बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका अगाडि दुई विकल्प : फुटबाट पार्टी जोगाउन सक्लान् ?

दल दर्ता गरेर चुनावमा गए कारवाही गर्छौँ : हेमन्तप्रकाश ओली
शुक्रबार, २५ चैत २०७८, १७ : १३
शुक्रबार, २५ चैत २०७८

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्थानीय तह निर्वाचनमा भाग लिने विषयलाई लिएर संकटमा परेका छन् । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय विपरीत महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नै खोजेको अर्को पक्षले आरोप लगाएको छ ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको ईच्छा विपरीत कपिलवस्तु बैठकले चुनावमा भाग नलिने निर्णय गरेपछि पार्टीभित्रको दुई लाइन संघर्ष थप चर्किएको छ । दल दर्ता गरेर चुनावमा गए कारवाही गरिने चेतावनी दिँदै पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओलीले घुमाउरो पारामा विप्लवको राजीनामासमेत मागेका छन् ।

बहुमत पक्षका नेता ओलीले रातोपाटीसँग भने, ‘पार्टीको निर्णयको मसी सुक्न नपाउँदै निर्वाचनमा जानुभयो । उहाँ (विप्लव–प्रकाण्ड) हरु अल्पमतमा हुनुहुन्छ । हामी बहुमतमा छौँ । वैचारिक रुपमा उहाँले राजीनामा दिनुपर्ने हो । नैतिक रुपमा उहाँहरुलाई माफी दिएका थियौँ ।’

कपिलवस्तुको शिवगढीमा गत चैत ४ गतेदेखि १२ गतेसम्म बसेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले स्थानीय तह निर्वाचनमा भाग लिने प्रस्ताव गरेका थिए । तर, पार्टीका ६९ जना केन्द्रीय सदस्यमध्ये ४० केन्द्रीय सदस्य चुनावको विपक्षमा उभिएपछि दल दर्ता नगरी स्वतन्त्र ढंगले चुनावमा भाग लिने निर्णय भएको थियोे ।

तर, पार्टीको निर्णयविरुद्ध महासचिव र प्रवक्ता उभिएको र दल दर्ता गर्न निर्वाचन आयोगमा गएको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुर्दशन’ र धर्मेन्द्र बास्तोला पक्षले आपत्ति जनाएका छन् ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड पार्टीको निर्णयविरुद्ध उभिएर एमालेसँग चुनावी तालमेल गर्न गएमा उनीहरुमाथि कारवाही गरिने हेमन्त–धर्मेन्द्र समूहको तयारी छ ।

विप्लव सामु दुई विकल्प

कपिलवस्तु बैठकमा विप्लवले चुनावमा जाने प्रस्ताव गर्दा उनको निर्णय पहिलो पटक अल्पमतमा परेको थियो । पार्टीमा जहिल्यै बहुमतमा हुने विप्लवले प्रस्ताव गरेको एजेण्डा पहिलो पटक अल्पमतमा परेको थियो ।

विप्लवले अल्पमतमा परेपछि प्रस्ताव फिर्ता लिएर मध्यमार्गी बाटो रोजेका थिए । त्यसका लागि पार्टीले चुनावमा भाग नलिने र कुनै दलसँग तालमेल नगर्ने, स्वतन्त्र उम्मेदवारी दिएर एमसीसी विरोधीलाई सहयोग गर्ने निर्णय भएको थियो । तर, बैठक सकिए लगत्तै महासचिव र प्रवक्ताले निर्वाचन आयोगमा दल दर्ता गर्न खोजेपछि पार्टीमा थप विवाद बढेको हो ।

पार्टी संकटमा परेपछि विप्लव समक्ष दुई विकल्प देखिएका छन् । पार्टी निर्णय स्वीकार गरेर स्वतन्त्र उम्मेदवारी लिएर चुनावमा जाने पहिलो विकल्प हो । यस्तो भएमा पार्टी विभाजन रोकिने र आफ्नो शक्ति जोगिने छ । यदि दल दर्ता गरेर एमालेसँग चुनावी तालमेलमा गए पार्टी विभाजन हुनेछ । त्यस्तो हुँदा बढी क्षति विप्लवले खेप्नुपर्ने देखिन्छ ।

महासचिव विप्लवले एमालेसँग चुनावी तालमेल गरेमा उनी निकट अधिकांश नेता–कार्यकर्ताले साथ दिने सम्भावना कमै देखिन्छ । त्यस्तो अवस्थामा विप्लवले पार्टी जोगाउने वा दल दर्ता गरेर चुनावी तालमेलमा जाने, उनको निर्णयमा भर पर्नेछ ।

दल दर्ता गरेर चुनावमा गए कारवाही गर्छौँ : हेमन्तप्रकाश ओली

पार्टीको निर्णय विरुद्ध गएर पार्टी दर्ता गरे कारवाही गरिने सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओलीले चेतावनी दिए । ‘पार्टी निर्वाचन आयोगमा दर्ता नगर्ने र चुनावमा भाग नलिने निर्णय भएको छ । उहाँहरु (विप्लव) पार्टी दर्ता गर्नेतिर जान थाल्नुभयो’ आक्रोश व्यक्त गर्दै ओलीले रातोपाटीसँग भने, ‘कसैले पार्टीको निर्णय उल्लंघन गर्नु हुँदैन । यदि कोही पार्टी निर्णय विरुद्ध जान्छ भने कारवाही गर्छौँ ।’

​आफूहरु पार्टीमा बहुमत भएकाले कोही नेताहरु दल दर्ता गरेर गएमा कारवाही गरिने ओलीले बताए । उनले भने, ‘पार्टीको निर्णयको मसी सुक्न नपाउँदै निर्वाचनमा जानुभयो । उहाँ (विप्लव–प्रकाण्ड) हरु अल्पमतमा हुनुहुन्छ । हामी बहुमतमा छौँ । कारवाही कसले कसलाई गर्छ, हेर्न बाँकी छ । वैचारिक रुपमा उहाँले राजीनामा दिनुपर्ने हो । नैतिक रुपमा उहाँहरुलाई माफी दिएका थियौँ ।’

संयुक्त मोर्चा मात्रै दर्ता गर्न खोजेका हौँ : ओमप्रकाश​ पुन

तर, विप्लव–प्रकाण्डपक्षका केन्द्रीय सदस्य ओमप्रकाश पुनले भने पार्टी निर्वाचन आयोगमा दर्ता गरेर जाने नभएर संयुक्त मोर्चा मात्रै दर्ता गरेर जान खोजिएको रातोपाटीलाई बताए ।

पार्टी नै दर्ता गरेर जान खोजिएको आरोपको खण्डन गर्दै पुनले विचार मिल्नेहरूसँग संयुक्त मोर्चा दर्ता गरेर चुनावमा जान खोजिएको जिकिर गरे ।  ऋषिराम कट्टेल र सुशील बुढा नेतृत्वका दलहरूलाई जोडेर मोर्चा दर्ता गर्न खोजेको पुनले बताए ।

पार्टी दर्ता नगरी विभिन्न मोर्चा दर्ता गर्न लागेकाले यसलाई अन्यथा लिन नहुने पुनले जिकिर गरे । उनले भने, ‘पार्टीमा केही साथी (हेमन्तप्रकाश ओली धर्मेन्द्र बास्तोला) हरुले फरक मत राखिरहनुभएको छ । तर, पार्टी विभाजन गर्ने गरी होइन । पार्टीले लिने रणनीतिक र वैचारिक सवालमा फरक मत राख्नुभएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप