शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गणतन्त्र स्वीकारेका कमल थापाको हिन्दुवादी पार्टीको कस्तो होला भविष्य ?

शनिबार, ०७ फागुन २०७८, १२ : ५६
शनिबार, ०७ फागुन २०७८

शुक्रबार साँझ राप्रपा नेपालका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमार्फत एउटा पोस्टर सार्वजनिक गरे–जुन पोस्टर थापाले राप्रपा छाडिसकेपछि पुनः गति दिन लागिएको राप्रपा नेपालको ‘घोषणा सभा’ सँग सम्बन्धित थियो । 

राजतन्त्रको एजेण्डा छाडेर गणतन्त्र स्वीकार्दै राजनीतिक यात्रा सुरु गर्न लागेका थापाले सार्वजनिक गरेको पोस्टर अर्थपूर्ण थियो । अर्थपूर्ण यस अर्थमा पनि थियो कि राजतन्त्रको एजेण्डा छाड्ने उनले पोस्टरको पृष्ठभूमिमा भने पृथ्वीनारायण शाहको तस्बिर समेत प्रयोग गरेका थिए । 

गत मङ्सिरमा सम्पन्न राप्रपाको निर्वाचनमा आफूलाई निर्मल निवासले हराएको निष्कर्षका साथ पुरानो पार्टी र राजतन्त्रको एजेण्डा नै छाडेका कमल थापाले उनै राजतन्त्रका प्रमुख जननी पृथ्वीनारायण शाहको प्रयोग गर्नु आफैमा अनौठो हो । कतिपयले गणतन्त्र स्वीकारेर राजतन्त्रलाई पाखा लगाउँदा पार्टी नचल्ने हो कि भन्ने भयका साथ साङ्केतिक रूपमा थापाले पृथ्वीनारायणको शाहको तस्बिर प्रयोग गरेको रूपमा अर्थ्याएका छन् ।   

जीवनको लामो समय राजतन्त्रको छत्रछायामा राजनीति गरेका कमल थापाका लागि फरक बाटो पक्कै पनि सहज छैन । उनलाई पार्टी बलियो र सशक्त बनाउनका लागि उस्तै सशक्त अभियानको खाँचो छ । त्यसमाथि जनप्रिय एजेण्डाको जरुरत पनि छ । विगतमा राजतन्त्रको एजेण्डा भजाएर गणतन्त्रवादीसँग सहकार्य गर्दै सत्ताको बार्गेनिङ र स्वार्थको राजनीति गरेको आरोप उनीमाथि छँदैछ त्यो भन्दा ठुलो आरोप शक्तिमा नहुँदा पार्टी नै छाडेर नयाँ पार्टी बनाएको भन्ने छ । 

थापामाथि लागेको आरोपका बीच परम्परागत मुद्दा छाडेर गणतन्त्रको मुद्दा बोक्दा विगतमा साथ दिएकाहरूले कति विश्वास गर्छन् भन्ने चुनौती पनि उनीमाथि छन् । राप्रपामा रहेका उनी निकट मानिने कतिपय नेताहरू अझै पनि थापातिर खुलिसकेको अवस्था छैन भने भुवन पाठक बुद्धिमान तामाङ जस्ता नेताहरूले त यसअघि नै राप्रपा मै रहने बताइसकेका छन् । 

थापाले अहिले बोक्न लागेको एजेण्डा भनेको गणतन्त्रसँगै हिन्दुराष्ट्रको हो । विगतमा राजसंस्थासहित हिन्दुराष्ट्रको एजेण्डा बोकेकै कारण तत्कालीन राप्रपाले संविधानसभामा २४ सिट जितेको थियो । तर, थापा पटक पटक सत्तामा जाँदा पार्टीभित्रकै तीव्र अन्तर्विरोध र एजेण्डामा अस्थिर हुँदा नराम्रो धक्का पुग्यो भने जनाधार खस्किन पुग्यो । कमजोर अवस्थामा रहेको राप्रपाबाट पनि बाहिरिएर पुरानै राप्रपा ब्युँताउने कमल थापाको राजनीतिक भविष्य दाउमा रहेको छ । पहिलो त थापालाई पुरानो दाग मेटाउनै चुनौती छ । त्यसमाथि एजेण्डागत रूपमा पनि अन्य दलहरूभन्दा पृथक नभएकाले जनधार प्राप्त गर्नै सकस पर्ने देखिन्छ । 

थापाको पार्टीले सुशासन र समृद्धि एजेण्डालाई समेत प्राथमिकता दिने भनिएको छ । थापाले विगतको गल्तीमा आत्मालोचना गर्दै इमान्दार प्रयास गर्ने हो भने पार्टी सशक्त नबन्ला भन्न पनि सकिँदैन । किनकि बहुसङ्ख्यक जनता हिन्दुधर्मावलम्बी छन् भने उनीहरू कुन न कुनै रूपमा हिन्दुराष्ट्रप्रति आस्था राख्छन् । यस्तै देशमा भ्रष्टाचार, बेथिति, अराजकता मौलाएको सन्दर्भमा यसविरुद्ध इमान्दार भएर लाग्ने हो भने जनमत प्राप्त हुने सक्ने ‘स्पेश’ भने पर्याप्त छ ।  अर्को कुरा पार्टी व्यक्तिको भूमिमा निर्भर त हुन्छ नै सँगसँगै अभियानले पनि महत्त्व राख्छ । अर्थात् थापाले राप्रपा ब्युँताएपनि पार्टीमा युवादेखि हरेक क्षेत्र, लिङ्ग, समुदायका व्यक्तिहरूलाई समेटेर गति दिन सकिन्छ । 

केही दिन अघि रातोपाटीसँगको अन्तरवार्तामा थापा निकटका प्रभावशाली नेता सुशील श्रेष्ठले विगतको विरासत, वर्तमान कारण र आवश्यकताले नयाँ पार्टी पनि स्थापित हुने जिकिर गरेका थिए । देशमा अझै पनि एउटा सशक्त परम्परागत शक्तिको आवश्यकता रहेको र त्यसमा आफूहरू स्थापित हुने उनको जिकिर थियो । 

उनको भनाइ थियो, ‘राप्रपा भजन मण्डलीको बाटोतिर लागिसकेको छ । एउटा शक्ति राप्रपा (निर्मल निवास) को कब्जामा गइसकेको अवस्थामा अर्को परम्परागत शक्तिको आवश्यकता नेपालमा छ । हामी त्यसमा स्थापित हुन सक्छौँ ।’

उनले गणतन्त्र स्वीकारे पनि काँग्रेस, एमाले र माओवादी केन्द्र भन्दा आफ्नो पार्टी कसरी फरक हो भन्नेबारेमा पनि आफ्नो तर्क दिएका थिए । उनले भनेका थिए, ‘काँग्रेस, एमाले र माओवादी भन्दा फरक एजेण्डा बोकेर हामी हिँडिसकेपछि स्वाभाविक रूपमा उनीहरू अहिले कन्जरभेटिभ स्पेसमा रहनै सक्दैनन् । परम्परागत शक्ति, परम्परा तथा संस्कृतिप्रति गौरव गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो जुन मान्यता हो त्यो मान्यता अरू पार्टीसँग छैन ।’  काँग्रेस–एमालेभित्र हिन्दुवादी विचार भए पनि त्यो विचार सम्बन्धित पार्टीभित्र एकदमै कमजोर स्थितिमा रहेको उनको जिकिर छ । यस्तो अवस्थामा आफूहरूलाई राजनीतिक स्पेस बनाउन गाह्रो नहुने उनको भनाइ थियो ।

विगतदेखि नै आफूहरूले उठाउँदै आएको हिन्दुराष्ट्रको एजेण्डाको ब्राण्ड आफूहरूसँगै रहेको पनि जनमत प्राप्त हुने उनको जिकिर छ ।  थापाले फागुन १ मा लाक्पा तामाङले आफ्नो नेतृत्वमा रहेको राप्रपा कमल थापालाई नै जिम्मा लगाएपछि प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रियसभा गृहबाट पार्टी घोषणा गरेका हुन् । थापा अध्यक्ष रहेको राप्रपा नेपाल निर्वाचन आयोले अध्यावधिक गरिसकेको छ । तर, थापाको पार्टीको एजेण्डा हिन्दुराष्ट्र, सुशासन र समृद्धि भनिएनि विस्तृत राजनीतिक र संगठनात्मक दस्ताबेज सार्वजनिक गरिएको छैन । 

थापाले पार्टी घोषणासँगै आफ्नो अभियानलाई कसरी अघि लैजान्छन् त्यसमा पनि उनको पार्टीको भविष्य निर्धारत हुनेछ । 

देशको वर्तमान परिस्थिति र सहयोगी शुभेच्छुकको सल्लाह र सुझावअनुसार राप्रपा नेपाललाई पुनर्जार्गत गर्ने निर्णय गरिएको थापाले बताउँदै आएका छन् । करिब ५ वर्षको अलमलपछि आफूहरु फेरि आफ्नै घर फर्किएको पनि कमल थापाको भनाइ छ । ‘२०६२–६३ को राजनीतिक परिवर्तनपछि देशमा फरक विचार, अलग पहिचान र वैकल्पिक मार्गचित्र बोकेको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ हामीले राप्रपा नेपालको स्थापना गरेका थियौँ । २०७० सालको निर्वाचनमा आमजनताको सहयोगबाट हामीले राप्रपा नेपाललाई काँग्रेस र कम्युनिस्टपछिको देशको ठुलो शक्तिको रूपमा स्थापित गर्न सफल भयौँ । तर, २०७३ सालपछि भने हामीले बाटो विराउँदै गयौँ’, एक भिडियो सन्देशमार्फत थापाले भनेका छन्, ‘गम्भीर राजनीतिक भूलहरु गर्यौँ । जसको परिणामस्वरुप राष्ट्रिय राजनीतिमा हामी महत्वहीन र भूमिकाविहीन बन्न पुग्यौँ । यो तितो सत्यलाई हृृदयंगम गर्दै फेरि नयाँ संकल्प र उत्साहका साथ हामीले राप्रपा नेपाललाई पुनर्जार्गत गरेका छौँ ।’

थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जनतामाझ जाँदा विगतमा सँगै काम गरेका पार्टीका नेता कार्यकर्तालाई यो अभियानमा साथ दिन आह्वान पनि गरेका छन् । घोषणासँगै पार्टीको अभियान उत्साहका साथ अघि बढ्ने थापाको भनाइ छ । 

थापाले नयाँ पार्टी घोषणा गरेसँगै परम्परागत विचारधारा बोकेको राप्रपा फेरि दुई वटा भएको छ भने कमजोर अवस्थामा रहेका यी दुई पार्टी आफैँ प्रतिस्पर्धी पनि बन्ने भएका छन् । पटक पटक विभाजनको नमिठो स्वाद पोखेको राप्रपा बन्न नपाउँदै फेरि फुट्न पुगेको हो । यस्तो अवस्थामा एकीकृत हुँदासमेत खासै जनाधार नभएको र अहिलेकै अवस्थामा जनचासो पनि थापाको पार्टीप्रति नदेखिएकाले थापालाई आफ्नो एजेण्डा स्थापित गर्न फलामको च्यूरा चपाएसरह हुने देखिन्छ । सँगसँगै स्थानीय तहको निर्वाचन पनि नजिएको तथा सो पार्टीले पनि चुनावमा भाग लिने भएकाले शक्ति परीक्षण पनि हुनेनै छ । 

अर्को कुरा गणतन्त्र स्वीकारे पनि थापाले राजतन्त्रलाई प्राविधिक र नैतिकरुपमा भने गाली गर्दै हिँड्ने छैनन् । राप्रपाकै राजावादी धार पार्टीमा भित्र्याउनुपर्ने अवस्था रहेकाले राजतन्त्रप्रति थापालाई नरम बन्नुपर्ने बाध्यता छ ।  आफू नै लामो समय राजतन्त्रकै छत्रछायाबाट राजनीतिमा आएको हुनाले पनि थापालाई नैतिक बन्धक हुने देखिएको हो । त्यसैले त, सुरुमै उल्लेख गरिएझैँ थापाले पार्टीको घोषणासम्बन्धी ब्यानरमा पनि पृथ्वीनारायण शाहको फोटो छुटाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप