नाचगान गरेर शिक्षकलाई तलब भत्ता
धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दाले नाचगान गरेर शिक्षकको तलब भत्ता जुटाउने गरेका छन् । जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्त्यालले गाउँमा विदेशबाट आउने ‘लाहुरे’लाई स्वागत, विवाह, छेवार, गुन्युचोली देखाउने, किरिया, चौरासी पुजामा नाचगान गरेर शिक्षकको तलवभत्ता जुटाउने गरिएको जानकारी दिए ।
“निजी स्रोतका शिक्षकको तलब भत्ताका लागि वार्षिक रु नौ लाख आवश्यक पर्छ”, उनले भने, “सो रकम जुटाउन शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले नाचगान गर्छौं ।” विसं २०६८ देखि मावि तह सञ्चालन भएको विद्यालयमा दुई/दुई जना बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीसहित १५ जना शिक्षक कर्मचारी छन् । मावि तहमा एक जना पुर्ण र चार आंशिक निजी स्रोतका शिक्षक रहेका प्रअ न्याउली छन्त्यालले बताए ।
“विसं २०७६ सम्म चार जना पूर्ण निजी स्रोतका शिक्षकका लागि वार्षिक रु १४ लाख खर्च जुटाउनु पर्दथ्यो”, उनले भने, “दुई वर्षदेखि गाउँपालिकाले दुई जना शिक्षकको अनुदान र एक जना दरबन्दी मिलान गरेर पठाएपछि केही सहज भए पनि नाचगान गरेर आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छैन ।”
नाचगानका अतिरिक्त विद्यालय सञ्चालनका लागि विकास योजनामा काम गरेर ज्यालाबापत पाउने रकमसमेत उपलब्ध गराउने गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोर्खा छन्त्यालले बताए । गुर्जामा अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको मात्र बसोबास छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा करिब ३०० विद्यार्थी छन् ।
सो विद्यालय गुर्जाको एकमात्र विद्यालय हो । गुर्जा भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ । छिमेकी वडा लुलाङबाट तीन हजार मिटर उचाइको देउराली धुरी छिचोलेर पूरै दिन हिँडेपछि गुर्जा पुग्न सकिन्छ । सडक यातायातको सुविधा छैन । भौगोलिक विकटताका कारण गाउँ बाहिरका शिक्षक आउन नमान्ने र आए पनि छिट्टै सरुवा भएर जाने समस्या छ ।
शिक्षकलाई आकर्षित गराउन गाउँ बाहिरका शिक्षकलाई विद्यालयले आवासीय सुविधा दिएको छ । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जालाई दुर्गम र विशेष क्षेत्र घोषणा गरेर विकास आयोजनाको दररेट र शिक्षक कर्मचारीलाई अतिरित्त सुविधाको व्यवस्था गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण