शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०२९ सालदेखि लगातार वडाध्यक्ष, फेरि चुनाव लड्ने तयारी

८१ वर्षीय व्यञ्जनकार भन्छन्, ‘भीड जम्मा गर्नेले होइन, काम गर्नेले जित्छ’
बुधबार, २३ चैत २०७८, १७ : ५१
बुधबार, २३ चैत २०७८

ललितपुर महानगरपालिका वार्ड नम्बर १० का अध्यक्ष नरसिंह व्यञ्जनकार ८१ वर्षका भए । आउँदो स्थानीय निर्वाचनमा उनी फेरि वडाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । ‘यो उमेरमा पनि फेरि चुनाव ?,’ रातोपाटीको प्रश्नमा व्यञ्जनकारले भने, ‘मैले शुरु गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’

‘आधा भन्दा धेरै काम सम्पन्न भैसकेका छन् । तर समय अभावका कारणले विकास निर्माणका सबै काम सम्पन्न गर्न सकिएन । मैले जनतालाई देखाएको सपना म आफैं पूरा गर्न चाहन्छु,’ उनले भने । अब चाहिँ आँटेको काम कम्तिमा अझै दुई वर्षभित्रमा सम्पन्न गर्ने उनको योजना छ ।

युवावस्थामा व्यञ्जनकार स–सानो ठेक्कापट्टाको काम गर्थे । सानैदेखि समाजसेवामा रुची भएकाले उनी राजनीतिमा तानिए । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ । विसं. २०२९ सालदेखि उनी लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका  छन् । अहिले पनि वडावासी धेरैले उनलाई अध्यक्षमा आउनुपर्छ भनेर भनेको सुनाउँछन् ।

उनका अनुसार शहरमा सबैभन्दा कठिन काम भनेको ढलको व्यवस्थापन हो । काठमाडौँ र ललितपुर बीचको बागमतीको अवस्था नाजुक छ । यसको सरसफाइ र व्यवस्थापनका लागि काम गरेको ८÷१० वर्ष भैसकेको उनी बताउँछन् । त्यस्तै, आफ्नो वडामा भएका बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउन निःशुल्क सीपमुलक तालिमहरूको व्यवस्था गरिएको उनले जानकारी दिए । दुई ठाँउमा तालिम केन्द्र स्थापना भैसकेको र थप अर्को खोल्ने उनको तयारी छ ।

यता वडाका जेष्ठ नागरिकहरूका लागि दिनभर बस्ने आश्रम अन्तिम तयारीमा पुगेको छ । ‘दिनभर छोराछोरी वा बुहारी अफिस जान्छन्, घरमा वृद्ब आमाबुवा हेरेर बस्ने समयको अभाव छ । तिनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गरिएको छ,’ उनले भने ।  त्यहाँ आमाबुवा राखेर अफिस जान सकिने सुविधा नगरपालिकाले बनाउने भएको छ । ‘सबै काम भैसकेको छ, अब शौचालय बनाउन बाँकी छ, त्यसपछि यो सेवा शुरु हुन्छ । साथै, युवाहरुका लागि खेलकुदको विकासमा लगानी गरिएको छ,’ उनले जानकारी दिए ।

स्थानीय निर्वाचन नजिकिँदै छ, फेरि चुनाव जित्ने उनलाई आत्मविश्वास छ । आफूलाई चुनावको प्रचार–प्रसार गर्न आवश्यक नै नभएको उनी बताउँछन् । ‘मलाई भोट देऊ भनेर भोट आउँदैन । भ्रष्टाचार नगरी जनताको लागि काम गरे भोट मागेर हिँड्नुपर्दैन,’ उनले भने, ‘भीड जम्मा गर्नेले होइन, काम गर्नेले निर्वाचन जित्छ । जनताले कसलाई मत दिने पहिले नै निर्क्यौल गरिसकेका हुन्छन् । कार्यकर्ताको भीड देखेर जीत सुनिश्चित रहने जमाना छैन । अबका युवा मतदाताले काम गर्ने प्रतिनिधिलाई जिताउँछन् ।’

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप