शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा सडकको हविगत उस्तै, धुलाम्मे सडकले स्थानीयलाई सास्ती

तिलोत्तमा नगरपालिका झिलिमिली, बुटवल अन्धकार
बिहीबार, ०१ वैशाख २०७९, १३ : १२
बिहीबार, ०१ वैशाख २०७९

‘अर्थमन्त्रीको बुटवल यात्रा : पाँच वर्षपछि आउँदा पनि सडकको हविगत उस्तै ।’ आज भन्दा ३ वर्ष अघि २०७५ असोज ८ गते रातोपाटीमा छापिएको समाचारको शीर्षक हो यो । उक्त समाचार छापिएकै दिन तत्कालीन अर्थमन्त्री युवराज खतिवडा बुटवल उद्योग वाणिज्य संघको ६५ औँ साधारण सभालाई सम्बोधन गर्न आइपुगेका थिए । उनले भनेका थिए, ‘म पाँच वर्ष अघि आउँदा पनि बुटवल–बेलिहिया सडकमा धुलो उडेको थियो, अहिले आउँदा पनि उस्तै देखेँ ।’

मन्त्रीले नै त्यस्तो देखेपछि सर्वसाधारणले मन्त्रीसँग सडकको हविगतबारे निवेदन गरिरहनुपरेन । बुटवल सडकको हविगत तीन वर्ष अघिकै अवस्थामा छ । त्यसो त मन्त्रीले २० वर्षअघि पाल्पा–तानसेन सडकको यात्रा गरेको भए अहिले पनि उस्तै होइन, त्यो भन्दा बेहाल देख्ने छन् ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबाको पहिरो र बेलाबेलामा खस्ने पहिरोले धेरैको ज्यान लिइसक्यो । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलका भित्री सडक हेर्ने हो भने अन्य पहाडी जिल्लाका सडकको अवस्थाभन्दा पनि बेहाल छ । गत वर्ष नै सम्पन्न गरी बुझाउनु पर्ने रिडीको तीनमुखे पुल चार वर्ष अघि उद्घाटन गर्दा पारेको खाल्डोमा केही डन्डी र सिमेन्ट भर्नुबाहेक केही काम हुन सकेको छैन । जिल्लामा यस्ता थुप्रै योजना अलपत्र छन् ।

यसो भन्छन् सरोकारवाला

चुनाव नजिकिएसँगै बुटवलका मेयर शिवराज सुवेदीले आफ्नो पार्टीले चुनावमा घोषणा गरेको मध्ये ९५ प्रतिशत काम सकेको र बाँकी काम अख्तियारी पाए सक्छु भन्ने बताउँछन् । तर बेलिहिया–बुटवल सडक खण्डले उनको अभिव्यक्तिलाई गिज्याइरहेको छ । 

मेयरमा सुवेदीसँग पराजित नेपाली काँग्रेसका खिलराज पाण्डे भन्छन्, ‘ चुनावी प्रतिस्पर्धा बेग्लै कुरा हो । जसले चुनाव जित्छ, उसले सबैसँग सहकार्य गरेर विकासको साझा अवधारण बनाएर अगाडि बढ्न सक्नुपर्छ । विडम्बना त्यो कुरा बुटवल उपमहानगरपालिकाले गर्न सकेन ।’ तीन वर्षसम्म दुई तिहाइको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कुर्चीमा समेत आफै बसेपछि अरूलाई दोष दिन नमिल्ने जिकिर पाण्डेको छ । 

नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य बाबुराम पन्थी भने अरू नगरको तुलनामा बुटवल उपमहानगरपालिकामा विकास निर्माण कम भएको स्वीकार्न तयार छैनन् । भन्छन्,‘बुटवल नवनिर्माणको चरणमा छ । सम्पन्न हुन साथ अरू नगरको भन्दा कैयौँ गुना विकास भएको देख्न पाइने छ ।’ उनले राजमार्गको दुरवस्थाको सवालमा भने संघीय सरकारको ध्यान पुग्न नसकेको अनि ठेकेदारको लापरबाहीले गर्दा कमजोरी भएको स्वीकारे । उता माओवादी केन्द्र बुटवल नगर कमिटी अध्यक्ष महेन्द्र भुसाल भन्छन्, ‘देशैभरका नगरपालिकामध्ये खासै केही काम नगरी बसेको बुटवल उपमहानगरपालिका एक हो ।’

‘बुटवलका भित्री सडक समेत धुलोले हिँड्न सक्ने अवस्था छैन । अहिले चुनावको मुखमा आएर विभिन्न सडकमा टेण्डर भई काम सुरु गरेको नाटक गर्दै कतै भत्काउन सुरु गरिएको छ,’ अध्यक्ष भुसाल भन्छन्, ‘कतै दुई चार ट्रिप गिट्टी, बालुवा थुपारेर तपाईंहरुको टोलमा सडक बन्दै छ है भनेर आँखामा छारो हाल्न खोजिँदै छ, जुन चुनाव केन्द्रित हो । यसबाट जनता सचेत हुनु पर्छ ।’

उता बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले चौराहादेखि गोलपार्क सम्मको राजमार्ग निर्माणका लागि आफूहरूले २०७२ सालदेखि पटक पटक नगरपालिकालाई दबाब दिँदा पनि सुनुवाइ हुन नसेको गुनासो गर्छन् । तर समग्रमा बुटवल उपमहानगरपालिको विकास भौतिक रूपले बढी नै भएको धारणा उनको छ ।  

राजमार्ग निर्माणको काम संघीय सरकारले गर्ने भए पनि अस्पताल लाईन, राजमार्ग चौराहा चोक, मिलन चोक, जैकुटी चोक, गोलपार्क जस्तो सडकको अवस्था उस्तै छ । उक्त संवेदनशील क्षेत्रमा समेत सडक बत्ती छैन । जब स्थानीय तिलोत्तमा नगरपालिका सडकबाट झिलिमिली बत्ती हेर्दै आउँछन्, अँध्यारो हुँदै गएपछि बुटवल आइयो भन्ने महसुस गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप