शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘के हरेक महिलाले आफ्नो शरीरमा सिसी क्यामेरा जडान गरेर हिँड्ने ?’

यौन दुराचार आरोपीलाई उम्मेदवार बनाउनु नै गलतः महिला अधिकारकर्मी
शुक्रबार, १६ वैशाख २०७९, १९ : ३७
शुक्रबार, १६ वैशाख २०७९

काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेका केशव स्थापित विवादमा तानिइरहने व्यक्ति हुन् । चुनावको बेला फेरि उनले आफ्नै अभिव्यक्तिले सार्वजनिक रुपमा आलोचना खेप्नु परेको छ ।  बिहीबार काठमाडौंको नेशनल कलेजमा भएको अन्तरक्रियामा उनले दिएको अस्वाभाविक अभिव्यक्तिको फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । मीटुमा मुछिएका उनलाई पार्टी कार्यकर्ता र आफ्नाले बचाउ गर्ने प्रयास गरेपछि यसले झन तरंग ल्याएको छ । त्यसो त ‘महिला हिंसामा शुन्य सहनशीलता’ भन्ने अभियानमा रहेका महिला अधिकारकर्मी तथा स्थापित निकट महिला नेतृहरु उनको पक्षपोषणमा लागेको समेत देखिन्छ ।

एमाले निकट  महिलाहरुले स्थापितको संरक्षण गर्दै सामाजिक सञ्जालमा चुनावी फण्डा भन्दै आचारसंहिता पालना गर्न पीडितलाई चेतावनी दिइरहेका छन् । तर उनीहरुले बुझाउन खोजेको आचारसंहिता के रहेछ ? भनेर रातोपाटीले बुझ्ने प्रयास गर्दा धेरैले आफू यो विषयमा बोलेर विवादमा आउन नचाहेको अभिव्यक्ति दिए ।

यसै विषयमा पीडित रश्मिला प्रजापति र समाजशास्त्री निर्मला ढकालको विचार यहाँ समेटिएको छ । साथै, आफू उपर लागेको आरोपबारे केशव स्थापितले १२ बुँदे प्रष्टीकरण सामाजिक सञ्जाल फेसबुकमा पस्केका छन्, यो पनि यहाँ समेटिएको छ । 

स्थापितलाई उम्मेदवार किन  बनाइयो ?: रश्मिला प्रजापति

चुनावको बेला मीटु कुरा उठाउनु भन्दा पनि एमालेले यौन दुराचारको आरोप लागेको व्यक्तिलाई किन उम्मेदवार बनायो ? प्रश्न यो हो । यौन दुराचारीलाई राजनीतिक दलहरुले पार्टीभित्रै कारवाही गरेको विश्वमा धेरै उदाहरण छन् । तर हाम्रो देशमा भने उल्टै पुरस्कृत गरिँदो रहेछ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा मीटु आयो भन्नुभएको छ । उहाँले तथ्य नबुझी कुन नैतिकताले स्थापितको पक्षपोषणमा बोल्नुभएको हो ? एमाले ठुलो पार्टी भएर पनि नैतिकता छोडेर हिँडेको देख्दा अचम्म लागेको छ ।

अर्को, उहाँसँगै उपमेयरकी उम्मेदवार भएकी सुनिता डंगोल, जसले शिक्षित युवाहरुको प्रतिनिधि हुँ भनिरहँदा आफै मीटु अभियान बुझ्नु भएको रहेनछ । अथवा पद बचाउनका लागि आरोपितलाई काखी च्याप्ने अभिव्यक्ति दिनु भएको हो ? यदि पुरुषले पद र शक्तिको दुरुपयोग गरेर कुनैपनि महिलालाई यौन दुव्यर्वहार गरेको छ भने दुर्व्यवहार विरुद्ध बोल्ने अभियान हो मीटु ।

सर्वसाधारणले स्थापित विकृत मान्छे रहेछ भनेर बुझेका छन् । एकजना किशोरीको प्रश्नको सामना गर्न नसकेर ‘यो बैनीले वेश्यावृत्ति गर्छ’ भनेर लेख्न लगाइदिऊँ भनेर खुलेआम बोल्छन् । सार्वजनिक ठाउँमा धम्की दिनेले उसको अफिसमा कस्तो व्यवहार गर्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । पार्टीका महिला लगायत सञ्चारिकाकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि दुराचारीको बचाउ गर्नुभएको छ । यो जति लज्जाशरणम्को अर्को कुरा के हुन्छ होला ? महिला भएर यौन दुराचारीको आरोप लागेको व्यक्तिको संरक्षणमा लागेर के सन्देश दिन खोजिएको हो ?

मीटु को सन्दर्भमा सन् २०१७ मा नै मैले आफ्नो कुरा उठाएकी छु । सुरुको दिनदेखि मेरो एउटै कुरा छ । उहाँलाई फसाउन कसैले मलाई प्रयोग गरेको भए मेरा भनाइहरु बाझिन्थे । बरु स्थापितले फरक फरक कुरा बोल्नुभएको छ । घरी पागल भनेर मानसिक औषधी निःशुल्क पाइन्छ भन्नुभएको छ । उहाँ मेयर छँदा महानगरपालिकाबाट मलाई कहिले भ्रष्टाचार गरेर निकालेको भन्ने, कहिले काम नगरेर निकालेको भनेको छ । सत्य कुरा सधैं एउटै हुन्छ । मैले र उज्जलाले स्थापित नाम कोड गरेर लेख्यौ । तर अरुले कोड नगरी हिंसा दुव्र्यहार भएको कुरा लेखेका थिए । हामीले बोलेका बेला उहाँ बागमती प्रदेशको मन्त्री हुनुहुन्थ्यो । त्यतिबेला पनि यस्तो मान्छेलाई मन्त्री बनाउने ? भनेर हामीले प्रश्न गरेको हो । उहाँलाई सिध्याउने अभियान हाम्रो होइन । सचेतनाको लागि आवाज उठाएको हो ।

हाम्रो समाजमा मलाई हिंसा भयो भनेर बोल्न गाह्रो छ । बोलिहाले पनि पीडितमाथि नै जाइ लाग्छन् । आरोपितले हो निर्दोषको प्रमाण दिने । मैले कमेन्ट हेरेर बस्ने हो भने फस्ट्रेड हुन्छ । एमालेका कार्यकर्ता र स्थापितका मानिसहरुबाट जे मन लाग्यो, त्यही सामाजिक सञ्जालमा लेखिरहनु भएको छ । यति तुच्छ शब्द र तथानाम गाली गरिएको छ । तर म कत्ति पनि आत्तिएकी छैन । तिनीहरुको असंवेदनशीलता देखेर छक्क परेकी छु । उनीहरुको घरका दिदीबहिनीको अवस्था कस्तो होला ? के महिलाले बोल्नै नपाउने यो देशमा ?

संरक्षण गर्ने परिपाटीले आरोपीको मनोबल बढाउँछः निर्मला ढकाल, समाजशास्त्री

मीटु अभियान आउँदा महिला अधिकारकर्मी र सञ्चारकर्मीहरु कसैले गरेको हिंसाको बारेमा खुलेर कुरा गर्नुपर्छ भनेर सक्रिय भएर लाग्नुभएको थियो । तर अहिले आफ्नो पार्टी वा समूह बनेपछि यौन हिंसाजस्तो जघन्य आरोपितलाई संरक्षण गरेको देखिँदैछ । केशव स्थापित कुन पार्टीको हो भन्ने जान्न जरुरी छैन र पार्टीमाथि धावा बोल्न पनि आवश्यक छैन । आरोपित व्यक्ति हो, पार्टी होइन । यस्तो आरोपितलाई पार्टीले किन उठाइयो भन्ने प्रश्न हो । र, यो स्थानीय चुनावको मुखमा लगाइएको आरोप मात्रै होइन । आरोपितलाई पार्टीले संरक्षण किन गर्यो भनेर प्रश्न गर्न त पाइन्छ, कुरा त्यही हो । यौन दुराचार आरोपितलाई उम्मेदवार बनाउनु नै पार्टीले महिला हिंसाका घटनालाई गम्भीर रुपमा नलिएको देखिन्छ ।

आम मानिसमा मीटु को बुझाईमा कमी छ । मीटु भनेको त कुनै कालखण्डमा बितेको समयमा भएको हिंसाको बारेमा बोल्नु हो । यसको अभियान कानुनी दायरामा ल्याउने होइन । आरोपितलाई नैतिक दबाब दिने हो । जसको कारण आरोपितले गल्ती महसुस गरोस् र भोलिका दिनमा त्यस्ता घटनामा सरिक नहोस् भन्ने उद्देश्य हो । सकेसम्म भोलिका दिनमा त्यस्तो घटना नदोहर्याउने प्रतिबद्वता गर्दै माफी मागेर घटनालाई किनारा लगाउने प्रक्रिया हो ।

प्रमाण छैन भन्दैमा आरोपित उपर नैतिक र कानुनी दबाब नपरेपछि अपराधिक गतिविधि बढ्छ । अभियुक्तलाई नै मनोबल दिने खालका यस्ता संरक्षणले कस्तो समाजको निर्माण गर्ला ? तपाईं आफै कल्पना गर्नुस् । हिंसा भन्ने कुरा महसुस गर्ने कुरा हो । हिंसाको सबै घटनामा सबै प्रमाण जुटाउन सकिदैन । बलात्कारको केसमा समेत कतिपय अवस्थामा पीडितको भनाइलाई नै प्रमाणको रुपमा मानिन्छ । यौन दुर्व्यवहारको प्रमाण कसरी जुटाउने ? के हरेक महिलाले आफ्नो शरीरमा सिसी क्यामेरा जडान गरेर हिँड्ने ? वा के गर्ने ? यौन हिंसा सधैं शारीरिक हुन्छ भन्ने पनि छैन, कतिले बोली शब्दले पनि हिंसा गरिरहेका हुन्छन् । त्यो सिसी क्यामेराले पनि रेकर्ड गर्दैन । त्यसैले पीडितको भनाइ नै प्रमाणको हो भनेर मानिएको छ ।

आफ्नो पार्टीको मान्छे भएको भरमा संरक्षणमा जुट्नेहरु सबै अपराधिक मानसिकता बोकेर हिँडेका हुन् । यसले समाजमा महिलाप्रति गरिने व्यवहार र हेर्ने दृष्टिकोण कस्तो भन्ने छर्लङ्ग देखिएको छ । यसले अपराधी वा आरोपितको मनोबललाई बढाउँछ । यौन दुव्र्यहार गर्नु ठुलो कुरा रहेनछ भन्ने सन्देश जान्छ । जसले गर्दा भोलिका दिनमा महिला, छोरीचेलीमाथि जे गर्दा पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ । जुन एउटा आदर्श समाजको लागि घातक सिद्ध हुन्छ ।

चुनावी फण्डा नबनाऔँः निर्मला शर्मा, सञ्चारिका पूर्वअध्यक्ष

सञ्चारिका समूहकी पूर्वअध्यक्ष समेत रहेकी निर्मला शर्माले भने स्थापितको समर्थन गर्दै आफ्नो धारणा राखेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–​ यी सबै चुनावी फण्डा मात्र हुन ! यसका लागि कानुनी उपचारमा जानु बेस । कानूनी उपचारमा गएको भए यति बेलासम्म फैसला पनि भइसक्थ्यो । दोषीले कानुनी रुपमा सजाय पनि भोगिसकेका हुन्थे । तर अझ पनि ढिला भएको छैन । कानुनी प्रक्रियामा जाउँ । हामी साथमा नै छौं तर यसरी चुनावी एजेण्डा नबनाऔँ ।

चुनावमा अनेक फण्डा निकालेर एक उमेदवारले अर्को उमेदवार माथि आरोप प्रत्यारोप गर्नु पनि आचारसंहिता विपरीत नै हुन्छ । यसमा निर्वाचन आयोगको ध्यान जाओस् । यस विषयमा थप कुरा गर्न रातोपाटीले सम्पर्क गर्दा भने शर्मा थप बोल्न चाहिनन् । उनले व्यस्त रहेको देखाउँदै कुराकानी गर्न टारिन् । 

कपोलकल्पित चरित्र हत्या गर्ने पराजित मानसिकता : केशव स्थापित

यो प्रकरणमा उम्मेदवार स्थापितले पनि आफ्नो धारणा बाहिर ल्याएका छन् । उनले भनेका छन्–

विहीबार नेशनल कलेजमा भएको घटना केही अमुक दल निकट व्यक्तिद्वारा प्रायोजित रुपमा गरिएको निकृष्ट कार्य हो । यो किन चुनावको बेलामा मात्रै उठ्छ । एउटा नेता आरोपको बारेमा अदालत जान्छ कि आफूलाई पीडित भनिएको महिला अदालत जान्छिन् । नेतासँग थुप्रै राजनीतिक आरोप हुन्छन् । प्रत्येक आरोपको न्यायिक निरुपण गर्न नेताले भ्याउँदैन । मेरो कार्यकालमा नगरपालिकाका सबै युनियन र कर्मचारीहरुको आन्दोलनको बाबजुद निकालिएको महिलाले मप्रति पूर्वाग्रह राख्नु स्वाभाविक हो । यो बारेमा महानगरपालिकाले निर्णय नै गरिसकेको छ कि ती महिला दोषी हुन् भनेर ।

महिला सम्मानित हुन् तर एउटा राजनैतिक व्यक्तिमाथि अप्रमाणित आरोप त्यहीमाथि निर्वाचनको बेला लगाउनाले पनि नियत प्रष्ट हुन्छ । अप्रमाणित विषयहरुलाई मिडियामा स्टन्टबाजी गर्दा व्यक्ति र स्वयम्  मिडियाको मर्यादामा नै आँच आउँछ । राजनीतिमा राजनैतिक बहस र प्रतिवाद गर्ने हो । यो नितान्त गैरराजनीतिक र चरित्र तथा व्यक्तित्व हत्या गर्नु शोभनीय हुँदैन ।

केशवको भिजन र इनोभेसनमा प्रतिस्पर्धा गर । नेशनल कलेजको त्यो बहसमा असम्बन्धित ती महिलाको बारेमा कलेजले स्पष्टिकरण दिई नै सकेको छ र दुःख व्यक्त गरिसकेको छ । त्यसैले त्यो एउटा परिचालित र स्वचालित घटना हो । कुनै प्रमाण र कसुर नै नभएको घटना बारम्बार उचाल्नु कसैको व्यक्तित्वबाट डराएर गरिएको स्टन्टबाजी र पराजित मानसिकताको उपज हो ।

म जनताबाट बारम्बारको परीक्षामा उत्तीर्ण निर्वाचित प्रतिनिधि भएकोले एउटा खुला किताब हो । काठमाडौंको लिगेसी बोकेको, विकास र सर्वपक्षीय आर्थिक समृद्धिको स्पष्ट सपना बोकेको एउटा अभियन्ता हो । तसर्थ आदरणीय काठमाडौ महानगरवासीहरु यस्ता कपोलकल्पित चरित्र हत्या गर्ने पराजित मानसिकताको पछि नलागी तपाईंहरुको सुख दुःखको साथी प्रतिनिधि म केशव स्थापितलाई साथ र सहयोगको निरन्तर अपेक्षा गर्दछु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप