आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनमा पाँच दलीय गठबन्धन नै हुन्छ : रामनारायण बिडारी

आइतबार, १६ माघ २०७८, १७ : १९
आइतबार, १६ माघ २०७८

नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आगामी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने स्पष्ट पारेका छन् । उनले सरकारले संविधानअनुसार निर्वाचन हुने पनि विश्वास दिलाएका छन् ।

आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै  उनले भने, ‘अहिले दलको विकास गर्ने एजेण्डा छैन । जनताको हित गर्ने एजेण्डा छैन । कार्यकर्तालाई उफार्नका लागि एउटा न एउटा काम गर्ने काम भैरहेको छ । संविधान र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन बाझिएको छ । स्थानीय तहको निर्वाचनको सवालमा कार्यकाल सकिनुभन्दा २ महिना अगावै निर्वाचन गर्नुपर्छ भनेको छ ऐनमा । यो त बाझिएको हो । मनोनितको लागि समय लाग्ने कुराले ६ महिना भनेको होइन । नियुक्तिको काम त १५ दिनभित्र गर्नुपर्छ भनेको छ ।’

संविधान र ऐन बाझिएको अवस्थामा सरकारले सच्याउने हो भन्दै त्यही भएर अहिले सरकारले छलफललाई तिव्रता दिएको बिडारीले सुनाए । उनले भने, ‘संविधान र ऐन बाझिएको अवस्थामा सरकार चुप लागेर बस्ने त होइन नि । संविधानसँग बाझिएका ऐन र कानून अमान्य हुन्छ भनेर संविधानमा नै भनिएको छ, त्यही भएर संशोधन गर्नुपर्छ । निर्वाचनदेखि भाग्ने आरोप पनि लगाइएको छ । एमालेले अरु पार्टीलाई अनि अरु पार्टीले एमालेलाई यस्तो आरोप लगाउँछ ।’

निर्वाचनको मिति सरकारले संविधानअनुसार घोषणा गर्ने पनि उनले सुनाए । उनले भने, ‘संविधानले प्रत्याभूति गरेको अधिकार ऐनले कटौती गर्न पाइन्छ ? निर्वाचन आयोगसँग परामर्श हुन्छ, नेपाल सरकारले निर्वाचनको मितिबारे निर्णय गर्छ । यो सरकारले र गठबन्धनले चुनाव गराउँदैन भनेर एमालेले आरोप लगाउनु गलत हो ।’

उनले एमालेले संघदेखि प्रदेशसम्म सबै सरकार गुमाएकोले डर लागेको पनि आरोप लगाए । उनले भने, ‘जनमत भनेको अब आउँछ । ०६४ सालको एमाले सम्झिनुहोस् । यो गठबन्धन निर्वाचनबाट भाग्दैन । निर्वाचन समयमै सम्पन्न गर्छ । संविधानअनुसार निर्वाचन गर्छ । संविधान ठूलो कुरा हो । जेठभित्रै निर्वाचन हुन्छ । अब मिति घोषणा हुन्छ । ड्याम्म चुनाव लड्ने, त्यसपछि कसको कति जनमत छ ? त्यो हेर्ने हो । पाँच दलीय गठबन्धनबीच चुनावमा गठबन्धन हुन्छ । यो धेरै सम्भावना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप