सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला र नन्कुन्नी हत्याकाण्डमा राज्यकै मिलेमतोको आशंका : बाबुराम भट्टराई

सोमबार, १२ पुस २०७८, १५ : ५९
सोमबार, १२ पुस २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन् ।

सोमवार निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै मंसिर ९ गतेदेखि माइतीघर मण्डलामा जारी अनिश्चितकालीन धर्ना र रिले अनशनमा बसेकाहरुलाई भेट्दै अध्यक्ष भट्टराईले घटना शंकास्पद भएको टिप्पणी गरे । उनले आजसम्म घटनाको न्यायपूर्ण छानविन नहुनु र सत्यतथ्य बाहिर नआउनुले घटनामा राज्यकै मिलेमतो भएको शंका उब्जिएको बताए । 

सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने उनले बताए । राज्य अपराधीको पक्षमा उभिनु र जनतालाई शान्ति सुरक्षा नदिनु गम्भिर गल्ती भएको भन्दै उनले अपराधीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्ने बताए ।

उनले भने– ‘सरकार जसले शान्ति सुरक्षा कायम गर्ने, न्याय दिलाउने जिम्मेवारी राज्यको हो । त्यसले अहिलेसम्म करिब १२ वर्ष भइसकेको बुझिन्छ यो घटना यतिबेलासम्म । यो घटनाको न्यायपूर्ण छानविन भएर सत्यतथ्य बाहिर नआउनु, अपराधीलाई कारबाही नगर्नुको पछाडि राज्यकै मिलेमतोमा यो भइरहेको छ कि अथवा जो अपराधीहरु छन्, तिनीहरुले राज्यको आड पाएका छन् कि भन्ने शंका लाग्छ । अपराधीलाई कारबाही गर्नुपर्यो । ठुलै पहुँचवाला मान्छेहरु छन्,  तिनीहरुको विरुद्धमा जनमत सिर्जना गर्नुपर्छ र राज्यले यसरी अपराधीको पक्षमा उभिनु र जनतालाई सुरक्षा नदिनु गम्भिर गल्ती हुन्छ ।’

विधवा महिला निर्मला कुर्मीको हत्या तथा ननकुन्नी धोबीको हत्या प्रकरणमा छानविन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न र निर्मला कुर्मीको घटनाको छिटोभन्दा छिटो सुरुदेखि नै अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै बाँकेदेखि आएर पीडित परिवार र महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा धर्ना गरिरहेका छन् ।

महिला अधिकारकर्मी रुबी खानले आफुहरु महिनौदेखि न्यायका लागि धर्ना बसेको भएपनि सरकार आफुहरुको मागमा संवेदनशील नभएको बताइन् । उनले महिलालाई न्याय दिने सम्बन्धमा सरकार उदासिन रहेको बताइन् । धर्नारत महिला अधिकारकर्मीहरुले माग पुरा गर्न सरकार गम्भिर हुनुपर्ने बताएका छन् । माग पुरा नहुञ्जेल धर्नाको कार्यक्रम जारी रहने उनीहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप