बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जङ्गल मासेर निजगढमा विमानस्थल नबनाउन चेतावनी

शनिबार, २४ वैशाख २०७९, १६ : ५१
शनिबार, २४ वैशाख २०७९

नेपाल पर्यावरण संरक्षण तथा संवर्द्धन सङ्घले विकल्पहरू हुँदाहुँदै बाराको निजगढमा रुखहरू मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै आपत्ति जनाएको छ । सङ्घले जङ्गल मासेर विमानस्थल बनाउन नपाइने आफ्नो अडान अघि सारेको छ । पानीको मुहान सुक्ने, हात्तीको वासस्थान र अरू प्रकृति विनाश गर्न नहुने पनि सङ्घको धारणा छ । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सङ्घको तर्फबाट अध्यक्ष सुदर्शन प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवाई मैदानजस्तो दूरगामी महत्त्व राख्ने स्थलको छनौट गर्ने माथि निजगढको जङ्गल, खोटपूर्ण र शङ्कास्पद रह्यो किनकि चितवनको शुक्रनगर–नयाँ गाउँ सेरोफेरोको हजारौँ हेक्टरमा एउटा सालको रुख पनि छैन तर निजगढमा ७००३ हेक्टर वन क्षेत्रमा सालका रुख वृक्ष, लाथ्रा, पोल, बल्लाबल्ली जम्मा ८ करोड ६८ लाख १५ हजार ३३५ वटा छन् । जसको बजार मूल्य ६०० अर्ब (६ खर्ब) भन्दा माथि हुन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा के अन्तर छ ? जहाँ बाघ, गैँडा, जङ्गली हात्ती, चितुवा, हरिण, मृगलगायत ३७ स्तनधारी प्रजाति, ४९० पंक्षीहरु, सरीसृप र भ्यागुता १५ जाति, उभयचर ३ प्रजाति र माछा १८ प्रजातिका लगायत अरू सयौँ प्रकारका प्रकृतिका सन्तानहरू छन् ।’

उनले निजगढको ८ हजार हेक्टर जङ्गल फाँडेर विमानस्थल बनाउँदा त्यहाँको जमुनी, अडुवा, तिथरी, काँटघाट नदीहरू, थलनी, बडकी पैनी र जोकाहा खोलाहरूको मुहान भएकोले पानीका स्रोतहरू पूर्ण रूपले सुक्ने बताए । उनले भने,‘यसले बाराको ५ गाउँपालिका (देवताल, सुवर्ण, करैयामाई, आदर्श केटवाल र बारागढी) र चार नगरपालिका (कोल्वी, पचरौता, महागढीमाई, सिम्रौनगढ र कलैया उपमहानगरपालिकाका झण्डै ५ लाख ५० हजार जनताको खानेपानी र सिँचाइमा गम्भीर दुष्प्रभाव पार्नेछ । साथै, रौतहट जिल्लाका लाखौं जनतालाई पनि गम्भीर असर पर्नेछ ।’ 

प्रधानले काठ तस्करहरूका चङ्गुलमा परेर राज्यको नेतृत्व गर्नेहरूले मनोमानी गरेर विमान कुनै गम्भीर अध्ययन–अनुसन्धान निजगढको जङ्गल फाँड्न निर्णय गर्ने, आदेश दिनेजस्तो आत्मघाती कदम चालिरहेको आरोप लगाए । उनले भने,‘तिनलाई तुरुन्त रोक्नुपर्छ । र, वनजंगल पनि बच्ने र हवाई मैदान पनि बन्ने कदम चाल्नु पर्छ ।’ उनले राज्यले आफूहरूले अघि सारेका मागप्रति गम्भीरता नदेखाए र जबरजस्ती रूपमा जङ्गल मासेर विमानस्थल बनाउन खोजे त्यसको विरुद्धमा सशक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए । 

कार्यक्रममा पूर्व प्रमुख संरक्षण अधिकृत तथा पर्यावरणविद् बाबुराम यादवले निजगढ विमानस्थलको विकल्प रहेको सुनाए । यादवले भने, ‘निजगढ हवाई मैदानको विकल्प सिमरा विमानस्थललाई विस्तार गरेर बनाउन सकिन्छ, जुन १२ सय हेक्टरमा रहन्छ । अर्को विकल्प भनेको सर्लाहीको मूर्तियामा ३४ सय हेक्टरमा निर्माण गर्न सकिन्छ ।’ यादवले सिमरा र सर्लाहीको मूर्तियामा विमानस्थल निर्माण गर्दा लागत पनि न्यून लाग्ने दाबी गरे । उनले भने,‘सिमरा र मूर्तियामा विमानस्थल बनाइयो भने लागत कम लाग्नुको साथै यसले जङ्गल पनि सखाप पार्दैन, कुनै पानीका मुहानहरू पनि सुक्दैनन् ।’

त्यस्तै, ३७ वर्षसम्म विमान चलाएका क्याप्टेन युवराज भट्टराईले विमानस्थल बनाउनु भनेको संवेदनशील विषय भएको उल्लेख गर्दै विमानस्थल बनाउनु पूर्व सबै कोणबाट हेर्नुपर्ने र विशेषगरि पर्यावरणीय अवस्थाको लेखाजोखा गर्नुपर्नेमा जोड दिए । उनले निजगढमा विमानस्थल बनाउने नाममा जङ्गल सखाप पार्ने काम गर्न नहुने पनि तर्क गरे । उनले निजगढमा विमानस्थल बनाउनुभन्दा पनि यसको विकल्प खोज्न सरकारलाई सुझाव दिए । 

कार्यक्रममा पर्यावरणविद् सुरेन्द्र ढकालले नेपालका हिमालहरू सङ्कटमा परेको र आगामी दिनमा पनि यसको अझै क्षति हुने उल्लेख गर्दै नेपाल पर्यावरणको हिसाबले दिनप्रतिदिन कमजोर अवस्थामा पुगेको चिन्ता व्यक्त गरे । यसबाट मुक्त गराउनको लागि पनि सबै सरोकारवालाहरूले वनजंगलको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप