शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने

डा. सीके राउत प्रति क्रेज बढ्दै गएको पार्टीको निष्कर्ष
बिहीबार, १० चैत २०७८, १३ : ००
बिहीबार, १० चैत २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।

पहिलोपटक चुनावमा भाग लिन लागेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ । 

केही दिनअघि मात्रै माटो सङ्कलन यात्राका लागि गृह जिल्ला सप्तरी पुगेका डा. राउतले त्यहाँ कार्यकर्ता तथा जनतासँग भेटघाट गरेका थिए । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।

स्थानीय तहको निर्वाचन हुन अब ४९ दिन बाँकी छ । त्यसअघि निर्वाचनका लागि ठोस योजना र रणनीति तय गर्नका लागि पार्टीको बैठक बस्ने तयारी भएको छ । महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२ जिल्लामा निर्वाचनमा सहभागी हुने जानकारी दिए ।

उनले युवा जमातमा जनमत पार्टी र डा. सीके राउतप्रतिको अत्यधिक क्रेज बढ्दै गएको दाबी गरे । महासचिव सिंहले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘नयाँ सोच, नयाँ जाँगर साथ युवाहरूको क्रेज पार्टी र डा. सीके राउतप्रति बढ्दै गएको छ । अहिले तराई मधेसमा हामीप्रतिको आकर्षणले बढ्दै गएपछि नयाँ योजना साथ स्थानीय तहको निर्वाचनमा नयाँ ढङ्गले अघि बढ्ने छौँ ।’ 

‘छिट्टै नै बैठक बसेर थप नेताहरूलाई थप जिम्मेवारी साथ अघि बढ्नुपर्ने देखिएको छ । बैठक बसेर निर्वाचन सम्बन्धी कार्ययोजना तय गरिने छ,’ उनले भने ।

उनले यही साता भित्रमा बैठक बसेर कसरी अगाडी बढ्ने विषयमाथि पनि छलफल हुने स्पष्ट पारे । उनले भने, ‘केन्द्रीय सदस्यहरूलाई पालिकास्तरमा वडासम्म बुथ–बुथ–मजबुत अभियानलाई अघि बढाएका थियौँ ।, अब बस्ने केन्द्रीय कार्यकारिणीको बैठकबाट थप निर्णय गरेर अघि बढ्ने छौँ ।’

उनले अहिले पार्टी केन्द्रीय कार्यकारिणी सदस्यहरूले पालिकाको जिम्मेवारी लिएर अघि संगठन विस्तारदेखि किसान आन्दोलनका लागि पनि किसान संगठनको आन्तरिक तयारी भइरहेको बताए । उनले किसान आन्दोलनमा आफूहरूले उठाएको ११ बुँदे माग प्रति प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण समेत सकारात्मक रहे पनि सरकारबाट कुनै पनि किसिमको काम नभएको बताए । 

उनले परम्परावादी दलहरू अहिलेसम्म पनि गठबन्धन बनाएर निर्वाचन जानका लागि आनाकानी गरिरहेकाले यिनीहरूको हर्कत बारे जनता निराश रहेको टिप्पणी गरे । उनले भने, ‘परम्परावादी दलले स्थानीय तहको नेतृत्व गर्दा पनि जनताका लागि केहि गर्न नसकेकाले जनताले विकल्प काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एमालेलगायतका दलहरू विकल्प खोजी रहेको छ ।’

उनले भने, ‘त्यसको विकल्प जनमत पार्टी नै रहेको भन्दै गाउँ गाउँमा सीके राउत र जनमत पार्टीप्रतिको क्रेज बढ्नु नै हाम्रो राम्रो उपलब्धि हो ।’ काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एमालेलगायतका दलहरू विभिन्न गठबन्धन बनाएर चर्चा रहेकाले जनमत पार्टीलाई फाइदा हुने उनले बताए । उनले निर्वाचन आयोगबाट पार्टीले माग गरेअनुसार हर्न छाप पाउने भएको समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप