शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने

आइतबार, ०६ चैत २०७८, १२ : ४३
आइतबार, ०६ चैत २०७८

नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका  प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् । 

आइतबार नेपाल प्रेस युनियन सल्यानले  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र  पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार लगाइने बताए । 

‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रीकृत छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं’, प्रवक्ता महतले भने ।
उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भएमात्र केन्द्रले हेर्न सक्ने पनि बताए ।  उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताए । 

काँग्रेस प्रवक्ता डा.महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि बोले । उनले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप