शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि ८४ लाख मात्रा फाइजर खरिद गरिँदै

एक साताभित्र ४५ लाख मात्रा खोप
मङ्गलबार, ०८ चैत २०७८, २२ : ००
मङ्गलबार, ०८ चैत २०७८

नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिले सञ्चालन भएपनि ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहकालाई ८४ लाख मात्रा खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै क्रममा बालबालिकाहरूलाई लगाइने फाइजर खोप आयातका लागि तयारी भइरहेको जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले वैशाखदेखि जेठ सम्ममा बालबालिकालाई खोप दिइने बताउँदै आएका छन् । ८४ लाख मात्रा फाइजर खरिद प्राप्त गर्ने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । उनले भने, ‘५ देखि ११ वर्षसम्मका बालबालिकाले अब चाँडै खोप पाउँछन् । खोप आयत प्रक्रिया अगाडि बढिसकेको छ ।’

साताभित्रै ४५ लाख खोप 
एक साताभित्र कोरोना भाइरस विरुद्धको ४५ लाख मात्रा खोप पाइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा उक्त मात्राको सिनोभ्याक्स खोप पाइपुग्ने आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. चौरसियाले बताए । यस्तै, ११ वर्षदेखि १७ वर्षसम्मका बालबालिका लागि अनुदान सहयोगमा चैत्र १२ गते र १४ गते १५ लाख मात्रा फाइजर खोप आउँदै छ । सरकारले हालसम्म कोरोनाविरुद्धको खोप खरिद र अनुदान सहयोगमा विभिन्न कम्पनीका ४ करोड ७८ लाख ८२ हजार ८ सय मात्रा कोभिसिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, एष्ट्राजेनिका, जोन्सन लगायत खोप प्राप्त गरेको छ । 

वयस्क बालबालिका कतिले खोप पाए ?
नेपालमा ११ वर्षदेखि १८ वर्षसम्म ३४ लाख ५ हजार ४५५ बालबालिकालाई कोरोनाविरुद्धको खोप पाएका छन् । यस उमेर समूहका ६८.० प्रतिशत बालबालिकाले कोरोनाविरुद्धको खोप लगाइसकेको तथा ९३.० प्रतिशतले कम्तीमा एक मात्रा लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

के खोपको लक्ष्य हासिल हुन्छ ?
सरकारले चैत मसान्तसम्ममा १८ वर्षमाथिका पूर्ण जनसङ्ख्यालाई खोप लिने लक्ष्य राखेको छ । स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जना छन् । जसमध्ये एक करोड ६२ लाख २९ हजार २७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै, कम्तीमा एक मात्रा १ करोड ८५ लाख ११ हजार ४७२ जनाले एक मात्रा खोप लगाएका छन् । अर्थात् पूर्ण मात्रा ८१.५ प्रतिशतले लगाएका छन् भने ९३.० प्रतिशतले कम्तिमा एक मात्रा लगाएका छन् । 

सरकारले  लक्ष्य हासिल गर्न २२ दिनमा झण्डै १८ वर्ष माथि उमेर समूहका १९ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइ सक्नुपर्ने हुन्छ । नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० जना मध्ये तीन करोड ९३ लाख ९१ हजार ३१८ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  जसमा पूर्ण मात्रा खोप एक करोड ८७ लाख ७ हजार ४८७ जनाले लगाएका छन् भने कम्तिमा एक मात्रा एक करोड ८७ लाख ७० हजार ५५९ ले एक मात्रा लगाएका छन् । 

लक्षित समूहले ८१ प्रतिशतभन्दा बढी जनसङ्ख्याले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसक्दा बुस्टर डोज १९ लाख १३ हजार २७२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
खोपको पूर्ण मात्रा ८१.५ प्रतिशतले लगाएका छन्  भने ९३.० प्रतिशतले कम्तिमा एक मात्रा लगाएका छन् । सरकारले  लक्ष्य हासिल गर्न २२ दिनमा झण्डै १८ वर्ष माथि उमेर समूहका १९ प्रतिशत जनसङ्ख्यालाई खोप लगाइ सक्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप