आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : साना दललाई राहत, प्रचण्डलाई दवाव

बुधबार, ०२ चैत २०७८, २२ : ५९
बुधबार, ०२ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको २ गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ। 

आजका मुख्य समाचारमा गठबन्धनबिनै पनि आफ्नै तागतमा चुनाव लड्ने प्रचण्डको भनाइ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, साना दललाई राहत हुने गरी निर्वाचन आयोगको निर्णय, राप्रपाको चुनाव केन्द्रीत निर्णय, राप्रपा नेपालको चुनाव चिन्ह तयलगायत रहेका छन् ।

१. साना दललाई राहत

निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दलले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने बाटो खोलेको छ । बुधबार आयोगमा बसेको बैठकले चुनाव चिन्ह दिने प्रयोजनका लागि ती दलहरूको कुन(कुन जिल्लाका संगठनको कस्तो अवस्था छ, त्यसको विवरण माग्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए ।

२. दबाबमा प्रचण्ड

स्थानीय तहको निर्वाचनलाई लिएर माओवादीले तयारी तिब्र बनाएको छ । गठबन्धनबिना एक्लै परेपनि चुनाव लड्ने गरी अघि बढेको माओवादीले परिवर्तनलाई संस्थागत गर्न र देशी विदेशी शक्तिको षडयन्त्रलाई परास्त गर्न पनि पार्टीले जित्नुपर्ने बताउँदै आएको छ ।  विदेशी शक्तिले दुई दलीय व्यवस्था लाग्न खोजेको भन्दै माओवादीले आफूमाथि स्थानीय लगायतका सबै चुनाव जित्नैपर्ने दबाब रहेको अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् । आज काठमाडौंमा भएको पार्टीको आन्तरिक प्रशिक्षणमा पनि प्रचण्डले परिवर्तनलाई जोगाउन र विदेशी शक्तिको षडयन्त्रलाई चिर्न पार्टीमाथि जित्नैपर्ने दबाब रहेको बताए ।

​यसैगरी माओवादी नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् ।  पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध काँग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर, एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए ।

​३. राप्रपा चुनावमा होमियो

आगामी वैशाखमा तय भएको चुनावका लागि राप्रपाले चुनावी कमाण्डर तोकेको छ । राप्रपाको बुधबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले पार्टीको पक्षमा माहोल बनाउन नेताहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरिएको हो । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय प्रतिनिधिका रुपमा विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ्ग, भक्ति प्रसाद सिटौला इलाम, गोपाल प्रसाद पौडेल पाँचथर, हरि प्रसाद घिमिरे तेह्रथुम, सगुनसुन्दर लावती ताप्लेजुङ, गोपाल दाहाल धनकुटा, प्रह्लाद प्रसाद साह सुनसरी, पदम बहादुर तामाङ भोजपुरमा तोकिएका छन् ।

थप समाचार

यसैगरी राप्रपा नेपालले चुनाव चिन्ह टुंगो लगाएको छ । अध्यक्ष कमल थापाका अनुसार पार्टीको चुनाव चिन्ह तिर हुनेछ ।

४. ओलीलाई घनश्यामको जवाफ

नेकपा एमालेका नेता घनश्याम भुसालले मंगलबार एक पत्रिकामा लेख लेख्दै एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकता हुनुपर्ने लबिङ गरेका छन् । भुसालले लेखमा अब वाम एकताको अभियान नै चलाउने बताएका हुन् ।

एमाले नेता भुसालले बहस प्रारम्भ गरेको भोलिपल्ट बुधबार लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै माओवादी नेता वर्षमान पुनले पनि एमालेसँग चुनावी तालमेलको ढोका खुल्लै रहेको बताएका छन् । तर,  तीन पार्टीबीच एकता गर्नुपर्छ भन्ने एमाले नेता भुसालको ‘अभियान’ का सन्दर्भमा बुधबार रातोपाटीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रश्न गर्दा उनले केपी ओली नै वाम एकताको बाधक रहेको बताए ।

​५. पेट्रोलको भाउ बढ्यो

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले अज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो ।

निगमका अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र मट्टितेल रु १३८ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर रु १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ ।

६. सेयर बजार

बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १९.६५ अंकले घट्दै २६ सय ३१.३२ अंकमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.२२ अंकले घटेर ४९७.३७ अंकमा झरेको छ ।

​७. पल शाह प्रकरण

जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो ।

साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ ।

​८. क्रिकेटमा नेपाल विजयी

आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । नेपालसामु पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ८ विकेट खर्चिएर भेट्टायो ।

यूएईको शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।

​९. होलीमा कडाइ

रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार यसबारे जानकारी दिएको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने जनाएको छ ।

​१०. यो पनि...

सबै प्रदेशमा सवारी साधनको कर समान गर्ने विषयमा प्रदेश सरकारहरूबीच सहमति भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरुको बैठकमा सो सहमति भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा विजय हासिल गर्न लागि कसरी खट्नुपर्छ भनेर निर्देशन दिएको पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।

​भारतले प्रस्तावित नेपाली राजदूत डा। शंकर शर्माको एग्रिमो पठाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ सकेर मंसिर २४ गते नै एग्रिमोका लागि भारतको विदेश मन्त्रालयमा पत्राचार गरेको थियो । डा शर्मालाई एग्रिमो दिन भारतले ९५ दिन लगाएको हो ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप