सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो क्यारिकेचर गर्ने मनोजलाई जब डब्लुएचओका महानिर्देशकले भेट्न बोलाए...

सोमबार, १२ वैशाख २०७९, १३ : ०२
सोमबार, १२ वैशाख २०७९

चर्चित हास्य कलाकार मनोज गजुरेलले कमेडीको क्रममा थुप्रै पात्रको भेष धारण गरेका छन् । तिनमा नेपालका नेताहरुमात्र होइन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनफिङदेखि अनेक पात्र रहेका छन् । ती मध्येका एक विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेहब्रेयससको पनि हो । 

कोरोना माहामारी सुरु भएपछि विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसलाई टिभीमा हेरेर उनले नक्कल गरेका थिए । हास्य कलाकार गजुरेलले डा. टेड्रोसको नक्कल गर्दा भेट हुन्छ भनेर कहिल्यै सोचेका थिएनन् । संयोगले उनको भेट भएको छ गत बिहीबार । 

डा. टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आएका थिए । सोही क्रममा गजुरेलले डा. टेड्रोससँग भेट गरेका हुन् । गजुरेलले आफ्नो पहलमा भन्दा पनि डा. टेड्रोसकै इच्छाले आफ्नो भेट भएको बताए ।

भेटपछि गजुरेलले सामाजिक सञ्जालमा लेखेको थिए, ‘जसलाई पात्र बनाएर हास्यव्यङ्ग्य गरिन्छ, उनैले भेट गर्न बोलाउनु एक कलाकारका लागि ठूलो सम्मान र खुसीको कुरो हो । अझ नेपालजस्तो सानो देशबाट पनि ठूल्ठूला विश्वका नेताहरूलाई विषय बनाएर पब्लिक मेसेज दिएकोमा बधाई पाउनु, त्यो पनि एक अन्तर्राष्ट्रिय व्यक्तित्वबाट ! यो झन् देशकै लागि खुसीको कुरा हो ।’

भेटको विषयबारे गजुरेल के भन्छन् ?

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोससँगको भेट रमाइलो भयो । एउटा कलाकारलाई आफूले हास्यव्यङ्ग्यको विषय बनाएको पात्रसँग भेट्दा स्वाभाविक रूपमा रमाइलो हुन्छ । उहाँसँग भेट्ने चाहना मेरो त थियो नै । उहाँले पनि चासो राखेर भेट्दा झनै खुसी लाग्यो ।

म पनि उहाँसँग भेट्ने पहल गरिरहेको थिएँ, सरकारी अधिकारीमार्फत । तर मलाई विश्व स्वास्थ्य संगठनबाटै फोन आयो । त्यहाँको एक स्टाफले हाम्रो डिजीले भेट्न चाहनु भएको छ भन्नुभयो, त्यही अनुसार समय मिलाएर भेटियो ।

मैले उहाँको क्यारिकेचर गरेको उहाँले पहिल्यै भिडियो हेर्नु भएको रहेछ । त्यसैले उहाँले नेपालमा आएर गरेको प्रायः मिटिङहरुमा बोल्दा ठट्टा गरेर नेपालमा मेरो कपि गर्ने एउटा कलाकार हुनुहुन्छ । म नेपाल भ्रमणमा आउँदा उहाँलाई भेट्न चाहन्छु भन्ने गर्नुहुँदो रहेछ । संजोगले उहाँसँग यसपालि पाटन दरबारमा भेट भयो । रमाइलो कुराकानी भयो ।

डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी, सी चिनफिङदेखि विश्वका चर्चित नेताहरूको साथमा उहाँसमेत भएको क्यारिकेचर भेषको एउटा फोटो कलेक्सन फे्रम मैले उहाँलाई दिएको थिएँ । त्यो क्रममा ‘यो हेर्नु भएको थियो ?’ भनेर मैले फोटो देखाएर सोधेँ । उहाँले ‘मलाई उडाएको, मजाक बनाएको हेरेको थिएँ,’ भन्नुभयो । 

मैले पनि ठट्टामा भने ‘मजाक तपाईंलाई प्रोमोट गर्न गरेको हो’ । उहाँ खुसी हुनुभयो । फोटो फे्रममा सबै नेताहरुलाई लक्षित गरेर एउटा सम्वाद लेखेको थिएँ, ‘डु मोर एण्ड मोर भाइरस टेस्ट एण्ड भ्याक्सिन, नो मोर न्यू क्लियर टेष्ट एण्ड फाइटिङ’ । यो सम्वाद उहाँले एकदमै मनपराउनु भयो । ताली बजाएर हाँस्नु भयो । त्यसपछि केही ठट्टा समेत भए । उहाँको उतैबाट आएको स्टाफले डब्ल्युएफओ भनेको के ? भनेर सोध्नु भयो । मैले मेरो कमेडी धेरै पटक हेर्नुस्, बुझ्नुहुन्छ भनेर जवाफ दिएँ ।

उहाँले कोरोनाको समयमा म मार्फत सबैलाई मोटिभेट गरेर खुसी बनाउनुभयो, खुसी लाग्यो भन्नुभयो । उहाँले नेपाल जस्तो देशमा पनि एउटा कलाकारले धेरै नेताहरूको क्यारिकेचर गरेको, आफूलाई पनि विषय बनाएको एकदमै अकल्पनीय हो भन्नुभयो ।

भोलिका दिनमा तपाईंमार्फत म र मेरो संस्थाले यस्ता मोटिभेसन गर्ने खालका म्यासेजहरूबारे सँगै काम गर्न पनि सक्छौँ भन्नुभयो । 

मैले कला क्षेत्रमार्फत राष्ट्र चिनाएँ । यस अगाडि पनि डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्दा अमेरिकी मिडियाले विश्वका १८ जना कमेडियनको रूपमा चर्चा गरेको थियो । मोदीको नाकाबन्दीको बेला सारा भारतीय मिडियाले पशुपतिमा क्षमा पूजा गरेको भनेर समाचार बनाएका थिए । 

कला क्षेत्रबाट देशलाई सम्मानित र लोकप्रिय बनाउने अनि विश्वमा एउटा सन्देश फैलाउने भाग्य मैले पनि प्राप्त गरे । यो देशमा जन्मिन पाएकोमा मलाई खुसी लाग्छ ।

चुनावको बेला कलाकारले राजनीति गर्ने, चुनावमा उठ्ने भन्छन् । मेरो बिचारमा हरेक योग्यले आफ्नो विधामा राम्रो गर्ने हो । यसैलाई अन्तर्राष्ट्रियकरण गर्ने हो, लोकप्रिय बनाउने हो । सबै सेलिब्रेटी राजनीतिमा गएर नेता हुन थाले भने राजनीति अझै छरपस्ट हुन्छ । मेरो धारणा आफ्नो फिल्डलाई सुन्दर बनाएर लाग्नुपर्छ भन्ने हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप