जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
लन्डन । सन् २०२६ विश्वकपको उद्घाटन खेलमा गोल गरेको भोलिपल्ट जुलियन किन्योनेसको नाम केवल मेक्सिकोमा मात्र गुञ्जिरहेको थिएन, कोलम्बियामा पनि उनको चर्चा व्यापक रूपमा भइरहेको थियो ।
एस्टाडियो आज्टेकामा दक्षिण अफ्रिकाविरुद्ध गोल गर्दै किन्योनेस अर्को देशका लागि विश्वकपमा गोल गर्ने कोलम्बियामा जन्मिएका पहिलो खेलाडी बने ।
उनले त्यो उपलब्धि मेक्सिकोका लागि हासिल गरे । मेक्सिको त्यही देश थियो, जसले उनलाई व्यावसायिक फुटबलमा पहिलो पाइला चाल्दै गर्दा अपनाएको थियो । यही देशले नै उनलाई करिअर, घर, परिवार, मञ्च र अन्ततः राष्ट्रिय टोलीको जर्सीसमेत दिएको थियो ।
किन्योनेसको जन्म कोलम्बियाको मागुई पायानमा भए पनि उनी मेक्सिकोमा आएपछि मात्र फुटबलर बने । नारिन्योका हिलाम्मे बाटो, सडक र साना मैदानहरू पार गर्दै उनी कालीस्थित फुटबल पाज एकेडेमीसम्म पुगे र त्यसपछि एउटा यस्तो फुटबलप्रमी मुलुकमा प्रवेश गरे, जसले उनलाई केवल अनुबन्धनपत्र दिएन, स्वर्णिम भविष्य पनि दियो ।
नाङ्गो खुट्टाले फुटबल खेल्ने बालक
विश्वकपको त्यो पहिलो गोलभन्दा अघि आज्टेकाको गुञ्जनभन्दा पहिला र हरियो जर्सी लगाउनुभन्दा अघि मागुई पायानमा नाङ्गो खुट्टाले फुटबल खेल्ने एउटा बालक थिए ।
किन्योनेस आफ्ना आमाबाबुको अनुमतिबिना खेल्न निस्कन्थे, यति धेरै समय मैदानमा बिताउँथे कि कहिलेकाहीँ खाना खान घरसमेत फर्कँदैनथे । उनको सर्ट च्यातिँदा पनि उनी खेलिरहन्थे र उनकी आमाले फेरि त्यसलाई सिउँथिन् ।
मागुई पायान कुनै व्यवस्थित फुटबल एकेडेमी थिएन । त्यहाँ फुटबल जुनुन थियो, उम्कने ठाउँ थियो र बाँच्ने माध्यम थियो । किन्योनेसको लागि फुटबल केवल मनोरञ्जनको साधन थिएन, बरु त्यो उनलाई आफू वरपरका सीमाभन्दा बाहिर लैजान सक्ने विशेष क्षमता भएको संकेत दिने सूचक पनि थियो ।
फुटबल पाजमा उनका प्रशिक्षकमध्ये एक सेसर भ्यालेन्सियाका अनुसार नाङ्गो खुट्टाले खेलिएका ती खेलहरूले केवल खेलप्रतिको प्रेम दिएन, उनको शरीरलाई पनि फरक ढंगले विकास गर्यो । उनको ‘खुट्टाको बल, बल प्रहार गर्ने शैली, सन्तुलित र शक्तिशाली चाल’ सबै कुराको सम्बन्ध ती प्रारम्भिक परिस्थितिसँग जोडिएको कुरामा भ्यालेन्सिया विश्वास गर्छन् ।

फुटबल पाजमा किन्योनेसलाई केवल प्रतिभाशाली बालकका रूपमा सम्झिँदैनन् । उनी अथक मेहनती खेलाडीका रूपमा चिनिन्थे र टोलीका साथीहरूले उनलाई ‘पान्थेरा’ (चितुवा) उपनाम दिएका थिए । तर भ्यालेन्सियाका अनुसार त्यो उपनाम पनि पर्याप्त थिएन । उनका लागि किन्योनेस सिंहजस्ता थिए, किनकि उनी गोलतर्फ आक्रमणसँग अघि बढ्ने शैली नै त्यस्तो थियो ।
‘असम्भवलाई सम्भव बनाउने क्षमता’
मेक्सिकोमा भएको स्थानान्तरणले किन्योनेसको जीवन नै बदलिदियो । उनी सन् २०१६ मा टिग्रेसमा आबद्ध भए, तर उनको यात्रा कहिल्यै सरल भने थिएन । उनले तुरुन्तै सफलता पाएनन्, तर मेक्सिकोले उनलाई त्यो दियो जुन कोलम्बियाले कहिल्यै दिएन । अर्थात्, मेक्सिकोले उनलाई समय, अवसर र विश्वास दियो ।
दक्षिण अफ्रिकामाथि मेक्सिकोको २–० को जितको भोलिपल्ट एलए एफएमसँग कुरा गर्दै उनका काका जेफरसन किन्योनेसले भने, ‘जुलियनले सधैँ आफूलाई असम्भवलाई सम्भव बनाउने व्यक्ति साबित गरेका छन् । आज उनी आफ्नो ठुलो सपना बाँचिरहेका छन्, जुन उनको पहिलो विश्वकप खेल्नु हो ।’
किन्योनेस मेक्सिकन समर्थकहरूको अपेक्षा राखेको पहिलो विदेशबाट आउने पहिलो प्राकृतिक फरवार्ड होइनन् । यस शताब्दीमा गिलेर्मो फ्रान्को र रोजेलियो फुनेस मोरीले पनि अर्जेन्टिनाबाट आएर मेक्सिकोको जर्सी लगाएका छन् । तर तीमध्ये कसैले पनि विश्वकपमा मेक्सिकोका लागि गोल गर्न सकेनन् । किन्योनेसलाई भने त्यसका लागि केवल नौ मिनेट लाग्यो ।
पवित्र भूमि
संयोगवश कोलम्बियाको विश्वकप प्रशिक्षण केन्द्र ग्वाडालाहारास्थित एकेडेमिया एटलास एफसीमा छ । किन्योनेसका लागि त्यो स्थान पवित्र भूमि हो । ग्वाडालाहारा त्यही सहर हो, जहाँ उनले २०२१ मा टिग्रेस छाडेपछि एटलासका लागि एउटा राजाजस्तै प्रतिष्ठा कमाए । त्यहीँ उनले ७० वर्षसम्म लिग उपाधि जित्न नसकेको क्लबलाई सन् २०२१ एपेर्तुरामा उपाधि दिलाए । त्यसको केही महिनापछि एटलासले फेरि अर्को चमत्कार गर्यो । उसले लगातार दोस्रो उपाधि जित्यो । सात दशकसम्म प्रतीक्षा गरेको टोलीले छोटो अवधिमै दुई तारा थप्यो ।
त्यो रूपान्तरणको केन्द्रमा किन्योनेस थिए । सन् २०२२ क्लाउसुरा फाइनलमा पाचुकाविरुद्धको पहिलो लेगमा उनले एस्टाडियो हालिस्कोमा गोल गर्दै एटलासलाई २–० को अग्रता दिलाए र लगातार दोस्रो उपाधितर्फ धकेले । त्यो क्षणले उनलाई महत्त्वपूर्ण खेलाडीबाट क्लबको अमर पात्र बनायो ।
त्यसैले बिहीबार मेक्सिकोले दक्षिण कोरियासँग खेल्दा उनको ग्वाडालाहारा आगमन खास विशेष हुनेछ । किन्योनेस अब केवल एटलासका पूर्वफरवार्ड होइनन्; उनी मेक्सिको राष्ट्रिय टोलीका विश्वकप नायक हुन् । उनी आज आफ्ना उत्कृष्ट फुटबल सम्झनाहरू बोकेको सहरमा फर्किँदैछन् ।
उनले एटलास समर्थकहरूलाई त्यस्तो उपलब्धि दिए, जुन धेरैले केवल पुराना पुस्ताबाट सुनेका थिए । उनले उनीहरूलाई उपाधि दिए र त्यस्ता रातहरू दिए जहाँ असम्भव भन्ने शब्द धेरै परको कुरा होजस्तो लाग्न छाड्यो । अहिले उनी मेक्सिकोका लागि पनि त्यही सिद्ध गर्ने प्रयासमा छन् ।

साउदी सुपरस्टार
किन्योनेसले लिगा एमएक्समा गहिरो छाप छोडे । टिग्रेस, लोबोस बीयूएपी, एटलास र अमेरिका क्लबका लागि खेल्दा उनले २०६ लिग खेलमा ७५ गोल र २० असिस्ट गरे । यदि सबै प्रतियोगिताको हिसाब जोड्ने हो भने मेक्सिकन शीर्ष डिभिजन क्लबहरूका लागि उनले ८८ गोल गरेका छन् ।
अझ महत्त्वपूर्ण कुरा, ती गोलसँग उपाधिहरू पनि जोडिएका थिए । उनले टिग्रेसका लागि जिते । एटलाससँग लगातार दुईपटक जितेर ‘बिकाम्पेओन’ बने । अमेरिका (क्लब)सँग पनि दोहोरो सफलता पाए । सन् २०२४ को समरमा अल–काद्सियाहमा जाँदासम्म उनी केवल विस्फोटक क्षमता भएका फरवार्ड थिएनन्, उनी विजेता बनिसकेका थिए । यसले उनले फाइनलको भावनात्मक दबाबसँग जुध्न सिकिसकेका थिए ।
त्यसपछि आयो साउदी अरेबिया र त्यससँगै अर्को प्रकारको मान्यता । किन्योनेस १ करोड ६० लाख अमेरिकी डलर बराबरको सम्झौतामा अल–कादिसयाह पुगे । यसले उनलाई लिगा एमएक्स इतिहासकै सबैभन्दा महँगो खेलाडी बनायो । उनले पहिलो सिजनमै सबै प्रतियोगितामा २५ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे, तर त्यो त सुरुवात मात्र थियो ।
सन् २०२५–२६ मा किन्योनेस ३१ खेलमा ३३ गोल गर्दै साउदी प्रो लिगका सर्वाधिक गोलकर्ता बने । सिजनको अन्तिम दिन अल–इत्तिहादविरुद्ध ह्याट्रिक गरेपछि उनले इभान टोनी र क्रिस्टियानो रोनाल्डो दुवैलाई पछि पार्दै शीर्ष स्कोररको उपाधि जिते । उनले किङ्स कपमा थप चार गोल पनि गरे ।
हुगो सान्चेजको समययता मेक्सिकन राष्ट्रिय टोलीसँग विश्वकपमा यति उत्कृष्ट गोल गर्ने लयमा पुगेको फरवार्ड थिएन । साउदी प्रो लिग ला लिगा होइन र किन्योनेस हुगो सान्चेज पनि होइनन् । तर बलले लगातार जाली चुमिरहेको तथ्यको महत्त्व भने दुवैको उस्तै छ ।
अवसरलाई आत्मसात् गर्दै
एस्टाडियो आज्टेकालाई आफ्नो घरआँगनजस्तो महसुस गराउने खेलाडीहरू दुर्लभ हुन्छन् । यो रंगशालाले खेलाडीलाई स्वीकार गर्नुभन्दा पहिले उनीहरूलाई दबाबमा पार्ने गर्छ । उचाइ, आवाज, इतिहास र अपेक्षा—सबैले दबाब सिर्जना गर्छन् ।
तर दक्षिण अफ्रिकाविरुद्ध किन्योनेस पहिलो सिटी बजेदेखि नै सहज देखिए । उनले बल छोएको हरेक पटक केही न केही सिर्जना गरे । उनी सीधै बलमा जान्थे तर कत्ति पनि हतार नगरिकन, उनी आक्रामक थिए तर संयमित पनि । उनले विशाल अवसर (स्टेज)को महत्त्व बुझ्ने तर त्यसमा आफूलाई कत्ति पनि सानो नबनाउने परिपक्क खेलाडीझैँ खेले ।
अनि ठुलो अवसर आएपछि उनले मेक्सिकोका फरवार्डहरूले वर्षौँदेखि गर्नुपर्ने काम गरे । अर्थात् गोल गरे ।
त्यो गोलले प्रतियोगिताको भावनात्मक वातावरण नै बदलिदियो । मेक्सिको लामो समयदेखि राहतको क्षण खोजिरहेको थियो र किन्योनेसले त्यो प्रदान गरे । अब घरेलु भूमिमा गहिरो यात्रा गर्ने मेक्सिकोको आशा उनको यही प्रदर्शन कायम राख्न सक्ने क्षमतामा निर्भर छ ।

सपनालाई सार्थक बनाउँदै
किन्योनेसको कथाको जटिलता के हो भने यसलाई केवल अस्वीकार वा सुविधाको कथामा सीमित गर्न सकिँदैन । उनी जन्मले कोलम्बियाली हुन् र युवास्तरमा कोलम्बियाको प्रतिनिधित्व पनि गरेका थिए । मागुई पायानमा रहेका उनका आफन्त र समुदाय अझै पनि उनको कथाको हिस्सा हुन् र उनले तिनलाई कहिल्यै बिर्सेका छैनन् ।
तर उनले मेक्सिकोबारे आफ्नो भावना पनि स्पष्ट पारेका छन् । किन्योनेस भन्छन्, ‘मेरो कथा नजान्ने मानिसहरूले सधैँ तपाईंको आलोचना गर्नेछन् । तर त्यसले वास्तवमा फरक पार्दैन । महत्त्वपूर्ण कुरा, मैले के महसुस गर्छु भन्ने हो र म मेक्सिकोप्रति धेरै प्रेम गर्छु ।’
उनकी आमा ग्लोरियाले पनि त्यो भावना बुझ्छिन् ।
‘उसलाई त्यहाँ छाड्नुपर्दा मलाई पीडा भएको थियो,’ उनी भन्छिन्, ‘तर मलाई थाहा थियो त्यो उसको सपनाका लागि थियो । आफ्नो भूमिमा कोही पनि भविष्यवक्ता हुँदैन । जब तपाईंसँग पूरा गर्नुपर्ने सपना हुन्छ, त्यसका लागि जहाँ जानुपर्ने हो त्यहीँ जानुपर्छ र त्यहीँ गएर मात्र त्यसलाई साकार पार्न सकिन्छ ।’
अब त्यो सपनासँग विश्वकप गोल पनि जोडिएको छ । दुई देशले उनलाई हेरिरहेका छन् । उनीसँग कोलम्बियाली आमा छिन्, मेक्सिकन जर्सी छ, साउदी गोल्डेन बुट छ र एउटा यस्तो रंगशाला छ, जुन उनको व्यक्तिगत यात्राको नक्साको हिस्सा भइसकेको छ ।
सायद किन्योनेसको उत्कृष्ट संस्करण अझै यही विश्वकपमा देखिन बाँकी छ ।
गोल डटकमबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण