शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको आजको बैठक प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्ने

बुधबार, ०७ पुस २०७८, १५ : ०३
बुधबार, ०७ पुस २०७८

बागमती प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गर्ने भएको छ । संसदीय दलको आज बसेको बैठकले संघीयतालाई नै धरापमा पार्नेगरी भईरहेको प्रदेश सरकारको रबैयाका विरुद्ध संसदमा आवाज उठाउने र संसदीय मर्यादाका आधारमा संसदमा प्रस्तुत हुने निर्णय गरेकोे संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए । 

आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्वका योजनाहरुको कटौती, एक बार्दली एक मन्त्रालयको अभियान जस्तो देखिनेगरी गरिएको मन्त्रालयको भागबण्डा र राज्यको स्रोतको चरम दुरुपयोगका विरुद्ध प्रदेशको सबैभन्दा ठूलो र जिम्मेवार दलको हैसियतले खबरदारी हुने प्रमुख सचेतक निरौलाले बताए ।
 
यसैबीच बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले अहिले बागमती प्रदेश सरकारले संघीयताको धज्जी उडाएको बताइन् । संसदीय दलको आजको बैठकलाई सम्बोधन गर्दै शाक्यले प्रदेश सरकारको रबैयाका कारण संघीयतामाथि प्रहार हुने अवस्था आएको उनले बताइन् । 

सरकारले राज्य स्रोतको दुरुपयोग आफ्नो दलको सशक्तीकरणमा गराएको आरोप लगाइन । बार्दली पिच्छे मन्त्रालय राखेर प्रदेश सरकारका मन्त्रीलाई “बार्दलीमन्त्री” मा रुपान्तरण गरेको उनको आरोप थियो । 

उनले अरबौं रुपैया राज्यलाई भार हुने गरी सरकार अगाडि बढेको र जनताका पक्षमा केही पनि काम नगरेको बताइन। 

शाक्यले मुख्यमन्त्री राजेन्द्र पाण्डेले एक समारोहमा राख्नुभएको आफ्नो दलको संगठन विस्तार गर्ने स्थानमा मात्रै बजेट हाल्ने कुरा आपत्तिजनक रहेको बताइन् । उनले प्रदेश सरकारका कारण व्यवस्थामाथि नै प्रश्न उठेको उल्लेख गरिन् ।

प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नवगठित प्रदेश सरकारले प्रदेशवासी हौं भन्न पनि लाज हुने गरी प्रदेशको बदनाम गरेको बताए । दलको बैठकलाई सम्बोधन गर्दै पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता स्वार्थको निमित्त जनतामाथि आघात पुर्याउने गरी ७ वटा मन्त्रालयलाई १४ वटामा वृद्धि गरेको बताए ।

पौडेलले सरकारको मुख्यमन्त्री स्वयंले सार्वजनिक समारोहमा आफ्नो पार्टीको संगठन विस्तार नभएको स्थानमा सरकारले बजेट विनियोजन नगर्ने बताउनु अत्यन्तै घिनलाग्दो कार्य भएको उल्लेख गरे । त्यस्तै एमालेले यो विषयमा ऐक्यबद्धता जनाउन प्रतिपक्ष दलहरूसँग छलफल गरेको छ ।

छलफलपछि सबै दलहरुले एक ठाउँ उभिएर जाने धारणा व्यक्त गरेको एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले बताए । ‘मिलेसम्म हामी सामूहिक एजेन्डा बनाएर जान्छौ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप