नेता र काला व्यापारीले घरमा नोट थन्क्याएका कारण आर्थिक संकट आयो : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताएका हुन् ।
नेताहरुले कमिशन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु बताए ।
उनले भने– ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नेताहरुको घरमा । भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो । कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरूको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ ।’
उनले एकचोटी राप्रपालाई सहयोग गर्न आग्रह गरे । उनले भने, ‘राजेन्द्र लिङ्देन र राप्रपालाई सहयोग गर्नुस् त । यिनीहरूको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’
अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरूले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले काँग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दूधका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नुजस्तै भएको टिप्पणी गरे । उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पुर्याएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण