बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'वैशाखमा स्थानीय तहको चुनाव हुँदैन, तीनै तहको चुनाव एकै पटक गर्न ठाउँमा पुग्यौं'

शुक्रबार, ०७ माघ २०७८, २० : ४१
शुक्रबार, ०७ माघ २०७८

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले सत्ता गठबन्धनमा तीन तहको चुनाव एकै पटक गर्ने सहमति भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै उनले वैशाखमा स्थानीय तहको चुनाव समेत नहुने बताए । 

आजको बैठकमा सहभागी तुलाधरले भने, 'आज धेरै राम्रो छलफल भयो । अब हामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्ने ठाउँमा गयौं । अब बैशाखमा स्थानीय तहको चुनाव नहुने पक्का भयो ।' तीनै तहको चुनाव कहिले गर्ने भन्ने विषयमा कानुनविद्सँग छलफल गरिने उनले बताए । तीन तहको चुनाव २०७९ को मंसिर गर्ने कि फागुनमा भनेर संविधान र कानुनविद्सँग सल्लाह गरेर निर्णयमा पुग्ने सहमति भएको छ ।'

स्थानीय तहको पदावधिबारे मनोगत ब्याख्या भएको भन्दै कानुनविद्सँग छलफल गरेर जाने विषयमा गठबन्धनभित्र सहमति भएको तुलाधरले बताए । स्थानीय तहका सरकारको पदावधि कहिले मान्ने भन्नेमा तर्क वितर्क भइरहेको छ । उनले भने, 'वैशाख ३१ , जेष्ठ १४ र असोज २  गते कुन हो भन्ने विषयमा असोज २ गते हुन सक्छ भन्ने अधिकांशको मत रह्यो । असोज २ गतेबाट मात्र ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने कुरा गनिन्छ ।'​

​दुई महिना अगाडि चुनाव गर्नुपर्ने भन्ने व्यवस्थालाई संशोधन गर्ने सहमति भएको तुलाधरको दाबी छ । 'यसमा हामी सबै एक ठाउँमा पुग्यो । त्यो भन्दा पनि अर्ली इन्जेक्सनको चर्चा चलेको थियो । अब त्यो विषय सकिएको छ,' उनले भने , 'हिजो प्रचण्ड र माधव कमरेडले राखेको प्रस्तावमाथि केही मान्छेले कुतर्क गरेका थिए । अब असोज २ गतेमात्र स्थानीय तहको पदावधि सकिन्छ भन्ने छ ।' 

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनको भावना भन्दा दायाँ बायाँ जाने बताएको तुलाधरले बताए । उनले भने, 'उहाँले समयमै चुनाव गर्नुपर्छ भनेर सुरु देखिनै तर्क राख्नु भएको छ । समय भनेको संविधान, कानुनले जे भन्छ त्यही हो । त्यो अर्थमा उहाँले तीनै तहको चुनाव एकै पटक गर्न सकिन्छ वा चरण चरणमा गर्न सकिन्छ भन्नेबारे संविधान र कानुनविद्सँग सल्लाह गर्ने कुरा गर्नुभयो । साथै उहाँले यस विषयमा सम्पादक पत्रकारसँग पनि कुराकानी गर्नुपर्छ भन्नुभयो । त्यही निर्णय भयो । प्रधानमन्त्रीको भनाइमा सबै नेताहरुले समर्थन जनाउनु भएको छ ।'​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप