आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको विश्लेषण : चोलेन्द्रलाई महाअभियोग एमालेलाई प्रहार

चोलेन्द्र दलाल पुँजीपति हुन्, बोकेर नहिँडौं : भुसाल
सोमबार, ०२ फागुन २०७८, २० : ४०
सोमबार, ०२ फागुन २०७८

सत्ता पक्षका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी दल नेकपा एमाले तरंगित बन्यो । आइतबार साँझ नै बालकोटमा एमाले सचिवालयको बैठक बस्यो ।

‘छापामार शैलीमा महाअभियोग प्रस्ताव दर्ता भएको’ भन्दै एमाले नेताहरुले यसको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिए । सचिवालय बैठकले पनि चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोगको प्रतिवाद गर्ने निर्णय गर्यो । र, यसबारे सोमबार बस्ने संसदीय दलको बैठकले ठोस निर्णय लिने एमाले महासचिव शंकर पोखरेलले बालकोटमा पत्रकारहरुलाई बताए ।

नेकपा एमालेले आइतबार नै देशभरि छरिएका आफ्ना सांसदहरुलाई तुरुन्त काठमाडौं आउन सन्देश पठाइसकेको थियो । सोही सन्देशअनुसार एमालेले सोमबार बानेश्वरमा संसदीय दलको बैठक बोलायो र सांसदहरुको हस्ताक्षरसमेत संकलन गर्यो ।

एमालेले काउण्टर प्रस्तावका रुपमा सोमबार नै सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्ने चर्चा चलेको थियो । संसद विघटनविरुद्धको मुद्दामा परमादेशको फैसला सुनाएका सर्वोच्चका चार न्यायाधीशविरुद्ध पनि सोमबार नै महाभियोगको प्रस्ताव दर्ता गर्ने अनुमान धेरैले गरेका थिए ।

तर, सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले ‘एक कदम अगाडि, दुई कदम पछाडि’ हुने निर्णय गर्यो । चोलेन्द्रविरुद्ध दर्ता भएको महाअभियोगका सन्दर्भमा ‘पार्टी नेतृत्वले उपयुक्त निर्णय लिने’ बताउँदै एमाले संसदीय दलको बैठक सकियो । सो बैठकलगत्तै कमसेकम सभामुखविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुने अनुमान धेरै मानिसहरुको थियो । तथापि एमाले एक स्टेप ‘ब्याक’ भएको छ ।

महाअभियोग एमालेमाथिको आक्रमण ?

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निकै लामो सम्वोधन गरे । आफ्नो सरकार कसरी ढालियो, संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आफूलाई कसरी हरायो अनि परमादेशका आधारमा कसरी काँग्रेसको सरकार बन्यो भन्नेबारे ओलीले पुराना कुराहरु कोट्याएर बैठकमा विश्लेषण सुनाए ।

दलको बैठकमा ओलीको भनाइ उधृत गर्दै एमालेका एक सांसदले रातोपाटीसँग भने, ‘अहिले चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग नेकपा एमालेमाथिको आक्रमण हो ।’ दलको बैठकमा ओलीले भने, ‘शान्तसँग बसिरहेको एमालेमाथि गठबन्धन सरकारका तर्फबाट ढुंगा हान्ने काम भएको छ,यसको प्रतिवाद गर्नुपर्छ ।’

आफ्नो मन्तव्यका क्रममा अध्यक्ष ओलीले ०४६ सालपछिको काँग्रेस सरकारको समेत आलोचना गरेका थिए । गिरिजाप्रसाद कोइरालाका पालामा मदन भण्डारीको हत्या भएको पनि उनले बताएका थिए । ओलीको सम्वोधन चोलेन्द्रमाथि लागेको महाभियोगको विरुद्धमा केन्द्रित थियो ।

एमालेको करङ भाँचिदैछ, अब रोकिऔं : भुसाल

केपी ओलीको सम्वोधनप्रति एमाले सांसद घनश्याम भुसालले बैठकमै कडा प्रतिवाद गरे । भुसालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दलाल पुँजीवादका प्रतिनिधि बताउँदै चोलेन्द्रलाई बोकेर नहिँड्न अध्यक्ष ओलीलाई आग्रह गरे ।

सर्वोच्च अदालतमा पैसा लिएर मुद्दाहरूको छिनोफानो हुने गरेको सुनिएको बताउँदै भुसालले चोलेन्द्रलाई बोकेर एमालेले कसरी चुनाव जित्न सक्छ भन्ने प्रश्न गरे । चोलेन्द्रमाथि लागेको महाभियोगलाई एमालेमाथिको आक्रमणका रुपमा सामान्यीकरण गर्न नमिल्ने भुसालको तर्क थियो ।

एमालेले विगतमा लिएको गलत नीतिका कारण करङ भाँचिन थालेको बताउँदै भुसालले भने, अझै हाम्रो करङ भाँचिदैछ, अब हामी सबैले चेतौँ । चोलेन्द्रलाई बोकेर नहिँडौं ।’ बैठकमा केपी ओलीबाहेक एमालेका पदाधिकारीहरु कोही पनि बोलेनन् । बरु सांसद गोकुल बास्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतले आफ्ना कुरा राखेका थिए । उनीहरुले महाअभियोगको जवाफमा काउण्टर महाअभियोग लगाउनुपर्ने बताएका थिए ।

बैठकमा भुसालको भनाइको प्रतिवाद गर्दै अर्का नेता खगराज अधिकारीले सबैभन्दा ठूलो दलाल पुँजीवादी गठबन्धन दलहरु नै भएको बताएका थिए । चोलेन्द्रलाई भुसालले दलाल पुँजीपतिको प्रतिनिधि बताएकोमा अधिकारीले खण्डन गरेका थिए । उनले महाअभियोगको प्रतिरोध गर्नुपर्ने बताएका थिए ।

बैठकमा एमाले सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको छ । बैठकपछि एक सांसदले रातोपाटीसँग भने ‘खाली कागजमा ६ ठाउँमा हस्ताक्षर गराइएको छ ।’   

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप