शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो चरणको काम सकिएसँगै कमल पोखरीको उद्घाटन

बुधबार, ०२ चैत २०७८, २१ : ५९
बुधबार, ०२ चैत २०७८

पहिलो चरणको काम सम्पन्न भएपछि आज कमलपोखरीको उद्घाटन भएको छ । कमलपोखरी पुनःनिर्माण गुरु योजनाअनुसार दुई चरणमा पुनःनिर्माण हुँदैछ ।  पहिलो चरणको काम सकिएपछि आज साँझ कामपाका प्रमुख विद्या सुन्दर शाक्यले पोखरीको उद्घाटन गरेका हुन् ।  

पोखरी पुनःनिर्माण गर्न र सौन्दर्य बढाउने कामका लागि धनञ्जय कँडेल जेभी रानीबारीले  छ करोड ३६ लाख ५९ हजार ६०४ मा जिम्मा पाएको थियो । विसं २०७७ असार १५ गतेभित्र पुनःनिर्माण पूरा गर्ने मुख्य सर्तका आधारमा निर्माण पक्षलाई महानगरले २०७६ असार ६ गते कार्यादेश दिएको थियो । कोभिड महामारीले निर्माण सामग्री ल्याउन र जनशक्ति परिचालन गर्न नसकिने अवस्था आएपछि पुनःनिर्माणको काम तोकिएको समयमा काम नभएर ढिला भएको हो । 

पोखरी उद्घाटनपछि प्रमुख शाक्यले स्थानीय र सरोकारवालासँग छलफल गरेपछि प्राप्त भएको सुझावलाई समेटेर पोखरी पुनःनिर्माण गरिएको जानकारी दिए ।  कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले कमलपोखरी वडा नं १ को शान र पहिचान हो भन्दै अब यसको संरक्षण गर्नु हामी सबैको साझा दायित्व रहेको बताए । 

पुनःनिर्माणको क्रममा २०७७ चैत मसान्तसम्ममा करिब साढे दुई करोड लिटर पानी भरिएको थियो । पोखरीमा पानीको सतह घट्न नदिन आकाशे पानी सङ्कलनजस्ता प्राकृतिक प्रविधि र बाह्य स्रोतबाट पानी प्राप्त गर्न सकिने दुवै विधि जडान गरिएको छ ।

पोखरी वरिपरि ठूलाठूला ढुङ्गा छापेर सिँढी बनाइएका छन् । पोखरीको सौन्दर्य हेर्नका लागि पूर्वतर्फबाट ६० मिटरभित्र पुग्ने बाटो र झिँगटीको छानोयुक्त मण्डप बनाइएको छ । यस्तै पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप बनाइएका छन् । मण्डपमा पुग्न कलात्मक सिँढी बनाइएका छन् । कमल रोप्नका लागि चार कुनामा साना–साना पोखरी बनाएर कमल रोपिएको छ । आगन्तुकलाई बस्नका लागि चौतारा बनाइएका छन् । पोखरीमा प्रवेश गर्न पूर्वतिर मूल गेट राखिएको छ भने अन्य तीन कुनामा प्रवेशद्वार बनाइएको छ ।

पुनःनिर्माण गुरु योजनाअनुसार निर्माणको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पोखरी र पोखरी संरचनासँग जोडिएका काम सकिएको हो । दोस्रो चरणमा दक्षिणतर्फ साविकमा प्रहरी बिट भएको ठाउँलगायत वरिपरि पार्क निर्माण र हरियाली विकास, खुला शारीरिक व्यायाम स्थल, व्याडमिन्टन र बास्केटबल कोर्टलगायत संरचना बनाइनेछ । पोखरी पुनःनिर्माण गर्न २०७६ असार १९ गते प्रमुख शाक्यले नै शिलान्यास गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप