सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल र बंगलादेश बैंकको मर्जरमा ‘घुस’ माग्नेलाई निलम्बित गभर्नरको संरक्षण !

आइतबार, २७ चैत २०७८, २१ : ३२
आइतबार, २७ चैत २०७८

डेढ महिनायता ‘क’ वर्गका दुई ठूला बाणिज्य बैंकहरू नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच मर्जर प्रकृया अघि बढेको छ । एउटै व्यक्ति वा संस्था दुईवटा बैंकमा सञ्चालक भए मर्जरमा जानुपर्ने नीति राष्ट्र बैंकले बनाएको छ । यस्तो नीति बनेपछि नबिल र बंगलादेश बैंकले मर्जर प्रकृया अघि बढाएका हुन् । दुवै बैंकमा नेपालका अर्बपति विनोद चौधरीको लगानी छ । नबिल स्थापनादेखि चौधरी परिवारको लगानी छ भने बंगलादेश बैंकमा रहेको बंगलादेशी साझेदारीको सेयर बिनोद चौधरीले आफ्नो श्रीमती सारिकाको नाममा खरिद गरेका थिए ।

यसरी दुवै संस्थामा आफ्नो लगानी भएको बैंकलाई राष्ट्र बैंकको निर्देशनअनुसार मर्जर प्रकृया अघि बढाएका बेला राष्ट्र बैंकको संचालक समितिका एक सदस्यले आर्थिक चलखेल शुरु गरेको आरोप लागेको छ । जुन कुरा अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आयोजित कार्यक्रमबाटै खुलासा गरेका थिए । तत्कालीन केपी ओली सरकारका बेला एमालेबाट सञ्चालक समिति सदस्यमा सिफारिस भएका एक सञ्चालक समिति सदस्यले मोबाइलमा सन्देश पठाउँदै मर्जर प्रकृया छिटो अघि बढाइदिने र मर्जरपछिका सुविधामा पनि सहज बनाइदिने भन्दै पैसा मागेको अर्थ मन्त्रालय स्रोतका भनाइ छ । 

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको यस्तो हर्कतलाई नबिल बैंकका एक सञ्चालक समिति सदस्यले अनपेक्षित भन्दै गर्भनर महाप्रसाद अधिकारीलाई रिर्पोटिङ गरेका थिए । ‘घुस’ माग्ने सञ्चालक समिति सदस्यलाई कारबाही हुने अपेक्षामा नबिल बैंकका ती सञ्चालक समिति सदस्यले गभर्नरसँग सहयोग मागे पनि उनले यस बिषयमा कुनै प्रकृया अघि बढाएनन् । बैंक मर्जरपछि कर्पोरेट करमा छुट पाउने, एक वर्षपछि मात्रै ऋण पत्र जारी गर्नुपर्नेलगायतका सुविधा हुन्छ । यस्ता सुविधामा सहजीकरण गर्ने प्रस्ताव गर्दै राष्ट्र बैंकका ती सञ्चालकले नबिलका सञ्चालक समिति सदस्यसँग घुसको प्रस्ताव गरेका हुन् । 

निलम्बित गर्भनर अधिकारीबाट कुनै सुनुवाई नभएपछि नबिलका ती अधिकारीले अर्थ मन्त्रालयलाई गुनासो राखेका थिए । ती सदस्यले घुस मागेको प्रमाणसहित अर्थलाई गुनासो आएपछि अर्थ मन्त्रालयले गर्भनर अधिकारीलाई बोलाई सबुत प्रमाणका आधारमा  कारबाही गर्न र वित्तीय अनुशासन तथा अपारदर्शी आर्थिक कारोबारमा संलग्न नहुन निर्देशन दिएको थियो । तर, गर्भनर अधिकारीले अर्थ मन्त्रालयको निर्देशनसमेत अटेर गरी नबिलका सञ्चालक समिति सदस्यबाट उठाउन खोजिएको घुस रकमबारे मौन बसेका थिए । राष्ट्र बैंक सञ्चालक समिति सदस्यले पैसा माग्दै म्यासेज गरेपछि नबिल र बंगलादेश बैंक बीचको मर्जर प्रकृया अन्योलमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप