बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’

पालिका र वडाले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेपछि हात झिके
बुधबार, ०३ असार २०८३, १८ : ५०
बुधबार, ०३ असार २०८३

काठमाडौँ । सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक प्रायोजन प्राप्त गर्न आफूले ठुलो सङ्घर्ष र अवरोधको सामना गर्नुपरेको भन्दै गुनासो गरेकी छन्। 

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि सरकारी निकायसहित विभिन्न साझेदार संस्थाहरूबाट पर्याप्त सहयोग नपाएको पीडा व्यक्त गरेकी हुन्। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण कायमै रहेको उल्लेख गर्दै उनले आफू ट्रान्स समुदायको भएकै कारण धेरै ठाउँबाट सहयोग पाउन नसकेको स्पष्ट पारिन्।

विभिन्न कार्यक्रम तथा फेसन सोहरू विगतमा आफ्नै व्यक्तिगत लगानीमा सञ्चालन गर्दै आएको भए पनि सगरमाथा आरोहण जस्तो अन्तर्राष्ट्रिय महत्त्वको ठुलो अभियानका लागि भने राज्य र बजारबाट सहयोग प्राप्त हुने उनको ठुलो अपेक्षा थियो। 

तर विभिन्न पालिका तथा वडा कार्यालयहरूले सुरुमा छलफलका लागि बोलाए पनि पछि उनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भएको थाहा पाएपछि सहयोग गर्नबाट पछि हट्ने गरेको तीतो अनुभव उनले सुनाइन्। समाजको सङ्कुचित सोचप्रति लक्षित गर्दै उनले भनिन्, ‘हिमाल आरोहणको लागि स्पोन्सर गरिरहेका ब्राण्ड र कम्पनीहरूले मेरो प्रस्तावलाई सिधै अस्वीकार गरिदिनुभयो । हामी ट्रान्सहरुलाई सधैँ नराम्रो नजरले किन हेर्ने ? हामी पनि राम्रो काम गर्न सक्छौँ तपाईँहरू साथ दिनुस् न । मैले आफैँले आफ्नै पैसामा धेरै इभेन्टहरू गरेर आएको छु । मलाई कसैले पनि साथ दिएको छैन । मैले आफ्नै पैसा लगानी गरेर फेसन सोको आयोजना समेत गर्ने गरेको छु । त्यहाँ सहयोग मिलेन । सगरमाथा आरोहण गर्न जाँदा त सहयोग मिल्छ भन्ने आस थियो त्यो पनि भएन । अहिले हाम्रो कम्युनिटीको धेरै जना टुरिस्ट गाइड हुनुहुन्छ । हामीले नेपालको पर्यटन प्रवर्द्धनको लागि समेत सहयोग गरिरहेका छौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरिरहेको योगदानलाई कदर गर्दै राज्यले नेपाल देश एलजिपिटीआई फ्रेण्ड्ली छ र हामी पनि सबै काम गर्न सक्छौँ भनेर भनिदिनुभयो भने राम्रो हुन्छ ।’

पेसाले व्यावसायिक मेकअप कलाकार रहेकी निलम पौडेलले गत मध्य जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी थिइन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू पर्यटन क्षेत्रमा टुरिस्ट गाइडका रूपमा सक्रिय रहँदै नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उनले बताइन्। 

राज्यले यस समुदायको योगदानको उच्च सम्मान गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमै ‘एलजीबीटीआई–मैत्री राष्ट्र’ का रूपमा नागरिक र विश्वसामु सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिइन्। आफूले सङ्घर्षका बाबजुद प्राप्त गरेको यो सगरमाथाको सफलता समग्र सीमान्तकृत समुदायको अधिकार र पहिचानका लागि एउटा ठुलो जित भएको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप