बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ मन्त्रालयको बजेट बढ्दा ८ मन्त्रालयमा कैँची !

आइतबार, १५ जेठ २०७९, २२ : ०६
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालु खर्चतर्फ कुल बजेटको ४२ प्रतिशत अर्थात् ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगत खर्च तर्फ २१.२ प्रतिशत अर्थात् ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १२.८ प्रतिशत अर्थात् २ खर्ब ३० अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

यस्तै, प्रदेश र स्थानीय तर्फ वित्त हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको समेत अर्थमन्त्री शर्माले बताएका छन् । 

विशेषगरी कृषि उत्पादन, रोजगारी, ऊर्जा, भौतिक पूर्वाधार र औद्योगिक क्षेत्रमा बजेट केन्द्रित गरेको सरकारले आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्रको मार्ग कोरेको बताएको छ । यसैका लागि यस पटक सोही तत्त क्षेत्रमा बजेट बढी केन्द्रित गरेको सरकारको भनाइ छ । 

यसै सन्दर्भमा हामी अर्थमन्त्री शर्माले नै ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटसँग आगामी आर्थिक वर्षको बजेटलाई मन्त्रालयगत रूपमा वितरणको तुलना गरेर हेरेका छौँ ।

कुन मन्त्रालयले कति पाए बजेट ?

चालु आर्थिक वर्षको बजेटसँग आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तुलना गरेर हेर्दा सरकारले आगामी आर्थिक वर्षका लागि १४ मन्त्रालयको बजेट वृद्धि गरेको देखिन्छ । खास गरी कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको सरकारले आगामी आर्थिक वर्षका लागि कृषि, ऊर्जा, शिक्षा, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, रक्षा, गृह, सहरी विकास, सूचना तथा सञ्चार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट वृद्धि गरेको छ ।

यस्तै गरी प्रधानमन्त्रीको कार्यालयसँगै कानुन तथा न्याय मन्त्रालयको समेत सरकारले चालु आर्थिक वर्षको भन्दा बढी बजेट छुट्याएको छ ।

तर, यता १४ मन्त्रालयको बजेट बढ्दै गर्दा ८ वटा मन्त्रालयको भने बजेट घट्न पुगेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानेपानी मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट घटेको छ ।

सबैभन्दा बढी बजेट शिक्षामा 

सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा ठूलो बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छुट्याएको छ । आगामी वर्षका लागि सरकारले यस क्षेत्रमा कुल १ खर्ब ९६ अर्ब ३९ करोड ३१ लाख (झण्डै २ खर्ब) रुपैयाँ बराबरको बजेट छुट्याएको हो । जुन चालु आर्थिक वर्षको भन्दा १८ अर्ब १९ करोड १० लाख रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १ खर्ब ७८ अर्ब २० करोड २१ लाख रुपैयाँ बजेट छुट्याएको थियो । 

सबैभन्दा बढी बजेट वृद्धि गृहमा

सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी गृह मन्त्रालयको बजेट बढाएको छ । चालु आर्थिक वर्षका लागि कुल एक खर्ब ६५ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ बजेट पाएको मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक खर्ब ८५ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ पाएको हो । जुन चालु आर्थिक वर्षको भन्दा २० अर्ब १० करोड ३३ लाख रुपैयाँले बढी हो । 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि १५ अर्ब १८ करोड ५९ लाख रुपैयाँले बढी बजेट पाउँदै कुल १ खर्ब ७६ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बजेट बढी पाएको छ । चालु आर्थिक वर्षका लागि मन्त्रालयले कुल १ खर्ब ६१ अर्ब १४ करोड ९९ लाख रुपैयाँ छुट्याएको छ ।

चालु  आर्थिक वर्षसँग आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको तुलना (लाखमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप