बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनाको तथ्यांकबारे टिकाटिप्पणी भएपछि विभागले भन्यो–जवाफ दिएर साध्य छैन

बिहीबार, १३ माघ २०७८, १६ : ४५
बिहीबार, १३ माघ २०७८

तथ्यांक विभागले तथ्यांक संकलन सही र तथ्यपरक भएको दावी गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजामाथि विभिन्न टिकाटिप्पणी भइरहेको बेला विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्यांक सही र तथ्यपरक भएको बताएका हुन् । तथ्यांकबारे वास्तविकता भन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने काम भएको उनको भनाइ छ । ‘यो विषयमा जवाफ दिएर साध्य छैन । मलाई व्यक्तिगत रुपमा पनि मेरो गणना भएन भनेर धेरैले भन्नु भएको छ । तर बुझ्दा परिवारबाट भएको पाइएको छ’, उनले बिहीबार रातोपाटीसँग भने, ‘नबुझिकन भनेर टिकाटिप्पणी गरिदिँदा समस्या भएको छ ।’ उनले ठूलो स्केलमा देशभरको जनगणना गरिएकाले केही संख्या भने छुट्न सक्ने स्वीकार गरे । तर, बाहिर भइरहेको टीकाटिप्पणीमा चाहिँ सत्यता नरहेको उनको भनाइ छ । 

उनले विदेशमा कार्यरतहरुको हकमा भारतसहित विश्वभरकै देशमा गएका नेपालीहरुको संख्या भएको स्पष्ट गरे । ‘विदेशमा गएका सबैको तथ्यांक हो । यसमा भारतपनि पर्छ’, उनले भने, ‘रोजगारी सिलसिला र पढ्न गएकाहरुको विवरण हो । स्थायी प्रकृतिले पीआर लिएर परिवारसहित विदेशमा बस्नेको भने गणना भएको छैन ।’ 

 गणनाका क्रममा ‘अनुपस्थित विदेश’ भनेर सोधिएको प्रश्नमा आएका जवाफ नै विदेशिनेको तथ्यांक भएको विभागको भनाइ छ । लामिछानेले जनगणनामा विदेशबाट फर्किने पुरुषको संख्या धेरै देखिएको पनि बताए । तथ्यांकमा कुनै अस्पष्टता नरहेको दाबी गर्दै उनले श्रम मन्त्रालयले तथ्यांकमा पनि विदेशिनेको संख्या १२–१२ लाख भन्दा बढी नरहेको बताए । श्रम मन्त्रालयले पनि आफूहरुको डाटा स्वीकार गरेको स्पष्ट गरे । 

उनले अबको २–३ महिनाभित्रै छुटेकाहरूको हकमा गणनापछिको सर्भेक्षण गरिने बताए । कति प्रतिशत गणना छुट्यो भनेर त्यसमा देखिने उनले उल्लेख गरे । जनसंख्याको सिद्धान्तअनुसार कति प्रतिशत ‘इरर’ आयो त्यसलाई समटिने उनको भनाइ छ । विदेशका कतिपय मुलुकमा छुटेका जनसंख्यालाई ‘एडजस्ट’ गर्ने चलन रहेको उल्लेख गर्दै उनले नेपालमा भने त्यस्तो नरहेको बताए । ‘यति प्रतिशत अन्डर काउन्ट भयो यति प्रतिशत ओभर काउन्ट भयो भनेर हामी निकाल्छौँ’, उनले भने, ‘२–३ महिनाभित्र हामी सर्भे गरिसक्र्छौँ ।’

विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप