शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटको सिलिङप्रति धनगढी उपमहानगरका वडाध्यक्ष रुष्ट, प्रदेश र संघ गुहार्दै

सोमबार, ०६ असार २०७९, ०९ : ५५
सोमबार, ०६ असार २०७९

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ लाई ७८ लाख एक हजार पाँच सय ५१ रुपैयाँको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गरि पठाउन भनियो । वडा १४ कार्यालयले विकास, पूर्वाधार, विपद व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकास लगायतका कार्यक्रममा ६७ लाख रुपैयाको हाराहारीमा योजना बनाउँदै उपमहानगरपालिकामा पठाएको छ । 

उपमहानगले पठाएको बजेट सिलिङले सो वडाका पूर्वाधारहरूको विकास गर्न नसकिने भएपछि वडा कार्यालयले प्रदेश सरकार र संघ सरकारबाट थप योजना माग गरेको छ । वडा १४ कार्यालयले संघ तथा प्रदेश सरकारबाट चार करोड २५ लाख रुपैयाको योजना माग गरेको छ ।

वडा कार्यालयले पठाएको पत्रमा हुलाकी सडकदेखि सुर्यनालासम्म पक्की नालासहित कालोपत्रे, ५३ टोलका ग्राभेल बाटो कालोपत्रे, वडा स्तरीय कान्जी हाउस निर्माण र हुलाकी सडकदेखि दक्षिण बुद्ध मन्दिर हुँदै सिद्धार्थ आधारभुत विद्यालय लिंकरोड जोड्ने सडक नालासहित कालोपत्रेका लागि अनुमानित एकरएक करोड गरि चार करोड र एचगाउँ देउथान निर्माणका लागि अनुमानित २५ लाख रकमको योजना माग गरेको जनाएको छ ।

‘उपमहानगरपालिकाले पठाएको बजेट सिलिङमा रहेर वडाबासीको माग अनुसार पूर्वाधार विकास गर्न सम्भव थिएन,’ वडा १४ का अध्यक्ष मानबहादुर बिष्टले भने– उपमहानगरपालिकाले पठाएको ७८ लाख रुपैयाको सिलिङमा न सडक ग्राभेल गर्न सकिन्छ, न त कालोपत्रे । यहाँको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायतमा सुधार गर्न पनि त्यो बजेट अपुग छ ।’

उनले उपमहानगरपालिकाले पठाएको बजेट सिलिङ न्यून र वडाका लागि न्यायोचित नभएको बताए । एक अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागेको उपमहानगरपालिकाले सबै वडामा मिलाएर १५ करोड रुपैयाँको बजेट मात्र विनियोजन गर्नु अनुपयूक्त रहेको उनले बताए । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले वडाको बजेटका सिलिङका आधारमा अहिलेसम्म योजना तथा कार्यक्रम बुझाएका छैनन् । उनले ६३ लाख ८२ हजार रुपैयाँभित्र रहेर योजना तथा कार्यक्रम निर्माण गरिसकेको बताए । उनले भने– हामीले अहिलेसम्म उपमहानगरपालिका कार्यालयलाई पठाएका छैनौँ । योजना तथा कार्यक्रम तयार भइसकेको छ । उपमहानगरपालिकाले दिएको बजेट सिलिङले वडाको विकास गर्न सम्भव छैन ।’ 

उनले थप योजनाका लागि संघ र प्रदेश सरकारमा सिफारिस गरिएको बताए । उनले भने– पाँच सय मिटर सडकलाई नालीसहित कालोपत्रे गर्न एक करोड रुपैया लागत लाग्छ । हामीले १० किलोमिटर सडक नालिसहितको कालोपत्रे गर्नुपर्ने अवस्था रहेको छ । उपमहानगरपालिकाको बजेटले त्यो समेट्न सक्दैन । त्यसैले संघ र प्रदेश सरकारमा योजना पठाएका छौं । कत्तिको सम्बोधन हुन्छ, त्यो भने भन्न सकिदैन ।’

वडा नम्बर १४ र वडा नम्बर ६ मात्र होइन, उपमहानगरपालिकाले १९ वटै वडामा १५ करोडको बजेटको सिलिङमा रहेर बजेट सिलिङ पठाएको थियो । उपमहानगरपालिकाको बजेट सिलिङले तीन सय मिटर सडक पनि नालीसहित कालोपत्रे नहुने भएपछि हरेक वडाले संघ र प्रदेश सरकारसंग वडा गौरवका योजनाका लागि बजेट माग गरेका छन् ।

एक अर्ब रुपैयाँभन्दा बढी रकम उपमहानगरपालिकामा राखेर वडामा १५ करोड रुपैयाको मात्र बजेट सिलिङ पठाएपछि अधिकांश वडाध्यक्ष रुष्ट छन् ।उपमहानगरपालिकाले वडा नम्बर ३, ४ र ७ बाहेक सबै वडामा एक करोडभन्दा कम रकमको बजेट सिलिङ पठाएको थियो ।

उपमहानगरपालिकाले वडा नम्बर ३ मा एक करोड ११ लाख ३९ हजार तीन सय ८२, वडा नम्बर ४ मा एक करोड पाँच लाख ५१ हजार दुई सय ३० र वडा नम्बर ७ मा एक करोड दुई लाख ६३ हजार छ सय ७३ रुपैयाको बजेट सिलिङ पठाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप