आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा भयावह बन्दै कोरोना, एकै दिन ९३ हजार बढी सङ्क्रमित

शनिबार, ०३ पुस २०७८, ०६ : ४६
शनिबार, ०३ पुस २०७८

लन्डन । बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या  निरन्तर उकालो लाग्दै गएको छ । विगत तीन दिनयता दैनिक सङ्क्रमित सङ्ख्याले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ । पछिल्लो २४ घण्टामा मात्र ९३ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।

यसअघि कोरोना सङ्क्रमणको तेस्रो लहरमा सबैभन्दा बढी ६८ हजार सङ्क्रमित रहेका थिए भने बुधबार ७८ हजार ६१० र बिहीबार ८८ हजार ३७६ सङ्क्रमित थपिएका थिए । यसरी दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित थपिन थालेपछि बेलायतमा उच्च सतर्कता अपनाउन लागिएको छ ।

बेलायतमा हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ११ लाख ९० हजार ३५४ पुगेको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा झन्डै १५ हजार सङ्क्रमित भइसकेका छन् । बितेको २४ घण्टामा मात्र तीन हजार २०१ जनामा ओमिक्रोनको पुष्टि भएको छ ।  अघिल्लो साताको तुलनामा यो साता सङ्क्रमण दर ६० प्रतिशतले वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १११ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ४७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९००  सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ११  छ । यस्तै ८७५ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

सङ्क्रमण दर बढेसँगै अस्पतालहरूमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । यसअघिको पिक समयमा  दैनिक अस्पताल भर्ना हुनेको  सङ्ख्या चार हजार ५८३ पुगेको थियो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १२ करोड ४६ लाख ५६ हजार १०३ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड १३ लाख ९३ हजार ६६४ जना अर्थात् ८९.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ६९ लाख २३ हजार ७८८ जना अर्थात् ८१.६ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ । यसै गरी २ करोड ६३ लाख ३८ हजार ६५१ अर्थात् ४५.८ प्रतिशतले बुस्टर डोज लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप