शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : गुल्मीमा कसले मार्ला बाजी ?

पार्टी विभाजनका कारण एमालेलाई कति चुनौती ?
आइतबार, १३ चैत २०७८, ०८ : ४३
आइतबार, १३ चैत २०७८

गुल्मी । अघिल्लो निर्वाचनमा गुल्मी नेकपा एमालेको गढका रुपमा देखिएको थियो तर आगामी निर्वाचनमा भने एमालेलाई आफ्नो त्यो वर्चश्व जोगाउन त्यति सहज देखिएको छैन । किनकि यसबीचमा नेकपा एमाले विभाजन भइसकेको छ भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितका दलबीच चुनावी तालमेलका लागि पहल भइरहेको छ ।

२०७४ सालको निर्वाचनमा गुल्मीका १२ वटा पालिकामध्ये एमालेले ७ वटामा प्रमुख पद र १० वटामा उपप्रमुख पदमा जित हासिल गरेको थियो । तर हाल एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको र सो पार्टीकी नेतृ एवं संघीय मन्त्री रामकुमारी झाँक्रीको गृह जिल्लासमेत भएका कारण गुल्मीमा एमाले विभाजनको असर आगामी निर्वाचनमा नराम्रोसँग देखा पर्ने आँकलन गरिएको छ ।

त्यसमा पनि सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएको खण्डमा एमालेले नराम्रो हार व्यहोर्न सक्ने देखिन्छ । तर केही पालिका यस्ता छन्, जसमा एमाले एक्लै पनि गठबन्धनका लागि भारी साबित हुन सक्छ ।

यी पालिकामा बलियो देखिन्छ एमाले

एमाले एक्लै लडे पनि प्रमुख पदमा गठबन्धनलाई टक्कर दिन सक्ने स्थानीय तहमा मदाने, इस्मा, छत्रकोट र रुरुक्षेत्र गाउँपालिका हुन् । अघिल्लो निर्वाचनमा यीमध्ये कुनै पालिकामा काँग्रेस–माओवादी गठबन्धनका बाबजुद पनि एमालेले जित हासिल गरेको थियो ।

अघिल्लो निर्वाचनमा मदानेमा एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार केसी २२६६ मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै भारी देखिने आँकलन गरिएको हो । यद्यपि, एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादीमा लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान समेत रहेको यो पालिकामा एमालेको  जनमतमा अहिले केही ह्रास आएको बताइन्छ ।

त्यस्तै इस्मा गाउँपालिकामा एमालेका लक्ष्मण बिष्टले ५ हजार ५५ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दुर्गाचन्द्र बोहराले ५६९ मत पाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले जित हासिल गरेको थियो । एमालेबाट निलकण्ठ गौतमले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए ।

त्यस्तै छत्रकोट गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । प्रमुख पदमा काँग्रेसका उम्मेदवार अनन्त पौड्यालले ५ हजार १५४ मत ल्याउँदा एमालेका उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जित हासिल गरेका थिए ।

यी पालिकामा एमालेलाई चुनौती

अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने रेसुङ्गा र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

सत्यवती र कालीगण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । अर्कोतिर काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यी दुई गठबन्धनमध्ये सत्यवतीमा एमालेले उपाध्यक्ष पदन जितेको थियो भने काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकालले पालिका अध्यक्ष पदमा जित हासिल गरेका थिए । पालिका अध्यक्ष पदमा एमाले उम्मेदवार अमरसिंह सिंजापति जम्मा ४४ मतान्तान्तरले पराजित भएका थिए ।

ढकालले  ५ हजार १९७  मत प्राप्त गर्दा सिंजापतिले  ५ हजार १५३  मत प्राप्त गरेका थिए । अहिलेको अवस्थामा एमाले विभाजन भइसकेका कारण यो पालिकामा सबै दल एक्लाएक्लै चुनाव लडेको अवस्थामा पनि एमालेलाई विभाजनको असरले जित हासिल गर्न कठिन हुने आँकलन गरिएको छ ।

यस्तै, कालीगण्डकी गाउँपालिकामा पनि यी दुई गठबन्धन बीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार टिकाराम ढाकाललाई ५१९ मतान्तरले पराजित गर्दै काँग्रेसका बेद थापा मगरले पालिका प्रमुख पद जितेका थिए । थापाले  ४ हजार २८९ मत प्राप्त गरेका थिए भने ढकालले ३ हजार ७७० मत र राप्रपाले ४१ मत प्राप्त गरेको थियो ।

धुर्कोट गाउँपालिकामा पनि काँग्रेस–माओवादी र एमाले–जनमोर्चा गठबन्धनबीच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । त्यहाँ माओवादीका भुपाल पोखरेलले एमालेका कृष्ण घिमिरलाई ३६३ मतान्तरले पराजित गर्दै पालिका प्रमुख पद जितेका थिए भने काँग्रेसका शिवहादुर केसी उपप्रमुखमा विजयी भएका थिए । पोखरेलले ५ हजार ११६ मत प्राप्त गर्दा घिमिरेले ४ हजार ७५३ मत प्राप्त गरेका थिए ।

चन्द्रकोट गाउँपालिकामा काँग्रेसका द्रोणबहादुर खत्री ३ हजार ३४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका युवराज केसीले २ हजार २३८ मत हासिल गरेका थिए ।

त्यस्तै मालिका गाउँपालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए । यहाँ एमाले विभाजनको असर कत्तिको पर्छ भन्ने विषयले एमालेको जित वा हारलाई निर्धारण गर्ने देखिन्छ । अर्कोतिर सत्तारुढ गठबन्धनबीच तालमेल भएको खण्डमा यो पालिकामा एमाले कमजोर हुन सक्ने देखिन्छ ।

अघिल्लो निर्वाचनमा जिल्लाका दुई नगरपालिका रेसुङ्गा र मुसिकोटमा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए ।    एमालेबाट मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपाली काँग्रेसका कृष्णहरि सापकोटालाई एक हजार ८१ मतले पराजित गरेका थिए । सोमनाथले ६ हजार ६६८ मत प्राप्त गर्दा कृष्णहरिले ५ हजार ५८७  प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदबार खुमबहादुर थापाले ७१३ मत ल्याएका थिए ।

तर अहिले त्यहाँका प्रभावशाली युवा नेता श्रीराम महत सहितका सयौं एमाले कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यसले गर्दा आसन्न निर्वाचनमा यो पालिकामा एमालेलाई ठुलो धक्का लाग्न सक्ने देखिन्छ ।

त्यस्तै रेसुुङ्गा नगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भुवन प्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले जम्मा १८७  मतान्तरले पराजित गरेका थिए । भुसालले ६ हजार ४०५ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ६ हजार २१८ मत र माओवादी केन्द्रका उम्मेदवार अशोक थापाले ४४३ मत ल्याएका थिए ।

यो नगरपालिकामा तीन प्रमुख दल एक्ला एक्लै चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि एमालेलाई पराजित गर्न नेकपा एकीकृत समाजवादी मात्रै पनि भारी पर्न सक्ने आँकलन गरिएको छ ।

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका अशोक कुमार थापाले ५ हजार ५६५ मत ल्याएर जित हासिल गरेका थिए । यहाँ एमालेका कृष्ण भुसालले ४ हजार ७५० मत ल्याएका थिए । एमाले विभाजन भइसकेका कारण अहिले यो पालिकामा आफू एक्लै लडे पनि सहजै जित्ने काँग्रेसको आँकलन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप