शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोलीभित्र शीतयुद्ध !

नेपाली क्रिकेट नै धरापमा पर्ने चिन्ता
सोमबार, १४ चैत २०७८, ०९ : १९
सोमबार, १४ चैत २०७८

शीतयुद्ध अर्थात्, औपचारिक घोषणा बिनाको द्वन्द्व । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनि पछिल्लो समय सोही प्रकारको द्वन्द्वले ठाउँ ओगटेको छ । खेलाडीहरुबीचको द्वन्द्व बाहिर देखिँदैन तर टिम भित्रको वातावरण भने राम्रो छैन ।

एक दशक नेपाली टोलीको कप्तानी सम्हालेका पारसले सन् २०१९ अक्टोबर १५ मा नेपाली टोलीको कप्तानबाट राजीनामा दिए । पारसले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनबाट फुकुवा भएर नयाँ कार्यसमिति आएको भोलिपल्ट नै राजीनामा दिएका थिए । क्यानको नयाँ नेतृत्व आएको दिन नै राजीनामा दिँदा प्रष्ट देखिन्थ्यो कि पारस नयाँ नेतृत्व प्रति खुसी थिएनन् । 

पारसले कप्तानी छोडेपछि नेपाली टोलीको नयाँ कप्तानको जिम्मेवारी कसलाई दिने भन्ने चर्चा चल्यो । पहिलो रोजाइमा थिए ज्ञानेन्द्र मल्ल, उनले पारस कप्तान भएको समयमा उप–कप्तानको भूमिकामा १० वर्ष क्रिकेटमा बिताएका थिए । क्यानले २०७६ कार्तिक १३ गते ज्ञानेन्द्र मल्ललाई नयाँ कप्तानको जिम्मेवारी दियो । ज्ञानेन्द्रको ज्ञानेन्द्रले कप्तानी सम्हालेको समयमा पारस खड्काले गत साउन १९ गते पारसले नेपाली क्रिकेटबाट सन्यासको घोषणा गरे ।

ज्ञानेन्द्र कप्तान भएको समयमा चर्चामा अर्का खेलाडी थिए, सन्दीप लामिछाने । सन्दीपले ज्ञानेन्द्रको कप्तानीमा धेरै खेल खेल्न पाएनन् । तर, जति खेल उनले खेल उसैमा रमाए । सन्दीपले जति पारसको कप्तानीमा साथ र सहयोग पाएका थिए त्यति ज्ञानेन्द्रको कप्तानीमा पाएनन् । अन्य खेलाडीलाई ज्ञानेन्द्र मल्लले गर्ने व्यवहार र सन्दीपलाई गर्ने व्यवहार बेग्लै थियो । यद्यपि यो व्यवहार मैदानमा कसैले देख्दैन । देखोस् पनि कसरी उनीहरूको मित्रतापछिको रिस पर्दामा कहिले अटाएन ।

ज्ञानेन्द्रले आफ्नो कप्तानीमा केही नयाँ पन ल्याउने विषय चलेको समयमा नै नेपाली क्रिकेटमा नयाँ विवाद आयो । खेलाडीहरूको वर्गीकरणको विषयलाई लिएर मिडियामा बोल्दा क्यानले स्पष्टीकरण सोध्यो । दुई पटक सोधेको स्पष्टीकरण चित्त नबुझ्दो आएको भन्दै क्यानले कप्तान मल्ल सहित चार खेलाडीलाई कारबाही गर्‍यो ।

उक्त कारबाहीको भागीदार बनेका ज्ञानेन्द्र मल्लले कप्तानको जिम्मेवारी छोड्नु पर्‍यो । ज्ञानेन्द्रसँगै उप–कप्तान दीपेन्द्र सिंह ऐरी पदमुक्त भए । त्यसपछि नेपाली क्रिकेटको बागडोर सम्हाल्ने जिम्मेवारी सन्दीपले पाए । गत मङ्सिर २९ गते क्यानले सन्दीपलाई नयाँ कप्तानको रूपमा जिम्मेवारी दियो ।

नेपाली टोलीको १०औँ कप्तानको रूपमा आएका सन्दीपको अगाडि धेरै चुनौतीहरू थिए । त्यसमा पनि जिम्मेवारीबाट हटेका खेलाडीहरूलाई कसरीसँगै लैजाने भन्ने उनीसँग ठूलो चुनौती थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा पाएका केही भोगाइहरू सन्दीप आफ्नो कप्तानीमा चखाउन चाहन्थे । त्यसमा सन्दीप सफल पनि भए । 

सन्दीपका लागि कप्तानको रूपमा पहिलो परीक्षा भनेको टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट थियो । उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा थियो । तर त्यसको परिणाम नेपाली क्रिकेटले अफलता भोग्नु पर्‍यो । खेलाडीहरूबीच नै मन–मुटाब हुँदा कसरी क्रिकेटले सफलता पाउँथ्यो र ?

यतिबेला घरेलु मैदानमा भइरहेको दुई सिरिजका लागि भने अहिले सन्दीपले सोचे जस्तै टोली छ । मुख्य प्रशिक्षक पुवुदु दशानायकेले टिममा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दै नेपालको दुई टोली घोषणा गरेका छन् । जसमा नयाँ अनुहार समेटिनु राम्रो कुरा पनि हो । तर, पपुवा न्युगिनीसँगको दुबै खेलमा फिल्डिङको अभाव खड्कियो । नेपालले अतिरिक्त रन धेरै खर्चियो । 

ज्ञानेन्द्र उक्त जिम्मेवारीका लागि फिट थिए । तर, उनी टिममा परेनन् । अहिले राष्ट्रिय टोलीमा भएका केही खेलाडी ज्ञानेन्द्र मल्ल पक्षका छन् । घरेलु मैदानमा सिरिज चलिरहेको अवस्थामा यो भन्न नसुहाउला तर, अहिले पनि टिममा दुई धार छ । 

दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी क्यानको कारबाहीमा परेका खेलाडी हुन् । उनीहरूले कारबाहीपछि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, उनीहरू खुलेर खेल्न सकेका छैनन् । उनीहरूसँगै सुदूरपश्चिमका खेलाडीहरू धरै ज्ञानेन्द्र मल्लको पक्षमा हिँड्छन् । विनोद भण्डारी पनि उनीहरूसँगै छन् । त्यसैले त सन्दीपले यूएई टुरमा विनोदसँगै हात मिलाउन खोज्दा मिलाउन नमानेको भिडियो अहिले सामाजिक सञ्जालमा छर्लङ्ग छ ।

 सन्दीपले अहिले राष्ट्रिय टोलीमा आफूले सोचे जस्तो टोली पाएका छन् । तर, सबै खेलाडी राम्रो चल्न नसकेको अवस्था छ । यता नेपाली टोलीका मुख्य प्रशिक्षक दशानायकेले पनि खेलाडी छनोटमा कुनै दबाब नआएको बताउँछन् । तर, उनले दाबी गरे जस्तो टिममा देखिँदैन । नेपाली टोली नया पार्न सन्दीपको मुख्य भूमिका छ । जुन पर्दामा देखिँदैन । 

नेपाली टोलीमा भइरहेको राजनीतिको विषयमा भने क्यान चुपचाप छ । किनभने क्यानले खेलाडी छनोट र खेलाडीबीचको राजनीतिको विषयमा बोल्न मिल्दैन । क्यानका एक पदाधिकारीले भने, ‘हामीले खेलाडीबीचको द्वन्द्वको विषयमा बोल्न मिल्दैन । त्यो तपाईंहरूले देख्ने विषय हो । खेलाडीको कुनै पनि विषयमा हामीले बोल्दैनौँ र हस्तक्षेप पनि गर्दैनौ ।’ तर एउटा कुरा स्पष्ट छ, खेलाडी–खेलाडीबीचको शीतयुद्ध जबसम्म अन्त्य हुँदैन तबसम्म नेपाली क्रिकेटले राम्रो गति लिन पाउँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप