स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ ।
समालोचक तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहुति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अगि बढ्न आफूहरु कटिबद्ध रहेको जनाएका छन् ।
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले जीवित अवस्थामा रहँदा साहित्य, कला, संस्कृति, गीत, संगीतलगायतका विभिन्न विधा सिर्जना र प्रस्तुतिमा क्रियाशील रहेका सहिद स्रष्टाको खोज गरी तयार पारिएको यस ग्रन्थको प्रकाशनले सहिद हुनुभएका स्रष्टाहरूप्रति सच्चा सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको जनाएका छन् ।
प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले सहिदहरुप्रति सम्मान होस् भनेर नै सहिद स्रष्टा परिचयकोश प्रकाशन गरेको बताए । पौडेलले नेपालको इतिहासमा स्वतन्त्रता, स्वाधीनता तथा उन्मुक्तिका खातिर आफूलाई बलिदान गर्ने स्रष्टाको संख्या झण्डै दुई सय बढी रहेको आँकलन गर्न सकिने बताए ।
पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको बताए । उनले सहिद स्रष्टा परिचयकोशको काम अलि चुनौतीपूर्ण भए पनि नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको आहुति दिने स्रष्टा सहिद प्रति यो कार्य महत्वपूर्ण रहेको सुनाए । अधिकारीले भने, ‘सामग्रीलाई सकेसम्म तथ्यपरक बनाउन प्रत्येक सहिद स्रष्टाको परिचयात्मक लेख लगत्तै सहयोगी सन्दर्भ सामग्री र व्यक्तित्वको नाम उल्लेख गरिएको छ ।'
यस पुस्तकमा क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, प्रजालाल राई, ऋषिराज देवकोटा ‘आजाद’ जस्ता प्रजातन्त्रका निम्ति जीवन अर्पण गर्ने राजनीतिज्ञदेखि क्रान्तिको फिलिङ्गो भीमदत्त पन्त, चुनु गुरुङ, कृष्णसेन इच्छुक, मस्तबहादुर विष्ट, शारदा श्रेष्ठ, तारा काफ्ले जस्ता सांस्कृतिक क्षेत्रमा विशेष योगदान र ऊर्जा दिने सहिदहरुको परिचय प्रस्तुत गरिएको छ । उनले पुस्तकमा मूलतः राज्य पक्षको दमनको, धरपकड र यातनाबाट जीवन गुमाउने स्रष्टाहरूको फोटो राख्ने चाहना हुँदाहुँदै पनि अधिकांशको प्रामाणिक फोटो नभेटिएका कारण समावेश गर्न नसकिएको जानकारी दिए ।
लेखक अधिकारीले पुस्तक प्रकाशन गर्ने क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको जनाउँदै कतिपय सहिदका परिवारसँग सम्पर्क हुन नसकेको बताए । उनका अनुसार नेपालको सांस्कृतिक इतिहासलाई हेर्ने हो भने झण्डै तीन सय जना स्रष्टाहरूले बलिदान गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण