मिथिलामा भव्यताका साथ रामनवमी मनाइँदै (फोटोफिचर)
जनकपुर । सीताको जन्मभूमि नगरी जनकपुरधाममा रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
जनकपुरधाममा भगवान् रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्त्व छ । रामनवमी पर्वको अवसर पारेर जानकी मन्दिरमा भारतको गोवर्द्धन मठका निश्चालानन्द सरस्वती शंकराचार्यले प्रवचन दिने कार्यक्रम छ ।

रामनवमी पर्वका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन शंकराचार्य निश्चालानन्द सरस्वती महाराज शनिबार जनकपुरधाम आएका हुन् । आज दिउँसो उनले प्रवचन दिने कार्यक्रम रहेको जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।
त्यस्तै जनकपुरधामस्थित राम मन्दिरमा समेत रामनवमी पर्वको अवसरमा विशेष कार्यक्रम आयोजना हुने राम मन्दिरका महन्त राम गिरीले जानकारी दिए । राम मन्दिरमा हुने रामनवमी पूजाको सम्पूर्ण तयारी गुठी संस्थानले गर्दै आएको छ ।

आइतबार रामको जन्मोत्सवको अवसरमा विधिवत् पूजा अर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी र गीतनाद हुने राम मन्दिरका महन्त गिरीले बताए । रामनवमीको अवसरमा भारत र नेपालका सयौँ श्रद्धालु भक्तजनासहित साधु सन्त सहभागी हुने गर्छन् ।
विगत दुुई वर्षदेखि कोरोना महामारीका कारण रामनवमी पर्व प्रभावित हुँदै आएको थियो । तर यस वर्ष कोरोना सङ्क्रमण लगभग मत्थर भइसकेको र जनकपुर–जयनगर रुटमा नेपाल रेल्वे सञ्चालन भएका कारण पनि श्रद्धालु भक्तजनहरू ठुलो सङ्ख्यामा जानकी मन्दिर र राम मन्दिरमा आएका छन् ।

चैत शुक्ल पक्ष नवमी तिथिका दिन भगवान् रामको जन्म भएको मानिन्छ । अगस्त्यसंहिताका अनुसार चैत शुक्ल पक्षको नवमी तिथिका दिन पुनर्वसु नक्षत्र, कर्क लग्‍नमा जब सूर्य अन्य ५ ग्रहको शुभ दृष्टिका साथ मेष राशिमा रहेको समय भगवान् श्रीरामको जन्म माता कौशल्याको गर्भबाट भएको थियो ।
भारतस्थित चेन्नईको एक गैरसरकारी संस्था ‘भारत ज्ञान’ले वर्षौँको अनुसन्धानपछि रामको जन्म ५११४ ई.पू. १० जनवरीमा भएको उल्लेख गरेको छ ।
रामको विवाह मिथिला नरेश जनकको पुत्री सीतासँग भएको थियो । भगवान् राम विवाहका लागि विश्वामित्र ऋषिसँगै जनकपुरधाम आएका थिए । सीता अर्थात् जानकीसँग रामको पहिलो भेट गिरिजा स्थानमा भएको थियो भने स्वयंवर रंगभूमि मैदानमा र विवाह मणिमण्डपमा भएको थियो । सीतारामसँग सम्बन्धित ती स्थलहरुलाई श्रद्धालुहरुले तीर्थस्थलका रूपमा दर्शन गर्ने गर्दछन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण