महोत्तरीमा निर्वाचनको अन्तिम तयारी
स्थानीय निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा दलहरूको व्यस्तता र छटपटी झनै बढेको छ । मतदानको दिन तीन दिनमात्र बाँकी छँदा दलका नेता र उम्मेदवारले घरघरै मतदाता भेट्ने क्रम झनै तीव्र बनाएका छन् ।
मंगलबार मध्यरात खुल्ला प्रचारको समय सकिनुपूर्व सबै बस्तीका घरदैलो विभिन्न दलका नेता र उम्मेदवार मतदाता रिझाउन तल्लिन छन् । मतदानको दिन तीन दिनमात्र बाँकी रहेका बेला निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आज मध्यरातपछि सीमाक्षेत्र (नेपाल भारत सीमा) को आउजाउ पूरै रोकिने जनाएको छ । “हामी भारतीय अधिकारीसँग सोझो सम्पर्क र समन्वयमा छौँ, अब आज मध्यरातबाट सीमाक्षेत्रको आउजाउ पूरै रोकिनेछ” प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने,“सीमाक्षेत्रबाट हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ ।”
महोत्तरी भारतीय जिल्ला मधुवनी र सीतामढीसँग सीमा जोडिएको छ । जिल्लाका १५ स्थानीय तहमध्ये मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमा गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । कूल ३८ किलोमिटरको भारतीय सीमा क्षेत्रभित्र बस्तीपिच्छेका गौँडा र गोरेटो बाटोबाट हुने दोहोरो आउजाउ रोक्न स्थानीय प्रशासनलाई मुख्य चुनौती छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले भारतीय सुरक्षा अधिकारीसँग समन्वय भएको र यहाँ सबैजसो गौँडामा रेखदेख पुग्नेगरी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको व्यवस्था गरिएको जानकारी दिए । आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न भारतका विभिन्न ठाउँमा काम गरिरहेका श्रमिक धमाधम घर फर्किँदैछन् । जिल्लाको मटिहानी, भिठ्ठामोर र सम्सी नाकाबाट पछिल्ला पाँच दिनयता दिनहुँ भारतबाट घर आउनेको सङ्ख्या एक हजारको हाराहारीमा पुग्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्ण पँङ्गेनीले बताए । आज साँझसम्म घर आउनेहरूले नेपाल प्रवेश पाउने भएका छन् ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहका १३८ वडामा गरी २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । सबै मतदानस्थल र मतदान केन्द्रमा मतदान गराउन निर्वाचन आयोगको जनशक्ति आज पुगिसक्ने जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि यसपाली महोत्तरीमा १८ हजार ४०६ नयाँ मतदाता थपिएका छन् । यसअघिको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनयता यो सङ्ख्या थपिएपछि यसपाली मतदाता सङ्ख्या तीन लाख ३६ हजार ९५ पुगेको छ । यसअघिको निर्वाचनमा तीन लाख १७ हजार ६८९ मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण