कारोबार प्रमाणित भए ५ वर्ष जेल जान सक्छन् लाउरे
लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका र्‍यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्‍यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो ।
बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्‍यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । र्‍यापर लाउरे संलग्न रहेको उक्त लागू औषध प्रकरणमा करिब १५ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको बताइएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार र्‍यापर लाउरेको प्रत्यक्ष संलग्नतामा ब्राउन सुगरको डिलिङ र किनबेच भएको पाइएको छ । प्रहरीले प्रयोगकर्ता र डिलरको चेन खोज्दै जाने क्रममा युवतीसँगै रहेका र्‍यापर लाउरे पक्राउ परेका हुन् । उनी पनि कारोबारमा संलग्न रहेको प्रहरीको दाबी छ ।
बिहीबार तमु ल्होसारको बिदा परेको कारण शुक्रबार लाउरेको म्याद थपेर थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
लागू औषध नियन्त्रण ऐन २०३३ को संशोधन २०७२ को दफा १४ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । उक्त ऐनको दफा १४ को उपदफा १ (छ) मा अफिम, कोका वा सोबाट बनेको लागू औषधको कारोबार गर्नेलाई मात्रा हेरी सजाय गर्ने व्यवस्था छ । दफा १४ को उपदफा १(छ) को बुँदा १ मा २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
तर यदि र्‍यापर लाउरेले कारोबार गरेको पुष्टि नभएको तर सेवन गरेको पुष्टि भएको अवस्थामा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्नेछ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर पनि जान सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको पक्षमा मन्त्रिपरिषद्को निर्णय, उद्योगीले डेडिकेटेड र ट्रङ्कलाइनको रकम तिर्न पर्ने
-
नेपाली फुटबल टोलीको बिदाइ, तस्बिरहरू
-
मन्त्री श्रेष्ठको भिडियो सन्देश– विश्वकपलाई उत्सवका रूपमा मनाऔँ
-
जापानले लन्च गर्यो स्वाद बढाउने चम्चा
-
शहीदनगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
-
पूर्वसहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर