सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर एयरपोर्टको जग्गाको १६ अर्ब मुआब्जा राज्यले दिन सक्दैन : प्रेम आले

शुक्रबार, १८ चैत २०७८, १६ : ३२
शुक्रबार, १८ चैत २०७८

टेण्डर प्रक्रियामा गइसकेको विराटनगर विमानस्थल निर्माण तत्काल नहुने देखिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जग्गा अधिग्रहण गर्दा लाग्ने १६ अर्ब रुपैयाँ दिने सामर्थ्य सरकारसँग तत्काल नभएको बताएपछि यो प्रक्रिया रोकिने देखिएको हो । 

विराटनगरमा आजदेखि सुरु भएको ‘विराट ट्रेड एक्स्पो’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै आलेले यस्तो बताएका हुन् । उनले राज्यले १६ अर्ब रुपैयाँ दिएर जग्गा किन्न नसक्ने बताए । ‘१६ अर्ब राज्यले दिनसक्ने सामर्थ्य अहिले छैन । १६ अर्ब दिएर जग्गा किन्न पनि सकिँदैन,’ आलेले भने, ‘तपाईंहरुले जग्गाको व्यवस्थापन मिलाउनुहोस् । वैदेशिक लगानी भित्र्याएर होस् वा जुनसुकै मोडलमा भए पनि बजेटको व्यवस्थापन गरेर विमानस्थल बनाउनु पर्छ ।’

सोही कार्यक्रममा बोल्ने वक्ताहरूले विराटनगर विमानस्थल अन्तराष्ट्रियस्तरको बनाउनु पर्ने भन्दै मन्त्रीलाई दबाब दिएका थिए । विराटनगर महानगरपालिकामा प्रमुख भीम पराजुलीले मन्त्री आलेकै पालामा विमानस्थल निर्माणको ठेक्का आव्हान भइसकेको र पछि रद्ध  हुँदा आफू दुःखी भएको बताएका थिए । 

त्यसको प्रतिउत्तर दिँदै आलेले तीन अर्बको टेण्डर रद्ध हुनुमा आर्थिक स्रोतको सुनिश्चित नहुनु प्रमुख कारण भएको बताए । ‘बजेट छ ३० करोड टेण्डर खोलेको छ ३ अर्बको । अर्थमन्त्रालयले बजेटको सुनिश्चितता नगरेसम्म टेण्डर मैले रोकेको हुँ,’ आलेले भने, ‘अहिलेसम्म बजेटको सुनिश्चितता भएको छैन । जेठ १५ को नजिक छौं । अबको नयाँ बजेट अगावै विराटनगर महानगरपालिकाका लगायत सबै डेलिगेसन लिएर आउनुहोस् बजेटको सुनिश्चित भएको १ मिनेटमै टेण्डर खोलिन्छ । बजेटको सुनिश्चितता भएन भने टेण्डर खोलेर मात्रै केही हुँदैन ।’

आलेले आगामि बुद्ध पूर्णिमाको दिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उद्घाटन गर्ने, पोखरा अन्तराष्ट्रिय विमानस्थल ५ महिना भित्रमा उद्घाटन गरिने जानकारी दिए । ती विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुने उनको भनाइ थियो । 
‘हाम्रो किस्ती डुबेको छ’
बन्दुकबाट निस्केको गोली र प्रेम आलेको मुखबाट निस्किएको बोली फरक खाँदैन भन्दै भाषण गरेका आलेले आफूले सम्हालेको जिम्मेवारीमा जिब्रोबाट र्याल नचुहाउने गरी काम गरिरहेको बताए । 

‘मठमन्दिर वा नारायणहिटी दरबार संग्रहालयमा विगतको सरकारले कौडिको भाउमा कब्जा गर्न दिने काम गरिरहेको थियो । त्यसलाई मैले फिर्ता ल्याउँछु । तीन करोड जनताको शिर ठाडो हुने गरी म काम गरिरहेको छु,’ उनले भने ।  

आलेले नेकपा माओवादी र नेकपा एमाले मिलेर पार्टी एक भएको स्मरण गर्दै अहिले आफ्नो किस्ती डुबेको बताए । ‘हामीले त्यसबेला करिब ७० प्रतिशत बढी जितेका थियौं । अहिले त्यो पार्टी तीन टुक्रा भएको छ । सिसा जस्तो चिराचिरा फुटेको छ । यो कसको कारणले भयो भन्ने कुरा जनताले बुझेकै छन् । अब आउने वैशाख ३० गतेको निर्वाचनमा त्यसको हिसाव किताब हुने नै छ,’ आलेले भने, ‘सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको नेतृत्वकै हो । उहाँले सबैलाई मिलाउन सक्नुपथ्र्यो । उहाँले मिलाउन सक्नुभएन । त्यही सन्दर्भमा एउटा डायलोग सम्झन चाहन्छु, हमे तो अपनो ने लुटा, गैरोमे कहाँ था दम, मेरी किस्ती थि डुबी जहाँ पानी था कम, हाम्रो किस्ती डुबेको अवस्था छ ।’

उनले कांग्रेसले गठबन्धनसँगै चुनावमा जाने निर्णय गरिसकेको बताउँदै त्यही आधारमा निर्वाचनमा जाने र त्यसले महत्वपूर्ण फैसला गर्ने पनि बताए । 

कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आगामी वैशाख ३० गते जनताले जनप्रतिनिधिको कामको मूल्यांकन गर्ने बताए । ‘जनताको बीचमा गरेका वाचा समयमै कार्यान्वयन गर्नुपर्दछ,’ यादवले भने, ‘हे पब्लिक हे भाइ सब जान्ती हे ।’

उनले हिमाल, पहाड र तराई मधेशलाई भावनात्मक रुपमा एकताको सूत्रमा बाँध्नका लागि आम नेपाली जनता जात, पात र धर्मभन्दा माथि उठेर राष्ट्रियतालाई काँधमा राखेर अगाडि बढेमात्रै विकास सम्भव हुने बताए । 

कार्यक्रममा बोल्दै विराटनगरका प्रमुख भीम पराजुलीले विचार, राजनीति र क्रान्तिको सहर विराटनगर रहेको तर, आर्थिक समृद्धिको नेतृत्व चाहिं गर्न नसकेको बताउँदै असन्तुष्टि व्यक्त गरे । ‘८÷९ जना प्रधानमन्त्री, त्यतिनै अर्थमन्त्री जन्माएको विराटनगरले आर्थिक समृद्धि पाएन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप