बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराईलाई कति वटा अध्यक्ष चाहियो ? : मनिष सुमन

‘दुईजना अध्यक्ष नराख्ने पार्टीभित्र अण्डरस्ट्याण्डिङ भइसकेको छ ’
शनिबार, २९ माघ २०७८, १५ : २३
शनिबार, २९ माघ २०७८

यतिबेला जनता समाजवादी पार्टी नेपाल विभाजन हुन लाग्यो भन्ने चर्चा ब्यापक छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्षबीचको टकरावले पार्टीभित्र नेताको कित्ताकाट भएको र विभाजनकै तहमा पुगिसकेको समाचारहरु आइरहेका छन् ।  

तर कार्यकारिणी सदस्य मनिष सुमन यसलाई प्रायोजित समाचार मात्र भन्छन् । पार्टीमा कुनै विवाद नरहेको र कुनै अमुक व्यक्तिले आफ्नो स्वार्थका लागि सबै हल्ला गरिरहेको सुमनको दाबी छ । पार्टी विभाजन होइन बरु अझै सशक्त भएर आउने उनको ठम्याई छ । आखिर किन भइरहेछ त जसपा विभाजन हुने  हल्ला ? यही विषयमा रातोपाटीले सुमनसँग गरेको कुराकानीको सम्पादित अंश :

जसपा विभाजन हुँदैछ भन्ने व्यापक हल्ला छ । वास्तविकता के हो ?

–यो बिल्कुलै गलत कुरा हो । पार्टीमा सुधार हुनुपर्छ, केही त्रुटिहरू सच्चिनुपर्छ भनेर केही साथीहरूले कुरा उठाउनु भएको छ । तर त्यो पार्टी विभाजनका लागि होइन । जसपा नेपाल वैकल्पिक पार्टी हो । यो देशमा काँग्रेस, एमाले, माओवादी जस्ता पार्टीलाई देखिसकियो । ती पार्टीहरूले जनताको लागि काम गर्न नसकेपछि जसपा वैकल्पिक शक्तिको रूपमा आएको हो ।

यो पार्टीमा थुप्रै ठुला ठुला नेताहरू आउन चाहनुभएको छ । विभिन्न दलहरूले एकीकरणका लागि प्रस्ताव पनि गरेका छन् । त्यसैले यो पार्टी विभाजन हुँदैन, झन् बलियो भएर आउँछ ।

जसपामा खास विवाद कुन–कुन विषयमा छन् त ?

–पार्टीमा केही विवाद छैन । केहीले प्रायोजित रूपमा विवाद सिर्जना गर्न लगाएको हो जस्तो लाग्छ मलाई । एउटै व्यक्तिले प्रायोजित रूपमा मिडियामा समाचारहरू ल्याएको छ । यसलाई पढेर केही मान्छे भ्रममा पनि परेका छन् । वास्तवमा पार्टीभित्र कुनै विवाद छैन । यदि विवाद भएको भए, बैठकहरूमा ती कुराहरू आउँथ्यो । तर अहिलेसम्म त्यस्ता कुरा आएका छैनन् ।

पार्टीमा डा.बाबुराम भट्टराई अध्यक्ष बन्न खोज्नुभएको भन्ने छ त ?

–डा.बाबुराम भट्टराई अहिले नै पार्टीको अध्यक्ष त हुनुहुन्छ । अब कतिवटा अध्यक्ष चाहिन्छ उहाँलाई ? मलाई लाग्छ बाबुरामले अध्यक्ष माग गर्नुभएको छैन । यो कसैबाट हल्ला गराइएको वा सुनियोजित रूपमा उठाइएको विषय मात्र हो । बाबुराम भट्टराई जसपा संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । संघीय परिषद् पार्टीको एउटा शक्तिशाली निकाय हो, केन्द्रीय समितिभन्दा पनि शक्तिशाली । केन्द्रीय समितिले गरेका निर्णयहरू त्यहाँबाट अनुमोदन हुनुपर्छ । पार्टीका नेताहरू सबै परिषद्का सदस्य हुन्छ । यस्तो शक्तिशाली अध्यक्षलाई फेरि किन अर्को अध्यक्ष चाहियो ? म बुझ्न सकेको छैन । बरु उहाँ आफ्नो पदको सदुपयोग गर्नुपर्छ । पार्टीको विधानले दिएको अधिकार उहाँले पार्टीमा लागु गर्नुपर्छ । 

पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था छ, त्यो कार्यान्वयनमा आउनुपर्छ होला नि, होइन ?

–पार्टीको विधान अनुसार कार्यविभाजन हुनुपर्छ भने कुरा अध्यक्ष उपेन्द्र यादव स्वयंले पार्टीमा पटक पटक उठाउनु भएको छ । पार्टीको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायतका पदहरू विभाजन गर्न बाँकी नै छन् । विधानमा भएको व्यवस्था अनुसार कार्यविभाजन हुनुपर्छ भने कुरामा कसैको दुई मत छैन । उपेन्द्र यादवले पनि त्यही चाहनुभएको छ ।

रह्यो कुरा दुईजना अध्यक्षको । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण हुँदा महन्थ ठाकुरको सम्मानका लागि दुईजना अध्यक्षको व्यवस्था गरिएको थियो । अहिले महन्थ ठाकुर यो पार्टीमा हुनुहुन्न । जसको लागि त्यो पद बनाइएको थियो, त्यही व्यक्ति यहाँ छैनन् भने त्यो पद राखेर के काम ? त्यसलाई विधान संशोधन गरेर हटाउने कुरा भएको छ । त्यसका लागि विधान अधिवेशन गर्ने कुरा भइरहेको छ । दुईजना अध्यक्ष नराख्ने पार्टीभित्र अण्डरस्ट्याण्डिङ भइसकेको छ । कोरोनाले बैठक बस्न ढिला भएर त्यो कुरा अड्केको हो ।

एकल नेतृत्वले पार्टी अध्यक्ष निरंकुश भए, अब पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्छ भनेर माग उठेको छ भनिन्छ नि ?

–सामूहिक नेतृत्वको पार्टीको हालत हामी देखिसकेका छौँ, भोगिसकेका छौँ । बहुअध्यक्ष प्रणालीले पार्टी चल्दैन भनेर प्रमाणित भइसकेको छ । पार्टी एकल नेतृत्व र सामूहिक निर्णय प्रणालीमा चल्नुपर्छ । दुईजना अध्यक्ष भयो भने त्यहाँ अधिकारका लागि द्वन्द्व हुन्छ । एकले अर्काको काममा हस्तक्षेप गर्ने सम्भावना प्रबल हुन्छ । जिम्मेवारी बाँडफाँडको हकमा पनि विवाद हुन्छ । त्यसैले पार्टी एकल अध्यक्ष प्रणालीको हुनुपर्छ । बरु समावेशी, समानुपातिक तथा सामूहिक निर्णय प्रणालीलाई अगाडि बढाउनुपर्छ ।

उपेन्द्र यादवले एकल ढंगबाट पार्टी चलाउनुभयो भन्ने आरोप छ नि ?

–म पार्टीको कार्यकारिणी सदस्य हुँ । प्रायः हरेक बैठकमा मेरो सहभागिता हुन्छ । उपेन्द्र यादवले हरेक एजेण्डालाई छलफलमा ल्याउनु हुन्छ । त्यसमा बहस हुन्छ र सर्वसम्मतिले निर्णय हुन्छ । एकल निर्णय गरेको कुरा मैले कतै अनुभव गरेको छैन । मलाई लाग्छ सबभन्दा बढी बैठक बस्ने र सबभन्दा बढी छलफल हुने पार्टी नै जसपा हो । पछिल्लो समय कोरोनाका कारण केही नेताहरू बिरामी पर्नुभयो । त्यसले गर्दा बैठकमा ढिलाइ भएको हो । नत्र जसपा नै यस्तो पार्टी हो जसले हरेक मुद्दा र एजेण्डामा छलफल गर्नका बैठक बसाएकै हुन्छ । कुनै एउटा यस्तो एजेण्डा छैन जसमा अध्यक्ष उपेन्द्र यादवले एक्लैले निर्णय गरेर अगाडि बढेको होस् । जुन साथीले यो कुरा उठाउनु भएको छ, उपेन्द्र यादवले कुन विषयमा एकल निर्णय गर्नुभयो उहाँले त्यो विषय बाहिर ल्याउनुपर्‍यो । तर मलाई जहाँसम्म थाह छ उपेन्द्र यादव हरेक विषयमा छलफल गराउनु भएको र त्यसको माइन्युट पनि गर्नुभएको छ । 

राष्ट्रियसभाको उम्मेदवार चयन र मन्त्रीपरिषद्मा नाम पठाउँदा अध्यक्ष उपेन्द्र यादव एकल ढंगबाट गर्नुभयो रे । यसबारे के भन्नुहुन्छ ?

–मन्त्रिपरिषद्मा पार्टीबाट कसलाई पठाउने बारेमा निर्णय लिने अधिकार पार्टीले उपेन्द्र यादव, डा.बाबुराम भटट्राई र अशोक राईलाई दिएको थियो । र, उहाँहरूले नै गर्नुभएको निर्णयको आधारमा मन्त्रीहरूलाई मन्त्रीपरिषद्मा पठाइएको हो । मन्त्रीको नाम चयनका लागि उहाँ तीन जनाको बैठक पटक–पटक गोप्य स्थानहरूमा बसेका छन् । उहाँहरूले धेरै गृहकार्य गरेर मन्त्रीको नाम तय गर्नुभएको हो । तर अहिले आएर उपेन्द्र यादवले एकल निर्णयबाट गर्नुभयो भन्नु गलत हो । निर्णय गर्ने बेला गर्ने पछि विभिन्न ठाउँबाट दबाब आउँदा नचाहिँदो आरोप लगाउनु गलत हो । मन्त्रीहरूको नाम पार्टीको आधिकारिक निर्णयबाट भएको हो । पछिल्लो राष्ट्रियसभा सदस्यका लागि हुने चुनावमा कसलाई उम्मेदवार बनाउने भनेर छलफलका लागि संसदीय दल तथा कार्यकारिणी समितिको संयुक्त बैठक बोलाउनु भएको थियो ।  समय अभावका कारण हतार हतार बोलाएको बैठकमा काठमाडौँमा उपलब्ध नेताहरू मात्र त्यसमा सहभागी हुनुभयो । बहुमत सदस्यको उपस्थितिमा भएको सो बैठकले राष्ट्रियसभा सदस्यको नाम चयन गरेको थियो ।  अनि कसरी एकल निर्णय गर्नुभयो ? त्यो पुष्टि गर्नुपर्‍यो नि प्रायोजित रूपमा आरोप लगाएर मात्र हुँदैन ।  

पार्टीमा जे कुरा उठेको छ, वा उठाइएको छ त्यसको समाधानका लागि बैठक कहिले बस्छ त ?

–हो, अहिले पार्टीको बारेमा जे जति कुरा सुनियोजित रूपमा उठिरहेको छ, त्यसलाई प्रष्ट पार्नका लागि भए पनि बैठक बस्नुपर्छ । यस्ता चाहिँदो नचाहिँदो कहाँबाट कसले कसरी उठाइरहेको छ त्यो कुराको छानबिन हुनुपर्छ । वैकल्पिक शक्तिको रूपमा आएको जसपालाई कमजोर गर्न कहाँबाट कसले षड्यन्त्र गरिरहेको छ, त्यसलाई पहिचान गर्नका लागि भए पनि बैठक बस्न आवश्यक छ । 

बैठक कहिले बस्छ त ?

–अमिक्रोनले गर्दा बैठकलाई प्रभावित गरेको छ । यो बीचमा डा.बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत केही नेताहरूलाई कोरोना पोजेटिभ देखिएको थियो । केही नेताहरू उपत्यका बाहिर पनि हुनुहुन्छ । यी विभिन्न कारणले बैठक ढिलो भएको हो । मलाई लाग्छ बैठकको बारेमा अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताहरूसँग परामर्श गरिरहनुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप