मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

फेरि राजनीतिमा सक्रिय हुने मुडमा भुवन केसी, कुन पार्टी रोज्लान् ?

सोमबार, १४ चैत २०७८, २२ : ४८
सोमबार, १४ चैत २०७८

२०७० सालको संविधानसभा निर्वाचनपछि नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो । सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवार बनाउने निर्णय पनि गरेको थियो । पार्टीभित्र उनलाई टिकट दिएको विषयमा चर्को आलोचना भएपछि २४ घण्टा नबित्दै उनको टिकट खोसेर विद्या न्यौपानेलाई टिकट दिएको थियो ।  

त्यसपछि असन्तुष्ट बनेका उनी राजनीतिमा खासै सक्रिय छैनन् । तर उनी एमालेमै आबद्ध रहेको बताइन्छ । त्यतिबेलै  केसीले पत्रकार सम्मेलन गर्दै आफूले टिकट नपाए पनि एमालेमै रहने बताएका थिए । त्यतिबेला केसीले आफू सभासद नभएकोमा सिंगो चलचित्र क्षेत्र नै निराश बनेको जिकिर गरेका थिए । 

त्यसयता एमालेमा खासै सक्रिय नभएका केसी चुनावको मुखमा फेरि राजनीतिमा सक्रिय हुन लागेका छन् । हालसम्म एमाले परित्याग नगरेको भएपनि उनी अन्य दलसँग समेत छलफलमा रहेको खुलेको छ । केसीले रातोपाटीसँगको कुराकानीमा पनि राजनीतिमा सक्रिय हुन चाहेको खुलाए । तर, कुन पार्टीमा सक्रिय हुने भन्नेबारे चाहिँ अहिले नै निर्णय लिइ नसकेको जिकिर गरे । राप्रपाका नेताहरुले केसीलाई राप्रपामा प्रवेश गराउनका लागि छलफलहरु भइरहेका छन् । तर, छलफल सकारात्मक ढंगले अघि बढिरहेको पनि नेताहरुको जिकिर छ । 

स्वयम् केसीले चाहिँ अहिलेसम्म ठोस निर्णय भइनसकेको बताए । ‘राजनीतिक दलहरूसँग भेटघाट हुन्छ, पार्टीमा आउन भनेपछि स्वभाविक रुपमा कुराकानी हुन्छ । पार्टी प्रवेश गरेँ भने म औपचारिक रुपमै प्रेस मिट गर्छु । अहिले नै यो कुरा भएको होइन’, केसीले रातोपाटीसँग भने । 

यस विषयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भुवन केसीजस्ता ख्याति कमाएका मानिसहरु पार्टीमा आए भने राम्रो हुने बताउँदै पार्टीमा प्रवेश गराउनेबारे छलफल गर्न सकिने बताए ।  विभिन्न क्षेत्रका व्यक्तित्वहरु पार्टी प्रवेश गराउन छलफल चलिरहेको उनको भनाइ छ । ‘हामीले समाजका विभिन्न व्यक्तित्वहरुसँग, विभिन्न क्षेत्रमा ख्याति कमाएका मान्छेहरूसँग कुराकानीहरू गरिराखेका छौँ’, उनले भने,  ‘यसअनुसार कति जोडिनुभएको छ भने कतिपय जोडिने क्रममा हुनुहुन्छ । यो त्यो भन्ने कुरा त भएन ।’ 

उनले मालेका नेता सीपी मैनालीसँग पनि चुनावी तालमेल वा सहकार्य गरेर जानेबारे छलफल भइरहेको बताए ।  भुवन केसी राप्रपा प्रवेश गर्ने चर्चाका बीच एमालेले समेत उनलाई पार्टीमा सक्रिय गराउन खोजेको छ । त्यसका लागि केही नेताहरु प्रयासरत रहेको बताइन्छ । यस्तो अवस्थामा भुवन राजनीतिमै सक्रिय रहने मुडमा रहेकाले कस्तो निर्णय लिनेछन् त्यो भने हेर्न बाँकी नै छ । 

केही दिनअघि अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी थिइन् । यसअघि नै कलाकार कोमल वली एमालेमा सक्रिय छिन् भने नायिका रेखा थापा राप्रपा मै सक्रिय छिन् । अन्य केही कलाकार पनि कलाकारितासँगै पार्टी राजनीतिमा आबद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप