बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा एमाले भर्सेस गठबन्धन : कुन पालिकामा को हाबी ?

गठबन्धनभित्र पनि भद्रगोल
बुधबार, २३ चैत २०७८, ०८ : ३९
बुधबार, २३ चैत २०७८

स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । दलहरुबीच चुनावी तालमेलको गृहकार्य पनि भइरहेको छ । अहिलेसम्मको अवस्थामा सत्तारुढ गठबन्धन र एमालेबीच निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ ।

रुपन्देहीमा पनि नेकपा एमाले एक्लिएको अवस्था छ । सत्तारुढ गठबन्धनले यहाँ पनि साझा उम्मेदवारीको तयारी गरेका छन् भने एमालेले कोसँग चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भइसकेको छैन । विगतमा एमालेको बाहुल्यता रहेको यो जिल्लामा एमालेलाई पराजित गर्ने रणनीतिसहित सत्तारुढ गठबन्धन घटकले पालिका तहसम्म संयन्त्र बनाउँदै छन् । यद्यपि कुन पालिकामा कुन पद कुन दललाई दिने भन्नेबारे टुङ्गो लगाउन सत्तारुढ गठबन्धनलाई सहज छैन । अघिल्लो निर्वाचनको मतलाई आधार मानेर नेपाली काँग्रेस, जसपा नेपाल र माओवादी केन्द्रले विभिन्न स्थानीय तहमा दाबी गरिरहेका छन् भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि आफ्नो दाबी छाडेका छैनन् ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् । यद्यपि, पालिका प्रमुखमा गठबन्धन घटककै बीचमा हानथाप पनि भइरहेको छ ।

नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जिल्लामा मतभारको आधार नै पहिलो बन्ने बताउँदै अहिले कुन पालिका कसलाई भन्ने निर्णय नभएको बताए ।

जसपा नेपालका लुम्बिनी प्रदेशका मुख्यसचिव यज्ञ पोखरेलले जसपाले विगतमा १ नगरपालिकासहित ४ गाउँपालिका जितेको र नयाँ अवस्थामा ४ वटा स्थानीय तहमा पनि पार्टीको अवस्था सुधार भएको भन्दै ती ठाउँमा आफ्नो पार्टीले दाबी गर्ने बताए ।

पोखरेलका अनुसार अघिल्लो निर्वाचनमा जसपा नेपालले लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा जित हासिल गरेका कारण यस पटक पनि स्वाभाविक रूपमा जसपा नेपालकै दाबी रहन्छ । यसअतिरिक्त रोहणी गाउँपालिका, मर्चवारी, कोटहिमाई, गैडहवामा पनि आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका कामले गर्दा संगठन मजबुत भएको उनको भनाइ छ । ओमसतिया गाउँपालिकामा अघिल्लो चुनावमा आफ्नो पार्टीले १४० मतको अन्तरले पराजय झेलेको स्मरण गर्दै उनले त्यहाँ माओवादीबाट निर्वाचित पालिका अध्यक्ष अहिले एमालेमा प्रवेश गरेकाले सत्तारुढ गठबन्धनभित्र आफ्नो पार्टीभन्दा  बलियो अर्को पार्टी नरहेको जिकिर गरे ।

यद्यपि, ओमसतियामा माओवादी केन्द्रको पनि दाबी छ । गठबन्धन घटकभित्रका जसपा नेपाल र माओवादी केन्द्र दुवैले यो पालिकाको प्रमुख पदमा दाबी गरेका छन् । जसपाले जिल्लाका कम्तीमा ८  स्थानीय तहको प्रमुखमा  दाबी गर्ने योजना बनाएको छ । जसपाले दाबी गरेका ठाउँमा नेपाली काँग्रेसले पनि दाबी गरेको छ । माओवादी  केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसी पनि जिल्लाका कम्तिमा ८ पालिकामा माओवादी केन्द्रले दाबी गर्ने तयारी गरेको छ ।

गठबन्धन दलभित्र बुटवल उपमहानगर, देवदह र सिद्धार्थनगर नगरपालिकाको नेतृत्व टुङ्ग्याउन सकस पर्ने देखिन्छ । काँग्रेसले देवदह नगरपालिकामा अघिल्लो चुनावमै जित हासिल गरेको तथा बुटवल उपमहानगरका अतिरिक्त तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिकामा पार्टीको संगठन बलियो भएको जिकिर गर्दै पालिका प्रमुखमा दाबी गरेको छ । ती पालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेका छन् ।

बुटवल उपमहागनरपालिका

बुटवल उपमहानगरमा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । यद्यपि नेकपा एमालेले काँग्रेस–माओवादी गठबन्धनलाई पराजित गरिदिएको थियो । अहिले यहाँ सत्तारुढ गठबन्धनभित्रबाट प्रमुख दाबेदार भनेकै नेपाली काँग्रेस हो ।

तर यही उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादीका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले आफ्नो संगठन यहाँ निर्णायक शक्ति भएको दाबी गर्दै आफ्नो पार्टीबाट उम्मेदवारी दिएको अवस्थामा एमालेको मत धेरै काट्ने दाबी गरे ।

उनले बुटवल उपमहानगरपालिकामा आफ्नो पार्टीको १२ देखि १५ हजार मत रहेको जिकिर गरे । वडा नम्बर १, २, ३, १८ र १९ मा संगठनका हिसाबले राम्रो रहेको भन्दै उनले आफ्नो पार्टीलाई मेयर दिइए जिल्ला अन्य पालिकामा गठबन्धनलाई सघाउन तयार रहेको बताए ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल क्षेत्रीले पनि बुटवलमा आफूहरूको दाबी रहेको बताए । उनले विगतमा आफूहरूले नेपाली काँग्रेसलाई नै मेयरमा सघाएकाले पनि अहिले आफूहरूले मेयर पाउनुपर्ने दाबी गरे ।

सिद्धार्थनगर नगरपालिका

स्थानीय तहको अघिल्लो निर्वाचनमा सिद्धार्थनगर नगरपालिकामा एमालेले जितेको थियो । अहिले सत्तारुढ गठबन्धनभित्र यो पालिकाको मेयरमा तीन दलको दाबी देखिन्छ । एमालेबाट उपमेयर बनेकी उमा काफ्ले अहिले नेकपा एकीकृत समाजवादीतिर लागेकी छन् । उनलाई यहाँ मेयरको उम्मेदवार बनाउन नेकपा एकीकृत समाजवादीले गठबन्धनसँग माग गर्ने तयारी गरेको छ । यस्तै जसपा नेपालले पनि आफ्नो संगठन बलियो भएकोले मेयरमा दाबी गर्ने जनाएको छ । यहाँ नेपाली काँग्रेसको पनि राम्रै पकड रहेकाले उसले पनि स्वाभाविक रूपमा मेयरका लागि दाबी गर्दै आएको छ ।

देवदह नगरपालिका

अघिल्लो निर्वाचनमा देवदह नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा एमालेले  जित हासिल गरेका थिए । यहाँ अहिले पनि मेयरमा स्वाभाविक रूपमा नेपाली काँग्रेसले दाबी गरिरहेको छ । सत्तारुढ गठबन्धनभित्रबाटै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि यहाँ मेयरमा दाबी गरिरहेका छन् । यो पालिकामा माओवादीको संगठन मजबुत रहेको भन्दै सो पार्टीका जिल्ला अध्यक्ष निर्मल जिसीले मेयर पदमा स्वाभाविक रूपमा दाबी रहने बताए ।

तिलोत्तमा नगरपालिका

यो नगरमा पनि अघिल्लो निर्वाचनमा मेयर पद एमालेले जितेको थियो । अहिले गठबन्धनका तर्फबाट यहाँ नेपाली काँग्रेस प्रमुख दाबेदार छ । विगतमा निकटतम प्रतिस्पर्धी बनेको नेपाली काँग्रेसले अहिले जनमत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ । यो पालिकाको मेयरमा नेकपा माओवादी केन्द्रको पनि दाबी छ ।

सैनामैना नगरपालिका

यो नगरपालिका पनि सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली काँग्रेस नै प्रमुख दाबेदार छ भने माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीले पनि मेयरमा दाबी गर्न थालेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिकामा जसपा नेपालको पकड बलियो छ । यो नगरपालिकाको मेयर जसपा नेपालकै भएकाले पनि उसले आसन्न निर्वाचनमा पनि पालिका प्रमुखमै स्वाभाविक रूपमा दाबी गरेको छ । अघिल्लो निर्वाचनको जनमतलाई आधार मानेर यहाँ सत्तारुढ गठबन्धनभित्रका अन्य दलले पनि जसपा नेपाललाई नै मेयर दिएर अन्य पदका लागि भागबण्डाको तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप