शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा एक वर्षमा ४११ वटा बलात्कार घटना

आधा बढी पीडित १८ वर्षमुनिका
मङ्गलबार, ०६ वैशाख २०७९, १४ : ३१
मङ्गलबार, ०६ वैशाख २०७९

गत २०७८ साल वैशाख १ गते देखि चैत्र मसान्तसम्म एक वर्षको अवधिमा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयहरूमा कूल ४११ वटा बलात्कार घटनाका उजुरी  परेको तथ्याङ्क प्राप्त भएको छ  । प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक केदार रजौरेले उपलब्ध गराएको विवरण अनुसार त्यस अवधिमा बाँकेमा ६३ वटा बलात्कार घटनाका उजुरी परेका छन् ।

त्यस्तै बर्दियामा ५७ वटा,  दाङमा ८३ वटा  रोल्पामा १८ वटा,  प्युठानमा २० वटा, रुकुम पूर्वमा ४ वटा, कपिलवस्तुमा ३८ वटा, रुपन्देहीमा ६८ वटा, नवलपरासी पश्चिममा १९ वटा, पाल्पामा २१ वटा, गुल्मीमा १३ वटा  र अर्घाखाँचीमा ७ वटा बलात्कार घटनाका उजुरी परेका हुन् । बलात्कृत हुनेहरूमा १६ वर्ष मुनिका १७३ जना बालिका रहेका छन् । १६ देखि १८ वर्ष मुनिका ९० जना रहेका छन् । १८  देखि २५ वर्षमुनिका ७२ जना रहेका छन् । २६ देखि ३५ वर्षका ३६ जना रहेका छन् । २६ देखि ४५ वर्षका २५ जना रहेका छन् । ४६ देखि ६० वर्ष मुनिका १३ जना र ६० वर्षदेखि माथिका २ जना महिला बलात्कृत भएका छन् । सबैभन्दा कम उमेरकी ३ वर्षीया बालिका बर्दियामा एक जना र पाल्पामा एक जना गरी दुई जना बालिका यौन हिंसाको शिकार भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

१० मङ्सिर २०७८ मा अर्घाखाँचीको वाणगंगा नगरपालिका–१० सोनापुरस्थित ६० वर्षीया यशोदा लोनियालाई देवर पर्ने  शम्भु लोनियाले हत्या गरेका थिए । भाउजूले पहिलो पटक शारीरिक सम्पर्क राख्न दिएको र दोस्रो पटक नमाने पछि गला दबाएर हत्या गरेका ४० वर्षीय लोनियाले ५ फागुनमा पक्राउ पछि स्वीकार गरे । 

१ असार २०७८ मा कपिलवस्तुको वाणगंगा नगरपालिका –८ वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापा हेटौँडा नगरपालिका–४ सूर्यचोकस्थित घरमा बीभत्स हत्या गरिएको अवस्थामा फेला परिन् । ६ महिना अघि मात्र उनका श्रीमानको मृत्यु भएको थियो । पति वियोगको पीडामा रहेकी बुहारी सुस्मितालाई उनका ससुरा प्रकाश थापाले  यौनहिंसाको कर्तुत बाहिर आउने डरले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आयो । ससुरा थापा, सासू तुल्सा थापा, नन्द सीता थापा र आमाजू दुर्गा थापा हत्या घटनामा संलग्न रहेको भन्दै प्रहरीले सार्वजनिक गरेको थियो । श्रीमान्को मृत्यु पश्चात् ४० लाखभन्दा बढी रकम सुस्मितालाई पाउन बाट वञ्चित गर्न समेत हत्या गरिएको कुरा प्रहरीले खुलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप