आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

२०२९ सालदेखि लगातार वडाध्यक्ष, फेरि चुनाव लड्ने तयारी

८१ वर्षीय व्यञ्जनकार भन्छन्, ‘भीड जम्मा गर्नेले होइन, काम गर्नेले जित्छ’
बुधबार, २३ चैत २०७८, १७ : ५१
बुधबार, २३ चैत २०७८

ललितपुर महानगरपालिका वार्ड नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार ८१ वर्षका भए । आउँदो स्थानीय निर्वाचनमा उनी फेरि वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । ‘यो उमेरमा पनि फेरि चुनाव ?,’ रातोपाटीको प्रश्नमा व्यञ्जनकारले भने, ‘मैले शुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’

‘आधा भन्दा धेरै काम सम्पन्न भैसकेका छन् । तर समय अभावका कारणले विकास निर्माणका सबै काम सम्पन्न गर्न सकिएन । मैले जनतालाई देखाएको सपना म आफैं पूरा गर्न चाहन्छु,’ उनले भने । अब चाहिँ आँटेको काम कम्तिमा अझै दुई वर्षभित्रमा सम्पन्न गर्ने उनको योजना छ ।

युवावस्थामा व्यञ्जनकार स–सानो ठेक्कापट्टाको काम गर्थे । सानैदेखि समाजसेवामा रुची भएकाले उनी राजनीतिमा तानिए । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । विसं. २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका  छन् । अहिले पनि वडावासी धेरैले उनलाई अध्यक्षमा आउनुपर्छ भनेर भनेको सुनाउँछन् ।

उनका अनुसार शहरमा सबैभन्दा कठिन काम भनेको ढलको व्यवस्थापन हो । काठमाडौँ र ललितपुर बीचको बागमतीको अवस्था नाजुक छ । यसको सरसफाइ र व्यवस्थापनका लागि काम गरेको ८÷१० वर्ष भैसकेको उनी बताउँछन् । त्यस्तै, आफ्नो वडामा भएका बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन निःशुल्क सीपमुलक तालिमहरूको व्यवस्था गरिएको उनले जानकारी दिए । दुई ठाँउमा तालिम केन्द्र स्थापना भैसकेको र थप अर्को खोल्ने उनको तयारी छ ।

यता वडाका जेष्ठ नागरिकहरूका लागि दिनभर बस्ने आश्रम अन्तिम तयारीमा पुगेको छ । ‘दिनभर छोराछोरी वा बुहारी अफिस जान्छन्, घरमा वृद्ब आमाबुवा हेरेर बस्ने समयको अभाव छ । तिनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गरिएको छ,’ उनले भने ।  त्यहाँ आमाबुवा राखेर अफिस जान सकिने सुविधा नगरपालिकाले बनाउने भएको छ । ‘सबै काम भैसकेको छ, अब शौचालय बनाउन बाँकी छ, त्यसपछि यो सेवा शुरु हुन्छ । साथै, युवाहरुका लागि खेलकुदको विकासमा लगानी गरिएको छ,’ उनले जानकारी दिए ।

स्थानीय निर्वाचन नजिकिँदै छ, फेरि चुनाव जित्ने उनलाई आत्मविश्वास छ । आफूलाई चुनावको प्रचार–प्रसार गर्न आवश्यक नै नभएको उनी बताउँछन् । ‘मलाई भोट देऊ भनेर भोट आउँदैन । भ्रष्टाचार नगरी जनताको लागि काम गरे भोट मागेर हिँड्नुपर्दैन,’ उनले भने, ‘भीड जम्मा गर्नेले होइन, काम गर्नेले निर्वाचन जित्छ । जनताले कसलाई मत दिने पहिले नै निर्क्यौल गरिसकेका हुन्छन् । कार्यकर्ताको भीड देखेर जीत सुनिश्चित रहने जमाना छैन । अबका युवा मतदाताले काम गर्ने प्रतिनिधिलाई जिताउँछन् ।’

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप