिएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

क्रिसमसको समय नजिकिँदै गर्दा कोरोना सङ्क्रमण दर तीव्र रूपमा बढेपछि यस पटक पनि जनमानसमा क्रिसमसमा लकडाउन हुन्छ भन्ने त्रास बढेको छ । तर, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने लकडाउन हुने सम्भावना न्यून रहेको बताउँदै आएका छन् ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४६ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४६ हजार ९३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४९ सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ५ सय ७९ छ । यस्तै ८८६ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा सङ्क्रमण दर तीव्र रूपमा बढेको भन्दै बेलायतबाट जाने यात्रुहरुको लागि कडा नियम लागू गर्ने जनाएको छ । शनिबारबाट लागू हुने गरी उक्त नयाँ नियम लागू गरिने भएको छ। कोरोना सङ्क्रमणको नयाँ भेरिएन्ट ‘ओमीक्रोन’ का कारण बेलायतमा हालसम्म दश हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन् । स्वास्थ्यमन्त्री साजिद जाविदले ओमिक्रोनको दैनिक सङ्क्रमण सङ्ख्या दुई लाखसम्म पुग्ने बताएका छन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ३७ लाख १९ हजार ६२३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ६० हजार ९८७ जना अर्थात् ८९.३ प्रतिशतले खोपको पहिलो र ४ करोड ६८ लाख ८१ हजार २९१ जना अर्थात् ८१.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ५४ लाख ७७ हजार ३४५ अर्थात् ४४.३ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप