आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्को निर्णयले प्रहरीमा असन्तुष्टि, ओलीले गरे १७ बुँदे सर्कुलर

बिहीबार, १७ चैत २०७८, २० : ५१
बिहीबार, १७ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ। 

१. एआईजी बढुवा विवादमा

सरकारले तीन डीआईजीलाई एआईजीमा बढुवा गरेको विषयमा असन्तुष्टि देखिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बसेको बैठकले ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि दाबेदार ३ जना डीआईजी असन्तुष्ट बनेका हुन् ।

​एआईजीमा बढुवा भएका ३ जना अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउँदै गर्दा सर्वोच्चमा सो निर्णय बिरुद्ध रिट दर्ता भएको छ । आईजीपी क्षेत्रीकै ब्याचमेट ईश्वरबाबु कार्कीले वारेस केशव पौडेलमार्फत ल्याएको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले रातोपाटीलाई बताए ।

अरु दुईजना डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीले ल्याएको रिट निवेदन अध्ययन भइरहेको प्रवक्ता पौडेलले बताए । बिहिबार मन्त्रिपरिषद्ले धीरज प्रताप सिंह, बसन्त कुमार पन्त र रविन्द्र बहादुर धानुकलाई  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

​२. गठबन्धन बैठकको निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ । बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ । त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका कार्कीले भने ।  तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।

​३. लयतिर फिल्म क्षेत्र

कोरोनाको कारण चीर निद्रामा रहेको चलचित्र क्षेत्र बिस्तारै पुरानो लयमा फर्किरहेको छ । फिल्म निर्माण,प्रदर्शन,छायांकन,प्रचारप्रसार लगायतका गतिविधि धमाधम हुन थालेका छन् । अहिलेको सरगर्मी हेर्दा लाग्छ,फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किन अब समय लाग्ने छैन । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि फिल्म क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने अवस्थामा रहेको बताउँछन् ।

​४. विप्लवको टिप्पणी

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

​५. ओलीको १७ बुँदे सर्कुलर

नेकपा एमालेले आर्थिक कोष व्यवस्थापन अन्तर्गत फाइभ थाउजेण्ड बाई फाइभ थाउजेण्ड अभियान कार्यान्वयनमा ल्याउने भएको छ । जसअनुसार एमालेका उच्च आय भएका ५ हजार सदस्यले कार्यकालभरी नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले रकम जम्मा गर्नुपर्नेछ ।

साथै पार्टीका नाममा रहेका बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधीनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील गराएको एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केही दिन पहिला जारी गरेको १७ बुँदे सर्कुलरमा निष्क्रिय केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ को व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरेको उल्लेख छ ।

६. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४९५१ जनामा गरिएको नमूना परीक्षणमा २५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने यसअवधिमा कसैको मृत्यु भएन । मन्त्रालयका अनुसार अहिले देशभर १०८१ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ६०२६० जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिले निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ ।

​७. सेयर बजार

साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३  दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दशमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७  हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६  रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर बजार ४० अंकले बढेर बन्द भएको थियो भने दुई अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

​८. नेपाल फाइनलमा

नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु मैदानमा चलिरहेको त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ ।  बिहीबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण  विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो ।  पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे ।

​९. महाभियोगको पक्षमा एमाले निकट कानुन व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले औपचारिक आन्दोलनको घोषणा गरी  राजीनामाको माग गर्दा सुरुवाती चरणमा सँगसँगै रहेको एमाले निकट कानून व्यवसायीहरुको संगठन पिपिएलए साथमै थियो । तर बिस्तारै एमाले निकटका कानून व्यवसायीहरु उक्त आन्दोलनबाट बाहिर निस्कन थाले र पछिल्लो समय माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र केही काँग्रेस निकट कानून व्यवसायी मात्रै उक्त आन्दोलनमा देखिए ।

पछि न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको बेञ्च बहिष्कार गर्नेदेखि उनले तोकेको पेसी सूची नहेर्ने निर्णय लिएसँगै लामो समय सर्वोच्च अदालतमा सुनुवाई प्रभावित भयो । पछि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन सुरु भएसँगै अदालत नियमित काममा त फर्कियो तथापि प्रधानन्यायाधीशले गर्ने अन्य प्रशासनिक काममा पनि अवरोध सिर्जना भएपछि प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव ल्याइयो ।

बारको अगामी निर्वाचनको सन्दर्भमा रातोपाटीसँग कुराकानी गर्दै प्रगतिशील समूहबाट अध्यक्षका प्रत्यासी बनेका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले राजनीतिक दलले महाभियोग पारित गर्नुपर्ने भन्दै आफ्नो आस्था रहेको दलले महाभियोगको विपक्षमा मतदान गरे उक्त दलविरुद्ध समेत आवाज उठाउने बताए ।

१०. यो पनि...

उद्योगमा बम प्रहार गर्ने तथा दुई जनाको गोली हानी हत्या गर्ने एक फरार अभियुक्तलाई पर्सा प्रहरीले बिहीवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २१ पटेल नगर बस्ने ४० वर्षीय रविन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए  । 

​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

​निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो ।

​जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले मुलुक अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको बताएका छन् । अध्यक्ष भट्टराईले लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न नसकेको समेत बताए ।

रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले भने, ‘अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’

​प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस गठबन्धनको विपक्षमा नरहेको प्रस्ट पारेका छन् । बिहीबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको केन्द्रीय समिति बैठकले नै गठबन्धन कायम राख्ने निर्णय गरेको भन्दै काँग्रेस गठबन्धनको पक्षमा रहेकोमा दुइमत नरहेको बताएका हुन् ।  

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप