मुस्लिम समुदायले मनाए इदुल फित्र
अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् । दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ ।
यसपर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । घरभन्दा टाढा–टाढा भई फर्कन नभ्याउनेले पनि मान्यजनबाट आशीर्वाद लिन्छन् ।
खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यसवर्ष उक्त दिन आइतबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।
अरबी पात्रो अनुसार कुनै पनि महिना ३१ दिनको नहुँने भएकाले सोमबार बेलुकी अर्थात् ३०औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यसैकारण आज इद उल फित्र पर्व मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए।
यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले बताए ।
यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको नाममा पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा उल्लेख छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।
यसवर्ष (गत चैत २० गतेदेखि) मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) सुरु गरिएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत बसेर साँझ सूर्यास्तपछि नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
-
योगाभ्याससहित मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
-
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण