बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई हरियो चिन्हदेखि किन डर ? औचित्य पुष्टि गर्न आयोगलाई चुनौती

काँग्रेसको प्रश्न : अब हरियो सागपात ल्याउँदा पनि काँग्रेस आयो भनेर डराउने ?
बुधबार, २५ फागुन २०७८, १८ : ०३
बुधबार, २५ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पार्टीको महिला संगठनले गरेको कार्यक्रममा महिला मुक्तिको मात्र कुरा गरेनन् । उनले आफ्नो दलको विरुद्धमा अदालत, सभामुख सरकार मात्र नभई  निर्वाचन आयोगसमेत लागिपरेको आरोप लगाए । ओलीले आयोगलाई यस्तो आरोप लगाउनुको कारण थियो, आयोगले आगामी चुनावमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्णय । आयोगको सो निर्णय आफ्नो दललाई मान्य नहुने र त्यसबारे निर्वाचन आयोगसँग छलफल गर्ने ओलीले बताएका थिए । 

ओलीको यो टिप्पणीको आयोगले प्रतिरक्षा गरेको छ । अघिल्ला चुनावहरूमा पनि हरियो रङको चुनाव चिन्ह प्रयोग गरेको आयोगको भनाई छ । कालो, निलो, हरियो रातो सबै प्रकारका रङहरू यसअघिका चुनावमा प्रयोग भएको बताउँदै आयोगले मतपत्रमा हरियो चिन्ह राख्नु प्राविधिक कारण भएको दाबी गरेको छ । 

यता एमालेले आयोगको सो निर्णयको औचित्य पुष्टि गर्न चुनौती दिएको छ । चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दल भएकोले राजनीतिक दलहरूसँग परामर्श नगरी एकतर्फी रूपमा आयोगले कुनै निर्णय गर्न नहुने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको धारणा छ । 

आयोग स्वतन्त्र संवैधानिक निकाय भएकोले उसले गरेको निर्णय राजनीतिक दलहरूले मान्नुपर्ने काँग्रेसको मत रहेको छ । आयोगले गरेको निर्णयमा राजनीतिक दलहरूको टिप्पणी आवश्यक नरहेको काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् । चुनाव चिन्ह कस्तो रङको भनेर विवाद झिक्नु भन्दा पनि कम्युनिष्ट पार्टीहरूले बिचार र सिद्धान्त अघि सारेर बहस गर्नुपर्ने उनको तर्क छ । 

बुधबार पनि आयोग र काँग्रेसमाथि खनिए ओली 

मंगलबार काठमाडौँमा भएको कार्यक्रममा हरियो रङको चुनाव चिन्हको विरोध गर्दै आयोगमाथि खनिएका एमाले अध्यक्ष ओलीले बुधबार मोरङको रंगेलीमा भएको सार्वजनिक सभामा पनि काँग्रेस र आयोगको विरोध गरे । उनले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाए । सभामा उनले भने–‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो’  ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’

उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलीपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओलीले काँग्रेसको आलोचनामा समय खर्चिएका थिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’ 

आयोगको निर्णयको औचित्य पुष्टि होस : प्रदीप ज्ञवाली 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अघिल्लो चुनावमा सबै मतपत्रमा हरियो रङको चुनाव चिन्ह नभएको बताउँदै आयोगले गरेको निर्णयको औचित्य पुष्टि हुनुपर्ने बताए । 

रातोपाटीसँग कुरा गर्दै ज्ञवालीले भने–‘हाम्रो भनाई के मात्र हो भने निर्वाचन आयोगले मतपत्र, निर्वाचन नियमावली वा निर्देशिकाहरू केही चिजमात्र पनि परिवर्तन गर्दा राजनीतिक दलहरुलाई त्यसको विश्वासमा लिने र त्यसको औचित्य पुष्टि गरेर बताउनु पर्ने हुन्छ । आयोगले मुख्य राजनीतिक दलहरुलाई जानकारी पनि नदिई किन एक्लै गरेको हो ? त्यसमा हामीले प्रश्न उठाएका हौँ । उसले त्यसमा यस यस कारणले भनेर औचित्य पुष्टि गरोस । आयोगले औचित्य पुष्टि गर्‍यो भने रङको कुरा नै ठूलो कुरा नहोला । तर चुनावको सबैभन्दा ठूलो सरोकारवाला पक्ष भनेको राजनीतिक पार्टीहरू नै हुन् । तिनीहरुसँग सामान्य परामर्शपनि नगरीकन गरिएको निर्णयप्रति हाम्रो प्रतिक्रिया हो ।’

आयोगले प्राविधिक रूपमा रातो यसकारण ठीक छैन, यसकारणले हरियो जरुरी भयो भन्ने औचित्य पुष्टि गर्‍यो भने त्यसबारेमा छलफलबाट निष्कर्षमा पुग्न सकिने उनले बताए । तर विना जानकारी आयोगले निर्णयहरु गर्ने, परिवर्तन गर्ने काम गर्‍यो भने  राजनीतिक दलहरूमा आशंका त जन्मिने ज्ञवालीले बताए । 

निर्वाचन आयोग भन्छ–‘अघिल्लो चुनावमा पनि हरियो रङ नै थियो

निर्वाचन आयोगले भने यसअघि पनि मतपत्रमा हरियो रङको चुनाव चिन्ह प्रयोग भएको बताएको छ । आयोगले अघिल्लो चुनावमा जे थियो अगामी चुनावमा पनि सोही बमोजिम गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘यसअघिको चुनावमा कालो, रातो, हरियो विभिन्न रङका चुनाव चिन्ह प्रयोग थियो । आयोगले प्राविधिक रूपमा कुन रङको चुनाव चिन्ह ठीक हुन्छ त्यसैलाई लागू गर्ने हो । यो विवाद झिकिराख्नु पर्ने विषय नै हैन ।’ उनले कुनै दलले यसबारे विरोध गर्दैमा आयोगको निर्णयमा परिवर्तन नहुने बताए । आयोगले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा क्रममा अगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चुनाव चिन्ह हुने जानकारी गराएको थियो । आयोगको निर्णय बाहिरिएसँगै एमालेले त्यसप्रति आपत्ति जनाएको थियो ।  

विश्वप्रकाशको प्रश्न : अब हरियो साग घरमा ल्याउँदा पनि काँग्रेस आयो भनेर तर्सिने ? 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग तर्सिन थालेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै महामन्त्री शर्माले मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गर्दै सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उल्लेख गरे । 

एमाले अध्यक्ष ओलीलाई उखानमै जवाफ फर्काउँदै महामन्त्री शर्माले भने–‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनु पर्दैन ढङ्ग सच्चाए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो । हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’ 

उनले बिचार सिद्धान्तमा बहस गर्नुपर्ने कुरामा जोड दिए । शर्माले भने–‘काँग्रेसको चुनाव चिन्ह चिन्ह हरियो नै हुन्छ । रुख पनि हरियो नै हुन्छ । हरियो नराख भन्नेहरू हरियोबाट डराउन भएन । आफ्नो ढङ्ग सच्याउन र रङसँग नडराऊ भन्न चाहन्छु ।’ 

​महामन्त्री शर्माले ओलीलाई सम्बोधन गर्दै भने–‘कमरेड केपी शर्मा ओलीलाई हरियो रङको आलोचना नगर्न म सुझाव दिन चाहन्छु । हरियो रङमाथि प्रश्न उठाउने हो भने हरियो भन्ने सबै कुरा छोड्नुपर्‍यो  । कि हरियो सागपातमाथि पनि प्रश्न उठाउने हो भोलि ? हरियो सागपात घरभित्र छिर्‍यो भने काँग्रेस आयो भन्ने भए अव । त्यसकारण विचारको बहस गर्नु, सिद्धान्तको बहस गर्नु राम्रो हुन्छ । कस्तो मतपत्र बनाउने, कस्तो रङ राख्ने भन्ने कुरा त निर्वाचन आयोगको स्वतन्त्रताको विषय हो ।’

निर्वाचन आयोगले भने मतदान गर्दा स्वस्तिक चिन्हको रङसँग फरक गर्न र रातीको समयमा पनि मतगणना गर्न सहज हुने भएकोले हरियो रङको चुनाव चिन्ह मतपत्रमा राख्न लागेको दाबी गरेको  छ ।  एमालेले आयोगसँग यसबारे छिट्टै परामर्श गर्ने तयारी समेत गरेको छ । 

एमसीसी जस्ताको तस्तै पास भएको भए पनि र खारेज गरेरै पठाएको भए पनि देशमा दुर्घटनामा जान्थ्यो । त्यसैले हामीले त व्याख्यात्मक विश्लेषणसहित पास गराएर देश दुर्घटनामा फस्नबाट बचायौँ नि त । हामीलाई कन्फिडेन्स छ कि, हामीले यो ठीक गर्‍यौँ । त्यसैले हामीलाई सजिलो छ । यही वास्तविक विषय लिएर जनतामा जान्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप