शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गोल्डकपले रङ्गाएको नेपाली फुटबल

​एनएसएलले धरापमा पर्ने चिन्ता
मङ्गलबार, २२ चैत २०७८, १० : ४०
मङ्गलबार, २२ चैत २०७८

फुटबल खेलाडीहरूलाई बाह्रै महिना व्यस्त बनाउन सक्ने नेपाली फुटबलमा माहोल छैन । ६ महिना चल्ने भनेको लिग फुटबल पनि तीन महिनामा सकिन्छ । ए डिभिजन लिगमा आउने खेलाडीबाट मात्र राष्ट्रिय टोलीको छनोट सम्भव छैन । राष्ट्रिय टोलीमा पर्ने खेलाडीहरू प्राय: एकै अनुहार दोहोरिएको हुन्छ । ए डिभिजन लिगका क्लबहरूबाट नयाँ खेलाडी उत्पादनको लक्ष्य हुन्छ ।

तर, पछिल्लो समय मोफसलका गोल्डकपहरूले शीर्ष डिभिजन लिग टोली र राष्ट्रिय टोलीका लागि पनि खेलाडी उत्पादनको एक माध्यम बनिरहेका छन् । मोफसलमा चलेर राष्ट्रिय टोलीसम्म यात्रा तय गर्ने सोच बनाएका खेलाडीहरूका लागि गोल्डकप एउटा मुख्य विन्दु बनेको छ । यता ए डिभिजन लिगमा मात्र व्यस्त भएका खेलाडीहरू पनि मोफसलका प्रतियोगिताहरूमा रमाउँदैछन् । 

यतिबेला मोफसलका प्रतियोगिताहरूले नेपाली फुटबल नै चलायमान बनाएका छन् । बुढासुब्बा गोल्डकप, विराट गोल्डकप, आहा रारा गोल्डकप, खप्तड गोल्डकप, सिमरा गोल्डकप, झापा गोल्डकप लगायतका गोल्डकपहरूले नेपाली फुटबलको शोभा बढाउने काम गरेका छन् । उनीहरूले नेपाली खेलाडीहरूको खालि समय र आर्थिक अवस्थामा पनि सुधार गरेका छन् । अर्कोतर्फ मोफसलका टोलीहरू र त्यहाँबाट खेल्ने खेलाडीहरूको जीवनस्तरमा पनि सुधार ल्याइरहेको छ । 

त्यसमध्यको एक गोल्डकप सुदूरपश्चिम गोल्डकप । नेपालको सर्वाधिक धनराशिको गोल्डकप हो । २०७३ सातमा सञ्चालन भएको गोल्डकपले अहिले ठुलो उचाइ लिएको छ । राष्ट्रिय स्तरमा सुदूरपश्चिमका खेलाडीहरू पुगाउने उद्देश्यले सञ्चालन भएको गोल्डकप अहिले एकेडेमी खेल्ने योजनामा छ । 

सुदूरपश्चिम–११ स्पोर्टस क्लबले सञ्चालन गर्ने प्रतियोगिता नकआउटका आधारमा खेलाइने गरिन्छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्दा । उप–विजेता टोलीले १० लाख नगद प्राप्त गर्छ । 

‘राष्ट्रिय स्तरमा सुदूरपश्चिमको प्रतिनिधित्व होस् भनेर हामीले गोल्डकपको सञ्चालन गरेका थियौँ । अहिले एकेडेमी सञ्चालन गर्नेसम्म पुगेका छौँ । नेपाली फुटबल र सुदूरपश्चिम फुटबलको विकासका लागि खोलेका हौँ । हामी त्यो उद्देश्यलाई सफल बनाउने छौँ,’ सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्षले रातोपाटीसँगको कुराकानीमा भने । 

त्यस्तै नेपाली फुटबलमा चर्चामा रहेको गोल्डकप हो । आहा रारा गोल्डकप । सहारा क्लबले सञ्चालन गर्ने आहा रारा गोल्डकपको इतिहास लामो छ । २०५९ मा पहिलो संस्करण सुरु गरेको गोल्डकप हाल नेपाली फुटबलको सबैभन्दा प्रतिष्ठित नकआउट प्रतियोगिताको रूपमा रहेको छ । आहा–रारा गोल्डकपको २०औं संस्करण गत फाल्गुनमा सम्पन्न भयो । नेपाली फुटबलमा २० वर्षसम्म लगातार भइरहेको प्रतियोगिताले नेपाली फुटबलको विकासमा पक्कै योगदान गरेका छ । यसले खेलाडीको विकासमा पनि सहयोग गरिरहेको छ । 

सहारा क्लबको अध्यक्ष हरिराम गुरुङ (सुरज)ले नेपाली फुटबल आफूहरूको एक योगदान गर्न खोजेको र यस प्रतियोगितालाई दक्षिण एसियाकै ठुलो प्रतियोगिता गर्ने योजना रहेको अध्यक्ष गुरुङ बताउँछन् । नेपाली फुटबल सुनसान भएको अवस्थामा आफूहरूले गोल्डकपको स्थापना गर्दै फुटबलमा केही योगदान दिएको महसुस भएको बताए ।

‘नेपाली फुटबल सुनसान भएको अवस्थामा हामीले गोल्डकप आयोजना गरेर केही सहयोग गरेका हौँ । अहिले एकेडेमी पनि सञ्चालन गरेका छौँ । यो एकेडेमीले पनि खेलाडी उत्पादनमा सहयोग पुगाउने छ । गोल्डकपलाई हामी दक्षिण एसियाकै ठुलो गोल्डकप बनाउने योजनामा छौँ,’ हरिरामले रातोपाटीसँगको कुराकानीमा भने । सहारा क्लबको च्याम्पियन टोलीले दश लाख एक हजार रुपैयाँ पाउँछ । त्यसको उप–विजेता टोलीले पाँच हजार पाउँछ । 

गोल्डकपहरूले खेलाडी र टिम दुबैलाई सहयोग पुगेको छ : आर्मी कप्तान भरत खवास 

मोफसलका प्रतियोगिताको बलियो टोलीको रूपमा रहेको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब । भर्खरै मात्र झापामा सम्पन्न भएको पाँचौँ झापा गोल्डकपको विजेता टोली हो त्रिभुवन आर्मी क्लब । 

आर्मीले आयोजक झापा–११ लाई हराउँदै उपाधि उचाल्यो । ए डिभिजन लिगमा दोस्रो भएको आर्मीका लागि झापा गोल्डकप खुसीको क्षण थियो । आर्मीले सिजनको पहिलो मोफसलको प्रतियोगिता जितेको थियो । 

‘गोल्डकपहरूले नेपाली फुटबल र खेलाडीलाई धेरै सहयोग गरेको छ । फुटबललाई चलायमान बनाउन, टिमको तयारी तथा प्रदर्शनमा सुधार ल्याउन धेरै सहयोग पुगाएको छ,’ खवासले रातोपाटीसँगको कुराकानीमा भने । 

गोल्डकपले नेपाली फुटबललाई ठुलो योगदान दिएको छ : एन्फा अध्यक्ष शेर्पा 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले मोफसलमा आयोजना हुने गोल्डकपले घरेलु फुटबलमा ठुलो योगदान पुर्‍याएको बताएका छन् । उनले गोल्डकपबाट नै धेरै खेलाडीहरूको आर्थिक जीवनमा सहज भएको बताए । त्यस्तै नयाँ खेलाडी उत्पादन देखि टिम तयार पार्न र फुटबललाई चलायमान बनाउन सहज बनाएको शेर्पाको भनाइ छ । 

‘गोल्डकपहरूले नेपाली फुटबलमा ठुलो योगदान दिएका छन् । नेपाली फुटबलमा नयाँ प्रतिभा उजागरका लागि पनि गोल्डकप आवश्यक छ । साथै स्थानीय स्तरमा फुटबल विकासका लागि पनि गोल्डकप निकै महत्त्वपूर्ण छ । गोल्डकपले खेलाडीको आर्थिक पाटोलाई पनि सहयोग पुग्छ,’ शेर्पाले रातोपाटीसँगको कुराकानीमा भने । 

शेर्पाले मोफसलका गोल्डकपहरूलाई एक क्यालेन्डर बनाएर राम्रो तरिकाले सञ्चालन गर्न सकेमा यसको शोभा अझै बढ्ने बताएका छन् । उनले ए डिभिजन लिगका क्लब र अन्तर्राष्ट्रिय क्लबहरूको सहभागिता बढाउन सके झनै राम्रो हुने बताए । 

नेपाल सुपर लिग (एनएसएल)ले गोल्डकप धरापमा पर्ने चिन्ता

नेपाल सुपर लिग (एनएसएल) नेपाली फुटबलमा ठुलो उद्देश्य बोकेर आएको प्रतियोगिता हो । एनएसएल अहिले तीन महिना चल्ने योजनामा छ । नेपालको घरेलु लिग ए डिभिजन लिग ६ महिना चल्ने बाटोमा छ । यसरी नौ महिना राष्ट्रिय स्तरको लिग चल्दा गोल्डकपहरूका लागि एक डिभिजन लिगका क्लब र खेलाडीहरूले समय दिन नसक्ने आँकलन गरिएको छ । 

लिगमा सञ्चालनमा बाँकी रहेको समय राष्ट्रिय टोलीका लागि रहनेछ । यसरी हेर्दा दुई राष्ट्रिय स्तरका लिगहरूले बाह्रै महिना फुटबललाई ओगट्ने देखिन्छ । गोल्डकपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बेग्लै नियम नबनाएसम्म यसको अस्तित्व धरापमा पर्ने देखिन्छ । 

एनएसएल आउनुपूर्व भने नेपाली फुटबलमा ए डिभिजन लिग र मोफसलका गोल्डकप मात्र सञ्चालनमा हुन्थे । खेलाडीहरूले केही समय राष्ट्रिय लिगमा बिताउँथे बाँकी समय मोफसलका गोल्डकपहरूमा । घरेलु फुटबल चलायमान भएको अवस्थामा एनएसएलले मात्र तीन महिना ओगट्दा गोल्डकप धरापमा पर्ने चिन्ता आयोजकहरूको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप