बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

'मोरङमा गठबन्धन हुने सम्भावना न्यून'

आइतबार, ०४ वैशाख २०७९, ०६ : ५८
आइतबार, ०४ वैशाख २०७९

स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा मोरङका चार पार्टीबीच सहमति हुने सम्भावना कमजोर बन्दै गएको छ । विराटनगरस्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रबार र शनिबार बसेको संयुक्त बैठकले ठोस निर्णय गर्न नसकेपछि गठबन्धनको सम्भावना कमजोर बनेको हो ।

कुन पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठिक हुन्छ भन्ने विषयमा सुझाव पेस गर्न गठित कार्यदलको बैठक बस्दै गर्दा बाहिर भने काँग्रेसका कार्यकर्ताले गठबन्धन विरुद्ध नाराबाजी गरेका थिए । नाराबाजीको क्रम शनिबार पनि जारी रहेको थियो । ‘हामीले बैठकमा भित्र राखेर बाहिर हाम्रा विरुद्ध किन नाराबाजी गर्न लगाएको भनेर प्रश्न गरेका छौँ,’ माओवादी प्रदेश १ का सचिव गणेश उप्रेती सुशीलले बताए, ‘बाहिर नाराबाजी गर्नेभित्र हामीलाई राख्ने काँग्रेसको दोहोरो चरित्र अन्त्य नभएसम्म छलफल गर्नुको औचित्य देखिँदैन ।’

बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले दाबी गरेको सङ्ख्या जोड्दा २७ पुग्छ । ‘आ–आफ्नो धरातल भन्दा धेरै पालिकामा दाबी आएको देखियो,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले भने, ‘सबैको जोड्दा मोरङमा १७ पालिका छ, माग सङ्ख्या चाहिँ २७ पुग्यो, अनि कसरी सहमति हुन्छ ? ।’

कार्यदलमा माओवादी केन्द्रका मोरङ संयोजक विजय विश्वास, काँग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहेका छन् ।

कार्यदलले दुई दिनभित्रमा जिल्लाका १७ वटै पालिकाको अवस्थाबारे रिपोर्ट तयार पार्ने र त्यस आधारमा पालिका विभाजनको सुझाव दिने कार्यादेश पाएको थियो । 

हामी एक्लै लड्छौँ : मण्डल

माओवादी केन्द्रीय सदस्य शिवकुमार मण्डलले काँग्रेसले दोहोरो चरित्र देखाएको भन्दै विरोध गरेका छन् । उनले भने, ‘गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि निर्णय गर्न नसक्ने, राष्ट्रिय राजनीतिक आवश्यकताको कुरा पनि नबुझ्ने, आफूलाई पनि गठबन्धन हो भन्ने विषयमा अनुभूति पनि नगर्ने हो भने हामी अर्को किसिमको गठबन्धन गर्छौँ वा एक्लै लड्छौँ ।’

मण्डलले गठबन्धन प्राथमिकताको विषय भए पनि दोस्रो विकल्प काँग्रेसबाहेकका गठबन्धन दलबीच सहमति गर्ने वा एक्लै लड्ने विकल्प खुल्ला रहेको बताए । उनले आफ्नो धारणा भनेको परिणाम जे आए पनि एक्ला एक्लै लडौँ भन्ने रहेको बताए । ‘मेरो धारणा भन्नुहुन्छ भने हामी एक्ला एक्ला एक्लै भिडौँ भन्ने हो, माओवादीले एक्लै लड्दा पनि मोरङमा सम्मानजनक अवस्थामा आउन सक्छ,’ मण्डलले भने, ‘गठबन्धनभित्रको निर्णयभन्दा बाहिर नजाने । गठबन्धन दलभन्दा बाहिर अर्को गठबन्धन नगर्ने र एक्ला एक्लै लड्ने मेरो इच्छा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप