मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा यस्तो छ तयारी

मङ्गलबार, २७ पुस २०७८, १५ : १२
मङ्गलबार, २७ पुस २०७८

 कोरोना संक्रमण बढेसँगै प्रदेश १ सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता बढाएको छ । पछिल्लो समय सीमा नाकामा कडाई गर्नेदेखि अस्पताल व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो । विशेष गरी विराटनगरमा केही दिन यता संक्रमितको संख्यामा वृद्धि देखिएको छ । योसँगै स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा स्थानीय प्रशासनले पनि कडाई गर्ने भएको छ ।

स्थानीय प्रशासनले माघ १ देखि लागू हुने गरी सार्वजनिक स्थलमा निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने र मास्क नलगाई हिँडेको खण्डमा एक सय रुपैयाँ जरिवाना तिराउने व्यवस्था गरेको छ । त्यसैगरी सीमा नाकामा आउजाउ गर्न खोप कार्डलाई अनिवार्य गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालका अनुसार कोरोना संक्रमण दर बिस्तारै उकालो लागेसँगै यसले निम्त्याउने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ लागू गर्ने तयारी भइरहेको छ ।

उनले आगामी माघ १ देखि भारतबाट आउनेका लागि खोप कार्ड अनिवार्य गरिएको बताए । ‘धेरै नेपाली किनमेलका लागि सीमापार बजार  जोगवनी पुग्ने गरेका छन्,’ उनले भने, ‘त्यसरी जोगवनी जाने कार्यलाई निरुत्साहित गर्न अनिवार्य खोपकार्ड देखाउनुपर्ने निर्णय गरेका छौं ।’ उनले  भारतबाट नेपाल आउने सबैको एन्टिजेन परीक्षण गरिने पनि बताए ।

त्यसैगरी सम्भावित जोखिम नियन्त्रणका लागि पहिलो र दोस्रो लहरका बेला सञ्चालन गरेका आइसोलेसन कक्षलाई पनि तयारी अवस्थामा राखिने उनले बताए ।

एक हजार बेड तयारी अवस्थामा

प्रदेश सरकारले कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालहरू तयारी अवस्थामा राख्न पहल गरेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले संक्रमित बढेसँगै अस्पताल भर्ना हुने बिरामीको उपचारका  लागि यथोचित प्रबन्ध मिलाउन सरकार आवश्यक तयारीमा जुटेको बताए ।

उनले हाल संक्रमित बिरामीको उपचारका लागि प्रदेशस्थित ३१ वटा अस्पतालमा १ हजार १३६ वटा बेड तयारी अवस्थामा राखिएको दाबी गरे । ती अस्पतालमा ११७ वटा भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, सामान्य बेड ३५९ र आइसोलेसन २५१ बेड तयारी अवस्थामा रहेको उनले जनाए ।

कोराना संक्रमितको उपचारका क्रममा विगतको जस्तो अक्सिजन अभावको समस्या नहुने गरी आवश्यक व्यवस्थापन मिलाइएको मन्त्री यादवले बताए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची प्रादेशिक अस्पताल, कोशी कोभिड १९ उपचार केन्द्र, कोशी अस्पतालका अतिरिक्त निजी अस्पतालहरू नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, बीएण्डसी अस्पताल बिर्तामोड, न्यूरो अस्पताल विराटनगर लगायतका ठूला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ ।

यी बाहेक पहाडी क्षेत्रका ६ वटा जिल्ला अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिएको छ । संक्रमण दर बढ्दै गएपछि विराटनगरको कोशी कोभिड अस्पतालको बेड संख्या पनि वृद्धि गरिएको छ । चालु अवस्थामा रहेको ९६ बेडको अस्पताललाई थप ७६ बेड तयारी अवस्थामा राखेको अस्पतालका प्रमुख बैजनाथ साहले बताए ।

आवश्यक परेको खण्डमा नेशनल ट्रेडिङको भवनमा पनि ८० बेड राख्न सकिने उनको भनाइ छ । अस्पतालमा हाल पाँच जना संक्रमितको उपचार भइरहेको साहले बताए ।

खोपमा प्राथमिकता

प्रदेश १ सरकारले यही पुस मसान्तभित्र कुल जनसंख्याको ६० प्रतिशत नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउने तयारी गरेको छ । जस अनुसार अहिले १४ वटा जिल्लामा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत भ्याक्सिन पठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारका अनुसार अहिलेसम्म प्रदेशका लक्षित बर्ग करिव आधा संख्याले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रदेश १ को कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ छ । जसमा खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८ सय ६६ छ ।

प्रदेश सरकारले लक्षित जनसंख्याको ६० प्रतिशतलाई यही पुस मसान्तभित्र कोरोना विरुद्धको भ्याक्सिन लगाउने तयारीका साथ सबै जिल्लामा भ्याक्सिन पठाइसकेको सामाजिक विकास मन्त्रालय, अस्पताल विकास महाशाखाकी कम्युनिटी फिजिसियन डा. संगीता राईले जानकारी दिइन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका कुल लक्षित वर्गका १५ लाख ९२ हजार ७ सय जनाले पूर्ण खोप लगाएका छन् । यो लक्षित वर्गको ३१ दशमलव ७ प्रतिशत हो । यो प्रतिशत बढाएर अबको चार दिनभित्र ६० प्रतिशत अर्थात् थप २ लाख जनसंख्यालाई पूर्ण मात्राको खोप दिने सरकारको तयारी छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा ३०७ जना सक्रिय संक्रमित छन् । सोमबार प्रदेशभर ५३० जनाको पीसीआर परीक्षण गर्दा ८५ जनाको पोजेटिभ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनाको पोजेटिभ नतिजा आएको छ । सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १ का सक्रिय संक्रमितमध्ये १४ जना विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका छन् भने बाँकी २९३ जना होम आइसोलेशनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप