शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एलपीजी ग्यासको घाटा न्यूनीकरण गर्न घरायसी र व्यावसायिक प्रयोजनको छुट्टाछुट्टै मूल्य

ग्यासको गन्धसमेत परिवर्तन हुने
सोमबार, ०६ असार २०७९, २० : ३४
सोमबार, ०६ असार २०७९

सरकारले आगामी आर्थिक वर्षदेखि खाना पकाउने एलपीजी ग्यासको व्यापारिक संरचनामा व्यापक परिवर्तन गर्ने भएको छ । एलपीजी ग्यासमा बेहोर्दै आएको घाटा न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष (साउन १ गते) देखि ग्यासको संरचनामा व्यापक परिवर्तन गर्ने तयारीमा सरकार लागेको हो ।

बिक्री गरेबापत व्यावसायिक प्रयोजनतर्फबाट पर्ने घाटाको व्ययभार न्यूनीकरण गर्न ग्यासको व्यापारिक संरचना परिवर्तन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वाणिज्य सचिव गणेशप्रसाद पाण्डेले सम्भवतः आगामी आर्थिक वर्षदेखि नै एलपीजी ग्यासको व्यापारिक संरचना परिवर्तन गर्ने तयारी भइरहेको बताए ।

सरकारी नयाँ योजनाअनुसार एलपीजी ग्यासको बजार मूल्य दोहोरो कायम गर्ने छ । अर्थात आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासको उपभोक्ता र व्यावसायिक मूल्य फरक–फरक हुने छ । यसअघि, केही वर्षअघि ल्याइएको निलो र रातो सिलिन्डरको प्रयोजन पुनः ब्युँत्याउने गरी सरकाले काम गरिरहेको छ । 

यसैगरी, आगामी आर्थिक वर्षदेखि नै फरक–फरक साइजको एलपीजी ग्यासको सिलिन्डर बजारमा पठाइने छ । अहिले बजारमा उपलब्ध हुनै सम्पूर्ण ग्यास सिलिन्डर १४.२ किलोका हुन्छन् । जुन, आगामी वर्षदेखि ५ र १० किलोमा समेत उपलब्ध हुने वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार खाना पकाउने एलपीजी ग्यासको समग्र बजार मूल्य बढाउँदा उपभोक्ताको दैनिकीमा व्यापक प्रभाव पर्छ ।

‘लाखौं मानिसको दैनिकीसँग जोडिएकाले उपभोक्ता मूल्य ह्वातै बढाउन मिल्दैन,’ वाणिज्य सचिव पाण्डेले भने, ‘त्यसैले उपभोक्तालाई मार पर्ने गरेर ग्यासको मूल्य बढाउन सकिँदैन । तर, व्यावसायिक प्रयोजनका लागि खपत हुने ग्यासमा अनुदान पनि दिन सकिँदैन ।’ खासगरी, अहिले एलपीजी ग्यासमा सरकारले प्रतिसिलिन्डर ७५१ रुपैयाँ अनुदान दिँदै आइरहेको छ ।

हाल एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँ छ । यस्तै, यसको बिक्री मूल्य अहिले प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ । यसअनुसार सरकारले प्रतिसिलिन्डर ग्यासमा ७५१ रुपैयाँ घाटा (अनुदान दिँदै) खाँदै आइरहेको छ । र, यसरी दिइने अनुदान धरासायी र व्यावसायिक प्रयोजनमा खपत हुने ग्यास सिलिन्डरलाई नै लागू हुँदै आएको छ । आगामी वर्षदेखि भने व्यावसायिक प्रयोजनमा खपत हुने ग्यास लागत मूल्य अनुसार नै बिक्री गर्ने र घरायसी खपत हुने ग्यासमा मात्रै अनुदान दिने गरेर व्यापक परिवर्तन गर्न लागेको पाण्डेले बताए ।

एलपीजी ग्यासमा आगामी वर्षदेखि नै ग्यासको गन्ध समेत परिवर्तन गर्न लागिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । ‘खाना पकाउने ग्यासमा कुनै गन्ध हुँदैन,’ उनले भने, ‘अहिले एलपीजी ग्यासको सिलिन्डरबाट आउने गन्ध पछि थपिएको हो ।’ जुन, गन्धलाई आगामी वर्षदेखि परिवर्तन गर्न लागेको थानीको भनाइ छ । र, यसरी परिवर्तन गरिने गन्ध घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टै समेत हुन सक्छ ।

खासगरी, व्यावसायिक र घरायसी प्रयोजनका लागि बनाइएको ग्यास सिलिन्डरको दुरुपयोग नहोस भनेर यो व्यवस्था गर्न लागिएको निगम बताउँछ । ‘ व्यावसायिक प्रयोजनका लागि १४.२ किलोकै कायम राख्ने र घरायसी प्रयोजनका लागि ५ र १० किलोका सिलिन्डर बिक्रीवितरण गर्ने योजना छ,’ निगम भन्छ । यसअघि, व्यवसायीक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो सिलिन्डरको व्यवस्था गरिएको थियो । जुन, कार्यान्वयनमा आउन सकेन ।

यसअघिको गल्तीलाई सुधार गर्दै सरकारले फेरी एलपीजी ग्यासको बिक्री÷वितरणमा दोहोरो मूल्य प्रणाली लागू गर्न लागेको हो । यही सिलसिलामा व्यावसायिक प्रयोजनका लागि १९ किलोसम्मको सिलिन्डर निर्माणसम्मको अध्ययन भइरहेको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । ‘भारतमा ५ र १० किलोका सिलिन्डर पाइन्छन्,’ निगम प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘नेपालमा अहिलेसम्म साना सिलिन्डर प्रयोजनमा छैनन् । जुन, अब ल्याउने तयारी भइरहेको छ ।’

५ र १० किलोका सिलिन्डर प्रयोजनमा ल्याएपछि ती प्रकारका सिलिन्डर घरायसी प्रयोजनमा मात्रै खपत हुने बताइएको छ । यसैगरी, घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्यासमा छुट्टा–छुट्टै गन्ध राख्ने सम्मको तयारी भइरहेको प्रवक्ता उपाध्यायले बताए । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिननाथ मिश्रको नेतृत्वमा अध्ययन समिति नै गठन गरेको छ । मन्त्रालयले २ साता अघि मिश्रको नेतृत्वमा अध्ययन समिति गठन गरेको हो । उक्त समितिले गरेको अध्ययनका आधारमा थप निर्णय लिइने निगम बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप